क्रसरले उजाडेकाे नदी किनार, अब मन भुलाउने हरितपार्क

डिसी नेपाल
७ भदौ २०८० ७:१४

महाेत्तरी। वरपर क्रसरले मरुभूमी बनाएका फाँटहरू छन्। कतै माटो तथा बालुवा उत्तखनन् गर्दा बनेका गहिरा खाल्डा देखिन्छन् त कतै गिटी र बालुवा थुपारेका पहाड।

बर्षायाममा पनि धुलोको कुइरीमण्डलले यही बटो भएर बर्दिबासका दक्षिणतर्फ जाने यात्रुहरु मुख छोप्नै पर्न बाध्यता छ। तर यो उराठ लाग्दो वातावरणीय दुर्दशाको दैनिक आवतजावत गर्ने भुक्तभोगी मात्र हैन, बाहिरबाट आएका ब्यक्तिसमेत एकैछिन भएपनि यो ठाउँमा आजकाल अडिन थालेका छन्।

कारण हो रातु मित्रपार्क। रातु नदीको किनारामा लगाइएका सयौं जातका विरुवाहरुले अहिले हरियाली छरेका छन्। रोटरी कलव अफ बर्दिबासले झण्डै ८ बिघा क्षेत्रफलमा हरित पार्क बनाउने उद्देश्यले लगाइएको झण्डै २६ सय भन्दा बढी बिरुवाहरु हुर्केसगैँ रातु नदिको तटीय क्षेत्र हराभरा बनेको छ।

बर्ष दिन अगाडिसम्म वालुवा नै वालुवाका कारण उराठलाग्दो मरुभूमी देखिने यसै ठाउँ हरित सौन्दर्यमा परिणत भएसँगै स्थानीय र यात्रुहरुलाई एकैछिन भए पनि स्वच्छ अक्सिजन लिन सकिने बिश्रामस्थल बनेको स्थानीय बताउँछन्। पूर्व रोटरी कलव अफ बर्दिबासका अध्यक्ष बिष्णु खडकाको नेतृत्वमा झण्डै १ करोड २५ लाख लगानीमा निर्माण भएको उक्त हरित पार्कको नतिजा धमाधम देखिन थालेको छ।

त्यसो त अहिलेका अध्यक्ष कृष्ण गौतमले पनि उक्त मित्रपार्कको सौन्दर्यकरणमा निक्कै मेहनत गरेका छन्। ड्यामको माथि पट्टीबाट सुन्दर बाटो बनाइएको छ भने घामले बिरुवाहरु नसुकुन भनेर पानीको व्यवस्था गरिएको अध्यक्ष गौतम बताए। चारैतिर पर्खाल घेरेर बनाइएको उक्त हरितपार्कले आकार लिएसँगै अवलोकन गर्नेहरुको संख्या समेत बढिरहेको छ।

रातु मित्रपार्क मात्र हैन, रोटरी कलवले बर्दिबासलाई हरित सहरको रुपमा बिकास गर्ने अवधारणा नै अगाडि बढाएको अध्यक्ष गौतम बताउँछ्न्। अहिलेसम्म झण्डै ५ हजार बिरुवा रोपेको बताउँदै अध्यक्ष गौतमले मुख्य सडकको बीचमा पनि रोटरीले हरितयुक्त सौन्दर्यमा जोड दिएको बताए।

बर्दिबास चोकको पूर्व-पश्चिम राजमार्गमा देखिने हरियाली रोटरी क्लबको नै देन हो। नदीका किनारहरुमा क्रसर ब्याबसायीका कारण नदी उकास जग्गा समेत अतिक्रमण भैइरहेको जनगुनासो बढिरहेको बेला रोटरी क्लबले नदी उकास जग्गालाई हरित पार्क बनाए पछि चर्चा सुरु भएको छ।

पछिल्लो समय होटल हवको रुपमा बिकास भएको बर्दिबासमा आउने आन्तरिक र बाह्य पर्यटकको लागि समेत यो हरितपार्क निक्कै उपयोगी सावित भएको होटल व्यवसायी बताउँछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *