भोटमा नेपाली : गोर्खालीको नाम, शान र सम्मानको पहिचान
इतिहास संस्कार, संस्कृति र पहिचानसँग जोडिएको विषय हो। यस अर्थमा कुनै जमाना यस्तो पनि थियो कि नेपालीको पहिचान वीर र वीरतासँग जोडिएको हुन्थे।
इतिहासको काल-खण्डदेखि नै नेपाल र नेपालीलाई वीर गोर्खालीको नामले संसारभर चिन्दथे र आज पनि त्यो पहिचान कायम नै छ। नेपाल र नेपालीको वीरतापूर्ण इतिहास जोडेको नेपाल र भोट (तिब्बत) सँगको सम्बन्धका बारेमा इतिहासविद प्रा.डा.तीर्थप्रसाद मिश्रले हालै ‘भोटमा नेपाली’ नामक कृति प्रकाशित गरी म जस्ता थुप्रै इतिहासप्रति जासो राख्ने जिज्ञासु पाठकहरुलाई ठूलो गुन लगाउनु भएको छ।
अनुसन्धानमूलक र तथ्यपरक ढंगले आएको यो पुस्तकले नेपालको इतिहास विषयमा अनुसन्धान तथा कार्यपत्रको तयारीमा लागेका विद्यार्थी वर्गलाई ठूलो हतियार सावित हुने कुरामा दुईमत छैन भने नेपाल र नेपालीको गौरवपूर्ण इतिहास पढेर जो कोहीले पनि आफ्नो कला, संस्कार, संस्कृति र सामथ्र्यको पहिचान गर्न सक्ने भएकोले यो कृति हाम्रो लागि एक नीधि सावित हुनेमा ढुक्क छु।
नेपाल-भोट सम्बन्धमा चित्तरञ्जन नेपाली, लियो ई.रोज , त्रिरत्न मानन्धर जस्ता विद्वानहरुले उठान गरेका विषयलाई प्रा.मिश्रले अगाडि बढाउनु भएको छ।
अरुले गोरेटो बनाएकोमा सो मार्गलाई घोरेटो र ग्राभेल बनाउने कार्य गर्नुभएकोमा अव पक्की सडक बनाउने कार्यमा पनि उहाँले नै जाँगर चलाउनु पर्ने अपेक्षा पाठकले गरेका छन्।
पुस्तकको बारेमा अभिमत जाहेर गर्नुभन्दा पहिले प्रा.मिश्रको बारेमा केही लेख्न मनाशिव ठान्दछु। प्रा.डा.तीर्थप्रसाद मिश्र नेपालको इतिहास लेखन विधामा एक स्थापित नाम हो। सन् १९५३ डिसेम्वर २७ मा धनकुटाको कचिडेमा जन्मनु भएका प्रा.मिश्रले सन् १९८७ मा विद्यावारिधि उपाधि हाँसिल गर्नु भएको हो।
सन् १९७४ देखि सन् २०१५ सम्म ४१ वर्ष लामो समय त्रिभुवन विश्वविध्यालय सेवामा रही सेवानिवृत प्राध्यापक मिश्रले विभिन्न स्वदेशी तथा विदेशी दर्जनौं सामाजिक संघ/संस्थाहरूमा अध्यक्ष, सदस्य,कार्यकारी सदस्य, सल्लाहकार, योजनाकार, अनुसन्धान विज्ञ लगायत थुप्रै तह तप्कामा रहेर सामाजिक कार्यहरू गर्नुभएका छन्।
विभिन्न ऐतिहासिक खोज, शोधपूर्ण दस्ताबेजहरू तथा अनुसन्धानका पुस्तकहरू प्रकाशन गरी सक्नु भएका मिश्रको भर्खरै प्रकाशित ‘भोटमा नेपाली-पहिचान र पराक्रम’ २० औं कृति हो।
यसको अतिरिक्त नेपाल भोट सम्बन्धसँग सम्बन्धित डा.मिश्रको नेपाल्स क्विनिक्विनियल मिसन्स टु चाइना, दी टेमिङ अफ टिबट, टिबट एण्ड इट्स नेबोर, नेपाल भोट सम्बन्धमा ग्याल्बो काण्ड, अंग्रेज भोट विवादमा नेपालको भूमिका जस्ता कृतिहरु प्रकाशित भैसकेको सन्दर्भमा यो कृतिले ‘जनताको इतिहास’ लेख्ने कार्य अव नेपालमा शुरु भैसकेको संकेत गर्दछ।
यसको अतिरिक्त प्रा.मिश्रको सयौंको संख्यामा स्वदेशी तथा विदेशी जर्नलहरूमा लेख प्रकाशित छन्। इतिहासका सिद्धहस्त विद्वान प्राध्यापकज्यूको यो कृति सरसर्ती अध्ययन गर्दा लेखकको भाषागत शिल्पी, तथ्यपरक खोज र लेखन प्रतिको जाँगरको तारिफ गर्न मन लाग्यो।
ऐतिहासिक प्रमाणहरु दिएर लेख्नुभएको तत्कालिन समयको वोध गराउने वस्तुगत विषय तथ्यहरुले पुस्तक ओजस्वी बन्न पुगेको छ। नेपाल र तिब्बत बीचको तत्कालीन राजनीतिक, सामाजिक, आर्थिक तथा ऐतिहासिक पक्षहरुको बारेमा इमानदारिपूर्वक विभिन्न दस्ताबेजहरुको हवला दिएर लेखेको यस पुस्तकले नेपाली इतिहासमा एक गर्विलो आयाम थपेको छ।
प्रस्तुत कृतिमा नेपाल-भोट सम्बन्धको रुपरेखा, भोटमा रहेका नेपालीहरुको हैंसियत, स्थिति, पराक्रम, उनीहरुले गरेका संघर्ष र सम्झौताका झलकहरु, भोटमा रहेका नेपालका अड्डाहरुको विवरण, भोटमा नेपालले पाएका विशेष अधिकारहरु र परम्परागत सुविधाहरु एवं भोटमा रहेका आम देश र सो देशका वासिन्दाहरुको नेपालीप्रतिको दृष्टिकोण जस्ता विषयवस्तुमा वस्तुनिष्ठ मूल्यांकन भएको छ।
कालखण्डको साँचीको रुपमा आएको पुस्तक सरसर्ती पढिसकेपछि केही लेख्ने इच्छा जाग्रित भयो। यो एउटा सच्चा पाठकको धर्म पनि हो। तर कृतिमाथि केही चर्चा गरिरहँदा नठान्नु होला कि पुस्तकको समीक्षा गरेको भनेर।
किन कि उहाँको लेखनको र पुस्तकको समीक्षा गर्न सक्ने हैंसियत म मा छैन तथापी पुस्तक सरसर्ती कृति पढिसकेपछि मनमा लागेको केही कुरा लेख्ने दुत्साहस गरेँ। समयको अन्तरालमा इतिहासले दिएको दायित्व र हामीले प्राप्त गरेको उपलब्धी तथा बर्तमान राष्ट्रिय राजनीतिमा हामी कति राष्ट्र र राष्ट्रियता प्रति बफादार र इमानदार छौं भन्ने कुरा यस पुस्तक पढेपछि ज्ञात हुन्छ।
त्यसैले यो पुस्तक विगत र वर्तमान बीचको अन्तरक्रियात्मक कडीको रुपमा लिन सकिन्छ। इमानदारिपूर्वक वस्तुपरक ढंगले लेखिएकोले पनि यो पुस्तक अझ ज्ञानवद्र्धक हुन पुगेको छ।
पुस्तक अध्ययन गर्दा परापूर्वकालदेखि नै हिमखण्डका लागि भोट (तिब्बत) आकर्षक गन्तव्य स्थलको रुपमा रहनुको कारण तत्कालीन अवस्थमा दक्षिणतर्फ घनाजंघाको साथै औलो जस्ता रोगव्याधिको कारण र ब्यापार तथा ब्यवसायमा पनि उत्तर नै फापेको देखिन्छ।
नेपालको कुटनीतिक सम्बन्धको पहिलो मुलुक पनि भोट नै हो। भौगोलिक तथा सामाजिक साईनोले पनि नेपाल र भोटको सम्बन्ध अझ प्रगाढ भएको देखिन्छ। भोटको राजा स्रङचङ गम्पोसँग नेपालकी चेली राजकुमारी भृकुटीबीचको विवाहले ब्यापारिक, साँस्कृति तथा सामाजिक सम्बन्धको विकासमा महत्वपूर्ण भूमिका खेलेको देखिन्छ।
भृकुटीले आफ्नो साथमा अक्षोभ्य, मैत्रेय, तारा आदिका मूर्तिहरु लिएर गइन् र ल्हासा झोकाङ मन्दिर निर्माण गराई मूर्तिहरु प्रतिष्ठापित गराई राजनीतिक, कुटनीतिक, धार्मिक तथा सामाजिक सम्बन्धको विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिन्।
यति हुदाहुँदै पनि अंशुवर्माको मृत्यु सन् ६२१ मा भएको र स्रङचङ गम्पो सन् ६३० मा गद्दीनसीन भएको तथ्य र भृकुटी किटानीका साथ यसैकी छोरी थिइन् भन्ने तथ्य लिखित इतिहासको पानामा आउनु नसक्नु पनि शक्ति र राजनीतिक प्रभावमा तत्कालीन इतिहास लेखन स्खलित भएको भान हुन्छ। जे होस् नेपालकी छोरी भृकुटी दुई देश बीचको सम्बन्ध विस्तारमा दूत भइन् र इतिहासको पानामा विभूतिको रुपमा अमर भइन्।
प्राचिनकालदेखि नै नेपालीले कला, कौशलता र वीरताको कारण राजनैतिक उपस्थिति देखाएको भोटमा बलबाहु–अरनिकोले थप उचाई दिलाए। उनको ख्याती भोटमा मात्रै सीमित रहेन, चीन, मंगोलिया तथा इन्डोनेशियासम्म फैलिए।
नेपालको प्राचिन र मध्येकालसम्मको इतिहास हेर्दा नेपाल र भोटको सम्बन्ध निकट छिमेकी, सहयोग र भदभावपूर्ण रहेको देखिन्छ। केरुङ र कुतीका नाकाहरु खोली ब्यापार र आवत-जावतको मार्ग प्राचिनकालदेखि नै खोलिएको देखिन्छ।
तर अपसोच नेपालको गौरवपूर्ण इतिहासको धरोहर भृकुटी र अरनिकोका बारेमा नेपालमा सत्य तथ्यपूर्ण सामाग्री फेला नपर्नु नेपाली इतिहास लेखन कति कमजोर र शक्ति भक्तिमा लिप्त थिए भन्ने कुरा यस कृतिबाट पनि थाहा हुन्छ।
भोट र नेपाल बिच ब्यापारिक प्रयोजनका सिक्का विवाद भन्दा ठूलो कुनै संगीन घटना मध्येकालमा भएको देखिएन। यसरी मध्यकालमा सुमधूर रहेको सम्बन्ध पृथ्वी नारायण शाहको उपत्यका विजय पश्चात नयाँ युगमा प्रवेश गरेको पाइन्छ।
चीनले नेपालको स्वतन्त्रता र सार्वभौम अस्तित्वलाई चुनौती दिने प्रयास गरेको पाइँदैन। तर तत्कालीन शासकहरुको अदूरदर्शी नीति र बढी महत्वकांक्षाका कारण नेपालले धेरै कुराहरु गुमाएका देखिन्छ।
सन् १७९२ को नेपाल-चीन सन्धि र सन् १८१६ को सुगौली सन्धिबाट नेपालको सार्वभौम अस्तित्वमा आँच आएको पाइन्छ। सन् १७९२ को सन्धिअनुसार नेपाल र भोटबीचको विवादमा शासककै स्वार्थले स्वविवेकीय निर्णय लिएको कारण र सन् १८१६ को सन्धिमा पनि नेपालले आफ्नो राष्ट्रिय स्वार्थ गुमाएको देखिन्छ। यी दुवै सन्धिका कारण नेपाल तल परेको देखिन्छ।
कृतिमा चाख लाग्दा नसुनेका तथा नबुझेका धेरै विषयमा ज्ञान पाएँ। त्यस मध्ये एउटा विषय ‘खचडा’। नेपाली ब्यापारीले भोटका महिलासित विवाह गरी जन्मेको सन्तानलाई खचडा भनिँदो रहेछ। तर ती खचडाहरु दासदासी जस्तै अधिकारविहीन हुने रहेछन्।
नेपाली पुरुषसित विवाह गरी भोटका महिलाबाट जन्मेको सन्तान मध्य छोरा पाए नेपालको तथा छोरी पाए भोटकै रैती हुने चलन पनि अनौठो रहेछ त्यो बेला। यस्ता खचडाहरुको बाबुको सम्पतिमा अंशभाग लाग्दैन थिए। यस कारण ती खचडाहरुको आर्थिक स्थिति राम्रो थिएन।
खचडाहरु गोठाला, कुल्ली र भरिया भई आफ्ना जीवन निर्वाह गर्दथे। उनीहरु नेपालकै रैती भएता पनि केन्द्रीय सरकार तथा स्थानीय सरकार दुवैतिरबाट पीडित थिए। भोटमा रहेका नेपाली अधिकारीहरुबाट खचडामाथि थिचोमिचो गरेको र भोट सरकारबाट पनि सताएका थिए।
पछि भोटमा जन्मेका खचडाहरुको संख्या बढ्दै गएको र नेपालमा पनि बाबुसँगै आएका खचडाहरुको संख्या बढ्दै आए ता पनि बाबुको नेपाल तिर सन्तान नभए पनि धर्मपुत्रको रुपमा समेत राखेर सम्पति दिन नपाएका र त्यस्ता निसन्तान बाबुको मृत्युपश्चात उसको सम्पति राज्यको कोषमा जाने ब्यवस्थाले खचडाहरु निकै अन्यायमा परेको देखिन्छ।
भोट-नेपाल दुवैतिरबाट बहिष्कृत ती वर्गले स्थानीय नेपाली अधिकारीहरुले दुःख दिएकोमा श्री ३ महाराजसमक्ष बिन्तीपत्र जाहेर गरेको पाएबाट उनीहरुको स्थिति कति दयनीय थिए भन्ने अनुमान गर्न सकिन्छ। तर कालन्तरमा तिनीहरुको ब्यवस्थापन र नागरिकको रुपमा कसरी र कहिले ब्यवस्थित भए भन्ने कतै उल्लेख पाइँदैन।
नेपालले प्राचिनकालदेखि नै भोटसँगको सम्बन्धमा विशेष दिलचस्पी लिएको थियो। भोटको आन्तरिक तथा बाह्य ब्यापारमा नेपालको एकाधिपत्य उद्देश्यका कारण नेपाल-भोट-चीन सम्बन्ध गुमेको पाइन्छ।
चीन भोटलाई आफ्नो पन्जामा राख्न चाहान्थ्यो भने भोट चीनको नियन्त्रणबाट उम्कन चाहान्थे। तर नेपालीहरुलाई भने चीनले पृथक राख्ने उद्देश्य लिएको पाइँदैन। नेपालको राजनीतिक हस्तक्षेप रोक्ने मात्रै चीनको नीति रहेको देखिन्छ।
