बिचार शून्य राजनीतिको दौड

कमला थापा
५ भदौ २०८० ८:४६

संसदमा निर्वाचित भएर आएका जनप्रतिनिधिहरु बैचारिक बहसमा भन्दा एक अर्का पार्टीका नेताहरुले गरेको भ्रष्टचारका गाथाहरु ओकल्ने काममा हिजोआज व्यस्त छन्।

आफ्नो गोपनीयता खुल्ने भयो भन्ने त्रासले सांसदहरुले नागरिकको अपेक्षाभन्दा फरक भूमिका निर्वाह गरिरहेका छन्। यसले सिंगो संसद नै बिचार शून्य राजनीतिको दौडमा लागेको देखिएको छ।

सांसदहरुको जुहारी, संसद अवरुद्ध, एउटा सांसदले बोल्दा अरुले सल्लाह र हल्ला एकै साथ गरिदिँदा संसद हो कि माछा बजार भनेर नागरिकहरुले टिकाटिप्पणी गर्न थालेका छन्।

संसद भित्रको गतिबिधिले देशलाई झन्झन् कमजोर बनाउँदै छ। ब्यबस्था जति नै राम्रो भनेर भनियता पनि सांसदहरुलाई संसदीय मर्यादा प्रस्तुतिको शैली, अनुशासनमा राख्न नसके पछि त्यसको कुनै मूल्य हुँदोरहेनछ।

संसदभित्र देखिएको असंसदीय चरित्र पहिला सायदै थियो। वि.सं. २०७४ पछिको संसद मर्यादित भएर अगाडि बढ्न सकेको देखिँदैन।

संसदमा राष्ट्र, जनताको जनजीविकाका सवाल र राष्ट्रिय महत्वका बिषयहरु उठनै छाडिसकेको छ। यो बिकृति कसरी भित्रियो भनेर गम्भिर भएर सोच्नुपर्ने समय ढिलो भैसकेको छ।

२०७९ को निर्वाचनपछि सुरु भएको संसद चालु भएको पनि करिव ७-८ महिना हुन लाग्यो। यस अबधिमा राम्रोसँग संसद चलेको हेर्ने हो भने सबै समय मिलाउँदा दुई महिना पनि संसद चलेको देखिँदैन। सधैं एउटा न एउटा काण्डले संसद अबरोध भएको छ।

मूलुकमा यतिधेरै समस्या, अपराध बढ्दै गएको छ । तर त्यतापट्टि कोसैको ध्यानै छैन। संसदमा बिधेयक अलपत्र परेको छ। पास हुन नपाएर कानून, नियम, नियमावली बनाउन पाएको छैन।

अहिले एक क्विन्टल सुनमा मुछिएका ब्यक्तिहरु माओवादी पार्टीका बरिष्ट सदस्यहरुकै नाम आइरहेको सुनिन्छ तर उनीहरुलाई सोधपुछको दाएरामासमेत नल्याइँदा के‌ सरकार आफ्नालाई जोगाउने अरुलाई मात्र पक्रिने मनसायमात छैन? भन्ने प्रश्न चौतर्फी उठिरहेको छ।

जसले गर्दा मन्त्रालय, बिभाग संस्थानहरुको काम अलपत्र परेको छ। कानून नहुँदा कर्मचारी, साईवर कानून नहूदा साइबर अपराध बढेको सुरक्षाकर्मीहरुको गुनासो उस्तै छ।तर संसद सधै अबरोध गर्नेहरुलाई अलिकति पनि गम्भिर बनाएन।

शिक्षा, स्वास्थ्य र मिटरब्याज सम्बन्धि विधयेक पास भएर केही काम अगाडि बढेको देखिन्छ तर त्यतिमात्र पर्याप्त छैन। अन्य धेरै विधयेक अलपत्र अवस्थामै छ।

प्रतिपक्षको रचनात्मक, सुझावमूलक बिरोधबाट सरकारलाई सजक गराउनुपर्ने हो। गलत काम गर्नबाट रोक्न प्रतिपक्षको भूमिका महत्वपूर्ण रहन्छ। सरकार स्वच्छाचारी, अराजक हुनबाट रोक्ने, खबरदारी गर्ने भनेको प्रतिपक्षको भूमिकामा निर्भर गर्छ।

तर प्रतिपक्ष संधै हरेक साना-साना कुरामा संसद अबरोध गर्न लाग्नु त्यो संसदीय ब्यबस्था बिपरित कुरा हो। यहाँ प्रतिपक्षको भूमिका सन्तोष जनक भैरहेको छैन।

संसदमा‌ सांसदहरुले ब्यापक छलफल, परामर्श, सुझाब गर्न पाउनु पर्ने सधैंको अबरोधले संसद गतिशील हुन सकेन। प्रतिपक्षले बन्धक बनाएको छ। केही सत्ता पक्षका सांसदहरु प्रतिपक्षकै स्वरमा स्वर मिलाएर आफैं सहभागी भएको सरकारलाई आतंककारीको आरोप लगाउन पछि नपरेको देखियो। यो संसदीय मर्यादा विपरित हो।

किन भयो? सत्ता पक्षका एक सांसद आफैं सहभागी भएको सरकारको राजीनामा माग्दै अनुशासन बिपरित पार्टीको ह्वीप उल्लघंन गर्दै प्रतिपक्षको नेतालाई राष्ट्रपिता भन्दै, शरण पर्न गएको दृश्यले पुराना ५० औं बर्ष देखिका नेता, ३०-४० बर्षदेखि भातृसंस्थामा काम गर्दै आएका अनुभबी, अनुशासित यूवा सांसदहरु समेत लज्जित हुनुपरेको देखिन्छ।

अहिलेको प्रतिपक्ष हिजो दुई तिहाइको सरकार चलाइरहँदा पनि संसद‌ बिघटनमै उत्रियो। अहिले अल्पमतमा हुँदा पनि उनीहरुको रवैया त्यही छ। यसो भनिरहँदा सरकार सबै कुरामा ठिक छ भन्न खोजिएको होइन। यो सबैलाई थाहा भएको कुरा हो।

अहिले एक क्विन्टल सुनमा मुछिएका ब्यक्तिहरु माओवादी पार्टीका बरिष्ट सदस्यहरुकै नाम आइरहेको सुनिन्छ तर उनीहरुलाई सोधपुछको दाएरामासमेत नल्याइँदा के‌ सरकार आफ्नालाई जोगाउने अरुलाई मात्र पक्रिने मनसायमात छैन? भन्ने प्रश्न चौतर्फी उठिरहेको छ।

अहिले सत्ता पक्षको सांसदलाई अधिवेशन चलिरहेको अवस्थामा बिना पुर्जी पक्राउ गरिएको प्रसंगले सरकारले संसदको ध्यान अन्तै मोडन खोजेको त हैन भन्ने अर्को शंका उत्पन्न गरेको देखिन्छ।

संसद अधिवेशन चलिरहेको अबस्थामा कुनैपनि सांसदलाई पक्रिन पाइँदैन पक्रनै पर्ने अवस्था भएमा सभामुखलाई लिखित जानकारीसहित अनुमति लिएर मात्र पक्रनु पर्ने ब्यबस्था छ। उक्त केस त्यति हतार गर्नु पर्ने पनि होइन जति अन्य जघन्य अपराध जस्तो। यो ज्यादती ठिक होइन दुखद कुरा हो।

तर त्यसो भन्दैमा आबेशमा आएर संसदमा पार्टी ह्वीप उलंघन गर्दै बोल्नु पनि राम्रो होइन। पार्टीमा नेतृत्व आउने जाने हुन्छ। पार्टी रहिरहन्छ। यस्ता अभिब्यक्ति पछि नजिर बनिदिन्छ। संकटको बेला पार्टीले बोलिदिएन भन्ने गुनासो पीडित सांसदको छ।

पार्टीले सबै यथार्थ नबुझी बोल्न मिल्दैन। उक्त‌ केस नयाँ पनि होइन एउटै केशमा पटक, पटक धरपकड गर्नु कति उचित हो? त्यसको जवाफ आउला। तर आफूलाई पक्रिएकै कारण सरकारको राजिनामा माग्ने हतारो गरिहाल्नु पर्ने कुरा होइन। जसले प्रतिपक्षलाई मद्दत पु¥याओस। त्यसैले भनिन्छ राजनीति बिचार, चिन्तन र सिद्धान्तबाट चल्नुपर्छ।

बिचारको राजनीतिमा बिचलन आइसकेको देखिन्छ। सत्ता पक्षको सांसदले प्रतिपक्षलाई बल पुग्ने गरी बोल्नुले उक्त सांसदको प्रसंसा गर्नु उसको कुटिलता हो। त्यो कुटिलतालाई बुझ्न नसक्नु राजनीतिक कमजोरी हो।

अझै हौसिएर राष्ट्रपिताको उपाधि दिँदै अब कांग्रेस र एमाले मिलेर सरकार बनाउनु पर्छ भन्दै‌ एमाले नेता केपी ओलीको घरमै पुगेर प्रस्ताव राख्नु त्यो एउटा सांसदको क्षेत्रधिकार भित्रको कुरा होइन।

आफ्नो नेताको अपमान हुने गरी फलानालाई प्रधानमन्त्री बनाउने भन्दै मिडियामा बोल्नु त्यो अर्को गल्ती हो। यो त कुकुरले पुच्छर हल्लाउने भन्दा पनि पुच्छरले कुकुर हल्लाउन खोजेको देखियो।

त्यसैले अहिलेको संसदभित्र देखिएको गतिबिधिले संसद, पार्टीहरुको मानमर्दन भएको देखिन्छ। संसदमा स्वच्छाचारिता बढदै गएको एकतन्त्रीय शासनको‌ झल्को दिएको र पार्टीहरुलाई लोकतन्त्र नचाहिएको पुष्टी गर्दछ। त्यसैले संसद प्रतिपक्ष बिहिन देखिन्छ।

प्रतिपक्षको भूमिका सत्ता पक्षले निर्वाह गरेपछि प्रतिपक्ष खुसी नहुने कुरै भएन। कुनै पनि सांसद त्यति छिटो बहकिनु परिपक्कता होइन। हिजोदेखि थुप्रिएको काण्डै काण्डको खाता, फोहरका डुंगुर, सफागर्न केही समय अबस्य लाग्छ।

सरकारले केही त सुरुवात गरेको छ । केही समय काम गरेको हेर्न सकिन्छ। तर घमण्ड, दम्भले भारिएका पार्टीहरुमा त्यो धैर्यता छैन। आफू बाहेक अरुलाई राम्रो नै नदेख्ने प्रबृत्ति बोकेका पार्टीको सरकार जनताले नहेरेको होइन।

सबैभन्दा अनियमितता भ्रष्टाचार, महंगी बलात्कारीहरु समाउन नसक्नु यस्ता धेरै घटना अनगिन्ती थिए। अहिलेको सरकार धेरै सक्षम छ भन्ने होइन। तर संगठित अपराध, तस्करी, सरकारी जग्गा हिनामिना, अन्तर्राष्ट्रिय अपराधका फाइलहरु खोल्ने कामको सुरुवात त भएको छ। केही समय कामको स्वरूप हेर्न सकिन्छ।

सरकारले नसकेको, नगरेको अबस्थामा बिरोध गर्ने, सरकार बदल्ने कुरा आउँछ। तर प्रतिपक्षमा त्यो साहस देखिँदैन। संसदलाई सधै बन्धक बनाएर लोकतन्त्रको रक्षा सम्भब हुन सक्दैन।

अहिले लोकतन्त्र बाँदरको हातमा नरिवल जस्तो भएको छ। लुटिखाने भाँडो बनाएका छन्। आफ्ना पार्टीका साथीहरु अरु पनि तानिएलान भन्ने डरले सरकार गिराउने खेल बाहेक अरु भन्न सकिन्न।

नेपालको राजनीति अहिले बिचार, सिद्धान्तले चलेको छैन। नेपाली कांग्रेस विपीको बिचार, सिद्धान्त, मूल्य मान्यतामा चलेको पार्टी हो। जिम्मेवार पदमा पुगेका ब्यक्तिहरु अझै बढी जिम्मेवार बन्न जरुरी छ। यो‌ सबै विपी विचारलाई छाड्दै जानुको परिणाम हो।

आजकाल सिद्धान्त, बिचारमा हदै सम्मको बिचलन आइसकेको छ। कारण प्रष्ट छ, जबदेखि निर्वाचनमा उम्मेदवारहरुसंग आर्थिक लेनदेनमा टिकट दिइयो, त्यहीँदेखि बिकृतिको सुरुवात भयो।

राजनीतिमा बिशेष योगदान पुर्‍याएका, निरन्तर राजनिति गर्दै आएका अनुभबी कार्यकर्ताहरु बिस्थापित गर्दै धन, डन, ब्यापारी माफिया, बिचौलियाहरुको पहँच नेताहरुसँग बढ्दै गयो। त्यहीदेखि राजनीतिक बिचारधारा कमजोर हुन पुग्यो।

२०७० सालको निर्वाचनसम्म संस्थापन पक्षले यस्तो गरेको थिएन। पार्टीका इमान्दार कार्यकर्ताहरुले टिकट पाउँदै थिए, केही छिटपुट बाहेक। तर २०७४ को‌ निर्वाचनदेखि त्यसमा ब्रेक थ्रू भएको‌ छ।

आजकाल त मोल बढाबढको परिपाटी, अझै समानुपातिकतर्फ त आर्थिक नजराना नचढाई सांसद हुन नसकिने भएको कुरा संबन्धित ब्यक्तिहरुबाटै आइरहेको छ। जसले गर्दा नेताहरुले कार्यकर्ताहरुलाई अनुशासनमा राख्न नसकेको स्पष्ट देखिन्छ।

राजनीति देश, जनता, राष्ट्र, राष्ट्रियता समाजको लागि गरिने कुरा हो। तर आजकल राजनिति बजारमा बिक्री को सामान जस्तो ब्यापारमा परिणत भएको छ। जनता पीडितका पीडितनै छन्।

अन्यायमा परेका पीडित न्याय माग्दै सारा जिल्लाहरू, काठमाडौंको सडक तातिरहेको छ। मीटरब्याजको सही कार्यान्वयन हुन पाएको छैन। बैंकको चर्को ब्याजका, बिरुद्ध ब्यपारी, उद्योगपति सबै आन्दोलनमै छन्।

निर्माण ब्यबसायीहरुले समयमा पैसा नपाउदा काम समयमा सम्पन्न गर्न नसकेको गुनासो लिएर आन्दोलनमा उत्रिएका छन्। हरेक क्षेत्र तहसनहस अलपत्र छ। सरकार सधैं सत्ता कसरी टिकाउने ध्याउन्नमै रुमलिएको छ।

कुनैपनि समस्याको सामाधान, सम्बोधन सरकारले गर्न सकेको छैन। यस्ता कुरामा संसदमा छलफल हुँदैन। केवल सरकार ढाल्ने, कसको सरकार बनाउने, सत्ता कसरी टिकाउने खेलमा संसद र सांसदहरुको ध्यान जानुले जनप्रतिनिधि मूलक संस्था संसद जनताप्रति उत्तरदायी नभएको बुझाई बुद्धिजिवी, नागरिक समाज सबैको रहेको छ।

पार्टीहरुले यसलाई आत्मसाथ गर्ने की नगर्ने? कम्निस्टहरुको शब्दमा भन्ने हो‌ भने पार्टीहरुले आत्माआलोचना‌‌ गर्न जरुरी छ।

प्रधानमन्त्रीज्यूको भर्खरै आएको अभिब्यक्ति सुन्दा डरलाग्दो छ। उहाँ भन्नुहुन्छ ‘सिंहदरबार र प्रधानमन्त्री क्वाटर बालुवाटार पुरै माफिया, बिचौलियाहरुको कब्जामा परिसकेको रहेछ तर आफू त्यसबाट बच्ने प्रयासमा भएको’ कुरा सार्वजनिक रुपमा बोल्नु भयो।

यसमा‌ उहाँको इमान्दारिता देखिन्छ । तर के तपाई साच्चै बच्न सक्नु हुन्छ? प्रधानमन्त्रीज्यूको उक्त भनाइबाट पुष्टि हुन्छ, देश कति गम्भीर खतरामा परिसकेको रहेछ भन्ने कुरा। यो डरलाग्दो कुरा हो। जति समय सरकारमा रहनुहोला देश र जनताप्रति बफादार रहनुहोस् भन्ने हाम्रो कामना छ ।

समयले एकपटक सबैलाई सुध्रिने अबसर दिन्छ। यो तपाईंलाई हिजोका गल्ती, कमीकमजोरीलाई सुधार गर्ने अबसरको‌ रुपमा लिनुहोस । तपाईलाई शुभकामना छ, प्रधानमन्त्रीज्यू।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *