भारत र पाकिस्तानको स्वतन्त्रता दिवस
भारत र पाकिस्तानको स्वतन्त्रता दिवसको कुरा गर्नु भन्दा पहिले भारतवर्षको इतिहासतिर सर्सर्ती जानु उचित हुन्छ।
विगत ३ हजार वर्षको इतिहासलाई पल्टाएर हेर्ने हो भने मात्र पनि भारतवर्षमा झण्डै आधा दर्जन भन्दा बढी पटक बाहिरबाट आएका विभिन्न साम्राज्यवादी शक्तिहरूले आक्रमण गरेर शासन गरेका उदाहरणहरू भेटिन्छन्।
इशापूर्वको छैठौँ शताब्दीमा पर्सियाको शासक साइरसले भारतवर्षको पश्चिमी क्षेत्र यानी सिन्धु नदी पारिसम्म हमला गरेर यो भूमिलाई आफ्नो अधिनमा लिएका थिए।
यसको करिव २ शताब्दीपछि ग्रीक साम्राज्यका अलेक्जेण्डरले तक्षशीला हुँदै भारतवर्षमा गरेको हमलाबाट पञ्जाबसम्मको क्षेत्र उनको अधिनमा पुगेको थियो।
फारसी र ग्रीक साम्राज्यको अधिनमा पुगेको पश्चिमी भारतवर्षमा पहिलो पटक बाहिरी संस्कृति, व्यापार र नश्लको पनि सम्मिश्रण हुन पुग्यो। आजका बलुच, सिन्धी, पठान र केही हदसम्म पञ्जावीहरूमा समेत ग्रीक र फारसी रगत परेकाले उनीहरू बाँकी भारतका मानिसभन्दा निकै फरक र उज्याला देखिन्छन्।
इशापूर्व ३२२ यानी अलेक्जेण्डरको मृत्यु भएको एक वर्ष पछि मौर्य वंशका सम्राट चन्द्रगुप्त मौर्यको नेतृत्वमा बनेको विशाल भारतमा फारस, गन्धारा, तक्षशीलादेखि पटना र बंगालसम्मको क्षेत्र समाहित भएको थियो भने उनकै नाति अशोकले आजको अधिकांश भारतवर्षलाई आफ्नो अधिनमा राख्न सफल भएका थिए।
मौर्य वंशको शासनकालमा भारतको व्यापार फारस, अरव, चीनलगायत मध्य एशिया र दक्षिणपूर्वी एशियासम्म फैलिएको थियो। यसरी विशाल राज्य बनाउने विचार आउनुको पछाडि बाह्य शक्तिले यो क्षेत्रमा फेरि फेरि हमला गर्न नसकुन् भन्ने ध्येय समेत लुकेको थियो। मौर्य शासकहरूले पनि ग्रीक र फारसी संस्कृति, प्रशासन र शासनशैलीको निकै हदसम्म अवलम्बन गरेका थिए।
पछि अशोकले हिंसा त्यागेर बौद्ध धर्म अँगाले पश्चात भने युद्ध र विस्तारको काम रोकिँदै गयो र मौर्य वंशको पतन पनि हुन थाल्यो। तत्पश्चात सुरुमा सुंगा वंशको शासनसँगै भारत पुनः ससाना राज्यहरूमा परिणत हुँदै गयो।
यसरी पुनः साना साना राज्यमा विभाजित भारतवर्षमा सन् ७११ मा इराकका शासक हज्जाजले आफ्ना ज्वाई मोहम्मद विन कासिमलाई पठाएर सिन्ध र मुल्तान (हाल पाकिस्तान)मा हमला गरेर राज्य फैलाएका थिए तर यो जित धेरै समयसम्म टिक्न भने सकेन।
भारतवर्षमा त्यतिबेला धेरै वटा हिन्दू र वौद्ध धर्म मान्ने राज्यहरू भएका र त्यस्ता सबै राज्यहरूमा मौर्यकालदेखि कै समृद्धि र सुशासन रहिरहेकोले तिनीहरू बलिया पनि थिए र यस्ता विदेशी आक्रमणबाट बच्न एकापसमा मिल्ने पनि गर्दथे।
सन् १००१ मा हालको इरान र अफगानिस्तानको सिमाना निरको गज्नी भन्ने मुसलमान राज्यबाट महमुद गज्नवी नामका शासकले करिव एक दर्जन चोटी पटक पटक हमला गरेर हिन्दू तथा वौद्ध धर्मावलम्वीहरूलाई जवरजस्ती इश्लाम धर्म मान्न बाध्य पनि बनाएका थिए।
सन् १०३० मा आफ्नो मृत्यु नहोउञ्जेलसम्म महमुदले धेरै चोटी भारतवर्षमा हमला गरेर मथुरा, ग्वालियर, गंगा-जमुना र काश्मिरसम्म पनि आक्रमण गरेर अकुत सम्पत्ति लुट्नुका साथै हजारौँ मानिसहरूलाई मार्ने र मुसलमान बनाउने कार्य गरका थिए।
सन् ११७० को तुर्क शासक मोहम्मद घुरको दिल्लीको आक्रमणलाई रोक्न राजस्थानका पराक्रमी राजा पृथ्वीराज चौहान जस्तालाई पनि निकै हम्मे परेको थियो र उनी घुरको दोश्रो आक्रमण जसलाई तराइनको लडाईँ भनेर स्मरण गरिन्छ, त्यो लडाईमा पराजित भएर मृत्युदण्डकै सजाय भोग्न बाध्य भएका थिए।
मोहम्मद घुरले अफगानिस्तान, पेशावर, मुल्तान, पञ्जाव, सिन्ध जस्ता क्षेत्रहरू आफ्नै राज्यमा गाभेका थिए भने भारतबाट फर्कने बेलामा आफ्ना विश्वासपात्र कुतुवुद्दिन ऐवकलाई दिल्ली र अज्मेरको शासनको जिम्मालगाएर भारतवर्षमा मुसलमान शासनको आधिकारिक सुरुवात गरेका थिए। तत्पश्चात ऐवकले भारतका कैयन महत्वपूर्ण रजौटाहरूलाई पराजित गरेर आफ्नो शासनलाई मजबुत बनाएका थिए।
सुरुमा अरव मुसलमानहरू र त्यसपछि तुर्क मुसलमानहरूको हातमा परेको भारतवर्ष मोहम्मद तुग्लकको शासनकालमा सन् १३२७ मा मध्य एशियाको समरकन्दका मुसलमान मंगोलहरूले खुँखार शासक तैमुर लङको नेतृत्वमा पटक पटक भारतवर्षमा आक्रमण गरेर तक्षशिला तथा अन्य बौद्ध र हिन्दू स्मारकहरूलाई ध्वस्त पार्नुका साथै आगजनी र विध्वंसात्मक कार्य गर्दै दिल्लीमा आएर ठूलो धनराशी लुटेर रक्तपात मच्चाएका थिए र तुग्लक वंशको पतन गराएका थिए। तेह्रौँ शताब्दीमा नै मंगोल साम्राज्यका चेङिगज खानले पनि भारतवर्षमा आक्रमण गरेर ठूलो लुटपाट र विध्वंश मच्चाएका थिए।
सोह्रौँ शताब्दीमा आजको उज्वेकिस्तानबाट आएर बाबरले मुगल साम्राज्यको थालनी गरेका हुन्। झण्डै उन्नाइसौँ शताब्दीसम्मै शासन गरेको मुगल वंशले भारतमा ठूलो छाप पार्न सफल भयो भने अकबर, शाहजहाँ, औरङ्गजेव जस्ता वादशाहहरूले भारतीय समाजमा ठूला बदलावहरू पनि ल्याए। विशाल दरवार, किल्ला र मकबरा तथा बगैँचाहरू यिनैको शासनकालमा बनेका थिए भने यो अवधिमा साहित्यको पनि धेरै विकास भएको थियो।
पछि इष्ट इन्डिया कम्पनीको भेषमा भारत पसेको बेलायतले बिस्तारै आफ्नो जालो पैmलाउँदैे विभिन्न राज्य र रजौटाहरूलाई आफ्नो काबुमा राख्दै दिल्लीमा समेत हमला गरेर मुगल साम्राज्यका अन्तिम वादशाह बहादुर शाह जफरलाई पनि पक्रेर वर्मामा कैद गरे तथा उनका नातेदार तथा भारदारहरूको जघन्य हत्या गरे।
बेलायतीहरूले त्यतिबेला निकै पशुत्व देखाएर मुगल किल्ला तथा संरचनाहरूका धेरै भाग ध्वस्त समेत पारिदिए भने पञ्जाव, राजस्थान तथा अन्य राज्यका शासकहरूलाई पनि क्रुरतापूर्वक मारे वा थुनामा राखे। दिल्लीको लालकिल्लाको त ८० प्रतिशत भाग ध्वस्त पारेका थिए।
हेर्दा हेर्दै विश्वमा नै बेलायती साम्राज्यको सबैभन्दा ठूलो रैती भारतवर्ष नै हुन गयो भने विभिन्न घुसपैठ र युद्धहरूमा गोर्खालीहरूलाई उपयोग गर्ने स्वार्थमा सन् १८१६मा नेपालसँग युद्धविरामका साथ सुगौली सन्धि गरेर आजको नेपालको भूभाग भन्दा थोरै सानो क्षेत्रलाई सार्वभौम राष्ट्र नै रहिरहन दियो बेलायतले।
यस अर्थमा पनि नेपाल जापान जस्तै सधैँ नै स्वाधीन राष्ट्र भएर रहिरहन सक्यो तर आफ्नो ठूलो भूभाग भने गुम्न पुग्यो। त्यतिबेलादेखि अहिलेसम्म नै नेपालका अधिकांश शासकहरू हुतिहारा, भ्रष्ट र मोजमज्जामा लिप्त हुन थालेकाले न त हाम्रो गुमेको भाग फिर्ता माग्न सके न नै आजको बाँकी नेपाललाई नै जोगाउन सक्ने क्षमता राख्दछन्।
जंगबहादुरले आफ्नो शासन जोगाउनको निम्ति नेपाललाई जोगाउने बाध्यता भएकोले गोर्खाली सैनिकको कमाण्ड आफैंले गरेर सिपाई गदर दबाउन गएकोले तथा बेला बेलामा नेपाली सेना मद्दतको लागि पठाएकोले बेलायतीहरू खुशी भएर बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता गरेका हुन्।
त्यतिबेला हाम्रो गुमेको भूमि फिर्ता गरिदेउ भनेर आग्रह गरेको भए पुरै भूमि फिर्ता हुने पनि सम्भावना थियो। तर त्यतिबेलाको नेपालले वाध्यतावश बेलायतको गुलामीमा नै समय खर्चेर भारतका राज्यहरू कब्जा गर्न उनीहरूलाई सघाएको भएर पनि होला आजका भारतीय नेताहरूको मानसपटलमा नेपाली माथि एक प्रकारको घृणा उब्जेको।
विश्वमा जहाँ कहीँ पनि बलिया राष्ट्रले यसरी साम्राज्य बढाउँदै जानुको मूल उद्देश्य भनेको आफ्नो मुलुकलाई झनै विशाल बनाउँदै जानु र अकुत धन कमाउनु पनि हुन्थ्यो। यसको निम्ति आफ्ना अधिनमा रहेका क्षेत्रहरूको शोषण गरेर त्यहाँ भएका हिरा, मोती, जुहारात तथा महँगा खनिज र कृषि तथा औद्योगिक उपज आफ्नो मुलुकमा ओसार्ने र आफ्ना उत्पादनको बजार ती क्षेत्रहरूलाई बनाउने पनि गर्थे साम्राज्यवादी मुलुकहरूले।
त्यस्तै आफ्नो अधिनका क्षेत्रबाट खेती, किसानीका निम्ति दासदासी बनाएर निरिह मानिसहरूलाई लग्ने र युद्धको निम्ति पनि वीरताको गाथा बोकेका जातीहरूलाई प्रलोभनमा पारेर लग्ने गर्दथे।
युरोपका प्रायजसा सबै मुलुकहरू र मध्य-एशिया तथा मध्य-पूर्वका पनि कैयन् मुसलमान राष्ट्रका सम्राटहरूले यस्ता कार्य गरेर खासगरी एशिया र अफ्रिकाका कैयन् राष्ट्र र जातजातीहरूलाई लामो लामो समयसम्म आफ्नो अधिनमा राख्न सफल भएका थिए।
आज साम्राज्यवादको नामोनिसान मेटिएर सबै राष्ट्रहरू स्वतन्त्र भइसक्दा पनि खासगरी अफ्रिकी राष्ट्रहरूमा आफ्नो प्रभाव जमाइराखेर त्यहाँको प्राकृतिक श्रोतको शोषण गर्न अझ पनि पूर्व साम्राज्यवादीहरू र अमेरिका, रुस तथा चीन जस्ता मुलुकहरू पनि ठूलो होडवाजीमा संलग्न छन्।
आजभन्दा ७६ वर्ष पहिले यानी सन् १९४७ को अगस्त १४ र १५मा पाकिस्तान र भारत ठूलो संघर्षको फलस्वरुप स्वतन्त्र राष्ट्र बन्न सफल भए। बेलायती साम्राज्यवादसँग लामो समयसम्म हिंसात्मक र शान्तिप्रिय दुवै खालका आन्दोलन गरेर लाखौँको बलिदान पश्चात स्वतन्त्रता पाएता पनि बेलायतको चतुर राजनीतिक दाउपेचले गर्दा यो भारतीय उपमहाद्विपमा चिरकालसम्म अशान्ति मच्चिईरहने धार्मिक र विखण्डनकारी वीउ रोपेर मात्र बेलायत फर्किएर गयो। उसैको कारणले सन् १८१६मा नेपालको एक तिहाई भूभाग पनि भारतमा मिसिन गएको थियो।
धर्मको आधारमा पुरै मुलुकको बाँडफाँट भएपछि काश्मिर, हैदरावाद र जुनागढ जस्ता क्षेत्रको लागि दुई देश बीच फेरी लुछाचुँडी हुन थाल्यो। निकै विवाद भएपछि जुनागढ र हैदरावादलाई भारतले एकतर्फी रूपमा आफू पट्टी मिलायो भने काश्मिरको लागि सन् १९४८मा दुई देशबीच युद्ध नै छेडिएर यो भूभागमा दुवै मुलुकले आफूले कब्जा गर्न सक्ने जति हिस्सा कब्जा गरेर आजसम्म झगडामा नै रहेका छन्। काश्मिरको केही ठूलै हिस्सा चीनले पनि कब्जा गरेको छ। काश्मिरी जनता भने साँढेको जुधाई बाच्छाको मिचाई भने जस्तो भासमा परेका छन्।
संयुक्त राष्ट्र संघमा समेत विचाराधीन मुद्दाको रूपमा रहेको काश्मिर समस्याकै कारण भारत र पाकिस्तानले त्यसपछि पनि सन् १९६५ र १९७१ मा दुई वटा लडाईँ लडिरसकेका छन् भने त्यसपछि समेत बेला बखतमा युद्धकै नजिक पुग्ने गरि यी दुई मुलुकहरू बीच ठूला ठूला झडप भएका छन् र हाल बोल बाराबारको स्थितिमा छन्। यी दुई राष्ट्र बीचको कटुता कै कारण आज सार्क पनि निष्कृय हुन पुगेको छ।
एकापसको चरम झगडाले गर्दा यी दुबै मुलुकले जति प्रगति गरेका भएता पनि यिनको कमाईको ठूलो हिस्सा सैनिक बन्दोवस्ती र हातहतियारमा नै खर्च हुने गरेको छ।
यी दुवै राष्ट्र आफूलाई आवश्यक विभिन्न प्रकारका हातहतियार र अन्य युद्ध सामग्री उत्पादन गर्न सक्षम छन् तर पनि यिनको कुल ग्राहस्थ उत्पादनको ठूलो हिस्सा विकसित मुलुकहरूबाट सैनिक हातहतियार, युद्धपोत, युद्धक विमान र अत्याधुनिक सञ्चार उपकरण आदि खरिद गर्नमा र सेना तथा गुप्तचरीमा नै खर्च हुने गरेको छ। मिसाइल तथा रकेट उत्पादन गर्ने क्षमताका साथ दुवैले प्रसस्त आणविक हतियार र वम भण्डारण गरेर राखेका छन्।
आज पनि भारत र पाकिस्तानको एकापसको जानी दुश्मनीको फाइदा उठाएर विकसित राष्ट्रहरूले यी दुईलाई कहिले उचाल्ने त कहिले पछार्ने गरेर सैनिक उपकरण बिक्रीबाट अकुत सम्पत्ति कमाउने गरेका छन्।
केही दशक अघिसम्म पाकिस्तान अमेरिकाको ज्यादै नजिकको मित्र थियो भने हाल समिकरण बदलिएर भारत चाहिँ रुसभन्दा पनि अमेरिकाको नजिकको मित्र हुन पुगेको छ र पाकिस्तान चीनको।
यो समिकरण बेला बेलामा बदलिइरहन्छ भने दक्षिण एशियाका रत्न भन्न सुहाउने यी दुवै देशले जति नै प्रगति गरेका भएता पनि एकापसको झगडारूपी मूर्खताले गर्दा यिनलाई विश्वशक्तिहरूले ठूलो भूलभुलैयामा पारेका छन्।
सन् १९७१को युद्धमा पश्चिमी पाकिस्तानको हेयदृष्टि, अत्याचार, बंगाली भाषा र संस्कृतिलाई उपेक्षा गरेको जस्ता कारणले पूर्वी पाकिस्तानका जनता कुण्ठित भइरहेका भन्दै त्यहाँको अवामी लिग र अन्य पार्टीले लामो आन्दोलन गरिरहेको अवस्थाको फाइदा उठाएर पूर्वी पाकिस्तानलाई भारतले पाकिस्तानबाट टुक्राइ दिएपछि त्यहाँ एक नयाँ राष्ट्र वंगलादेशको स्थापना हुन गयो।
अति नै बाक्लो जनसंख्या भएको र दैवीप्रकोपले जर्जर भएको बंगलादेशले मुलुक बन्ने वित्तिकै कैयन् रक्तपातपूर्ण राजनैतिक उतारचढावहरू भोगेको तथा अन्तर्राष्ट्रिय रूपमा नै कुनै आशा नभएको मुलुकमा गनिए पनि हालका दिनमा उसले ठूलो मेहनत गरेर निकै प्रगति गरिसकेको छ।
सन् १९४७ को स्वतन्त्रताको लगत्तै यी नयाँ मुलुकहरूमा विशाल हिन्दू-मुसलमान दङ्गा हुन गयो। यताका मानिस उता र उताका मानिस यता बसाईँ सर्ने क्रममा लाखौँको मृत्यु हुन गयो। त्यतिबेला यताउता जान खोज्ने हजारौँ मानिसहरू रेल, बस, गाडा र पैदल समेत ओहोर दोहोर गर्दा चरम भिड र भिडन्तका कारण पनि मर्न पुगेका थिए।
खासगरी पाकिस्तानबाट भारत आउन खोज्ने वा उतै बस्न खोज्ने हजारौँ शिख र हिन्दूहरू मुसलमानहरूको हातबाट मारिए। आज पनि अल्पसंख्यकका रूपमा हजारौँ शिख र हिन्दू पाकिस्तामा त्यहीँका नागरिक भएर बसि नै रहेका छन्। मारिने डरले कैयन् यस्ता अल्पसंख्यक मानिसहरूले इश्लाम वा क्रिश्चियन धर्म समेत अँगालेर बसेका छन्।
आजको बदलिँदो परिवेशमा भने पाकिस्तानको समाजमा पनि ठूलै बदलाव आएर आज उ आफ्ना अहम् धार्मिक र सामाजिक मूल्य र मान्यतालाई कायमै राख्दै निकै हदसम्म उदार सामाजिक बाटोमा लम्कँदै गएको छ।
सन् १९४७ को बटवाराले गर्दा भारत र पाकिस्तानका कैयन् परिवार यता र उता परेका थिए। तर अब ७६ वर्ष बितिसकेकोले झण्डै ३ पुस्ता पहिलेका मानिसहरू अब बिरलै बाँकी भएकाले नातागोतामा पनि कमी आउँदै गएको छ र नातेदार भेट्न जाने क्रम पनि घट्दै गएको छ।
तर पनि आफ्नो पुर्खौली थलोमा पुग्ने अभिलाषा दुवै पट्टिका बासिन्दालाई भइ नै रहन्छ। धार्मिक हिसाबले पनि शिख, हिन्दू र मुसलमानका पवित्रस्थलहरू दुवै पट्टि परेकाले वर्षेनी धार्मिक हिसाबले पनि यताउता गर्नुपर्ने हुन्छ। तर यो सधैँको झगडाले गर्दा जनस्तरमा निकै समस्या भोग्नु पर्ने अवस्था छ।
यी दुई मुलुकहरू राजनैतिक रूपले महान शत्रु जस्ता भएता पनि यी दुवै मुलुकका जनताहरू एक अर्काको संस्कृति र संस्कारको कदर गर्ने खालका नै छन्।
त्यसैले त भारतीय सिनेमा र पाकिस्तानी टेलिश्रृङ्खला यी दुवै मुलुकका साथै पुरै दक्षिण एशिया र भन्नै पर्दा विश्वमा नै लोकप्रिय छन्। त्यस्तै यी दुई मुलुक बीच हुने क्रिकेट, हक्की तथा अन्य खेलहरू हेर्न विश्वभरका खेलप्रेमीहरू लालायीत हुन्छन्।
बेलायतीहरूले भारत छोडेर जाने बेलामा सडक, रेल तथा अन्य विकासका पूर्वाधार आदिको सञ्जाल नै बनाएर छोडेका यी नयाँ स्वतन्त्र मुलुकहरूले जेजस्ता राजनैतिक व्यवस्था अपनाएर अघि बढेका भएता पनि विगत ७६ वर्षमा आर्थिक विकासमा निकै ठूलो फड्को मार्न सफल भएका छन्।
पाकिस्तानमा अधिकांश समय सैनिक शासन भएको भएता पनि उसले कृषि तथा औद्योगिक र अन्य सामाजिक क्षेत्रमा पनि ठूलो प्रगति गर्दै अघि बढेको छ भने विश्वको सबैभन्दा धेरै जनसंख्या भएको प्रजातान्त्रिक भारत त आर्थिक विकासको मामिलामा आज विश्वमा नै पाँचौँ ठूलो राष्ट्र भइसकेको छ र आउँदो ५ वर्ष भित्रमा तेस्रो हुने लक्ष्यका साथ अघि बढीरहेको छ। चन्द्रमामा अन्तरिक्ष यान पठाउन समेत उ सक्षम भइसकेको छ।
बंगालीहरू संगीत, कला र साहित्यका ज्यादै नै पारखी भएको कुरा त त्यहाँबाट पैदा भएका साहित्यकार, गायक र संगीतज्ञ र कलाकारहरूबाट नै प्रष्ट हुन्छ। भारततिरको पश्चिम वङ्गाल र वङ्गलादेश दुवै यो कुरामा निकै धनी छन् भने पाकिस्तान र भारत त पूर्वीय संगीतको जन्म र कर्मथलो नै हुन्।
सन् १९७९मा मेरा पिता पाकिस्तानको लागि नेपाली राजदूत हुनु हुँदा मैले पनि पाकिस्तानमा केही समय बस्ने र अध्ययन गर्ने मौका पाएको थिएँ। त्यतिबेलाको अनुभव अनुसार पाकिस्तानीहरू निकै सुसंस्कृत, मेहनती, असल र राष्ट्रवादी र नेपाल भन्दा निकै धेरै विकसित भएको मैले पाएको थिएँ तर धर्मको कुरामा उनीहरू ज्यादै कट्टर र हिन्दू र शिखको नाम पनि सुन्न नचाहने खालका भएको मैले बुझेको थिएँ।
आज इन्टरनेट र समावेसीताको जमानामा त्यहाँ र जहाँतहीँ पनि धेरै बदलाव आउनुका साथै अरुको संस्कृति बुझ्न पनि सहज परिस्थितिको सिर्जना भइसकेकोले अब पहिलेको जस्ता कट्टरपनामा कमी आयो होला जस्तो लाग्छ।
युट्युवमा पाकिस्तानी उर्दू र पञ्जावी गीतहरू हेर्दा त्यहाँको गीत-संगीतमा अझै बढी निखार आएको र दर्शकहरूको लवाई र संगीतप्रतिको झुकाव पनि अति नै समृद्ध भएको पाउन सकिन्छ। यो कुरामा भारतले गरेको प्रगतिको र त्यहाँको सुसंस्कृतिको त हामी राम्रैसँग परिचित र साक्षी छँदैछौँ।
हजारौँ वर्ष अघिदेखि विश्वका अन्य भाग भन्दा कुनै कुरामा पनि कम नभएर आफ्नो महान् संस्कार, समृद्धि र धार्मिक तथा सामाजिक प्रतिष्ठाबाट आकर्षित भएका टाढा टाढाका छिमेकीको हमलाको बरोबर सिकार बन्दै आएको यो भारत वर्षका मुलुकहरू खासगरी भारत र पाकिस्तानले विगतमा आफ्नो अष्मिता बचाउनको खातिर भोगेका दुख र विदेशीको थिचोमिचोको सिकार बनेर विगतमा भोगेका कष्टलाई ठ्याम्मै बिर्सेर आज आफ्ना छिमेकीहरू माथि हैकम जमाउने, भूपरिवेष्ठित छिमेकीहरूलाई व्यापार तथा पारवहनका कुरामा दुख दिइरहने र सिमाना मिचेर वा अन्य तवरले हुन्छ कि सुरक्षाकर्मी तथा कर्मचारीलाई उपद्रो मच्चाउन लगाएर असहज परिस्थितिको सिर्जना गर्ने गरेको देख्दा सासुको प्रताडना भोगेकी बुहारीले आफू सासु बनेपछि आफ्ना बुहारीलाई त्यस्तै दुख दिएर आनन्द लिएको मनोवैज्ञानिकता राष्ट्र राष्ट्रमा पनि लागु हुँदो रहेछ जस्तो लाग्ने।
जे होस् काश्मिर समस्याको सौहाद्रपूर्ण तवरमा समाधान हुनुका साथै भारत र पाकिस्तान बीच असल मित्रभाव उत्पन्न होस् तथा आफ्ना सबै छिमेकी, जात, धर्म र संस्कृतिको कदर गर्ने र आफ्नो विकासको प्रतिफल र अनुभव छिमेकीलाई पनि बाँडेर खुसहाल, सुरक्षित र समृद्ध दक्षिण एशिया बनाउने भावना उनीहरूमा जागोस्। यही कामनाका साथ दुवै छिमेकी र मित्र राष्ट्रहरूलाई ७६औ स्वतन्त्रता दिवसको हार्दिक शुभकामना।
लेखक विकास अर्थशास्त्री र एकल व्यक्तित्व समाज, नेपालका अध्यक्ष हुन्।
Facebook Comment