सन् १९११ मा चीनमा जनक्रान्ति पश्चात पनि चीनको नेपाल प्रतिको दृष्टिकोण उस्तै छ र अहिले पनि चीनले भोटमा लिएको नीति र कार्यको नेपालबाट समर्थनको अपेक्षा गरेको छ। भोटमा चीनको स्वार्थमा नेपालले खलल नपारोस् र भोटलाई चीनको नियन्त्रणमा राख्न नेपालले सहयोग गरोस् भन्ने चाहना चीनका अधिकारीहरुले लिएका थिए र आज पनि छ।
नेपाल-भोट बीचमा अधिकांश तनावहरु भेटमा रहेका नेपालीहरुकै कारणबाट उत्पन्न भएको जिकिर कितावमा पाइन्छ। नेपालीहरुको मिचाहा नीति जस्तो भोटमा शिकार खेल्ने, मन्दिरमा धुम्रपान गर्ने, नेपाली वकिल तथा अधिकारीहरुले हरेक समय नेपालीहरुकै पक्ष लिने, नेपालीहरुले खोटा टक चलन गर्ने, अफिम जस्ता निषिद्ध वस्तुको ब्यापार गर्ने, भोटको जासुसी गर्ने तथा भोटबाट घुस लिने जस्ता कार्यबाट त्यहाँका जनता असन्तुष्ट थिए।
त्यसै कारण साना-तिना घटनाले पनि विकराल रुप लिएका थिए। नेपालको त्रुटिपूर्ण नीतिका कारण सन् १९५६ को सन्धिपछि नेपालीले ब्यापार अनुकुल वातारण गुमाउदै गए।
भोटमा रहेका नेपाली कार्यालयहरुमा विशेष गरी ल्हासास्थित वकिलको कार्यालय विशेष महत्वको रहेको कुरा लेखकले ब्याखा गरेको छ। भोट-नेपाल सम्बन्धको प्रमुख हर्ताकर्ता नै नेपाली वकिल हुन्थे।
उनीहरुकै सल्लाह र जाहेरी अनुसार नेपाल सरकारले भोटप्रतिको नीति अख्तियार गर्ने गर्दथे। नेपाली वकिलले भोट–अंग्रेज विवादमा महत्वपूर्ण सूचना प्रवाह गरेर सन् १९०३-०४ को अंग्रेज-भोट संघर्ष र सन् १९०८-१२ को चीन-भोट संघर्षमा मध्यस्थता गरी विवाद अन्त्य गराएका कार्यबाट नेपालीको छवि उठेको कुराहरु रोचक छन्।
अंग्रेजको भोटमा प्रवेश भएपछि त्यहाँ उनीहरुको प्रभाव वृद्धि हुँदै गयो। नेपालीहरुले भोटमा आफ्नो स्वार्थ मात्र हेरेको पाइँदैन। भोटको दुर्गम स्थानमा खाद्यान्न तथा अन्य आवश्यक वस्तु पुर्याएर स्थानीय बासिन्दाहरुको सेवा गरेको पाइन्छ।
भोटमा ब्यापारको जग बसाए र स्थानीय ब्यक्तिलाई तालिम समेत दिए। भोटको ब्यापारिक विकासमा महत्वपूर्ण योगदान गरेको देखिन्छ। बौद्ध धर्मको विकास र विस्तारमा नेपालीहरुको देन अविस्मरणीय देखिन्छ।
अन्त्यमा,
यसरी यो कृतिको चर्चा गरिरहँदा सबै विषयवस्तुलाई समाबेश गर्न असमर्थ छु, यसका लागि क्षमा चाहन्छु। प्राध्यापक मिश्रको कृति ‘भोटमा नेपाली’ पढिसकेपछि वर्तमान राजनीति र राजनीति गर्नेहरुको मति मध्येकालीन शासकको जति पनि नभएको देख्दा आधुनिक युगको शिक्षा र जनतामा देशभक्ति सकिँदै गएको भान हुन्छ।
इतिहासमा रुची र शोधकर्मीहरुको लागि अत्यन्तै उपयोगि र लाभदायी यो पुस्तक ६ अध्याय २२६ पृष्ठमा तयार पारिएको पुस्तक सबैले पढ्नै पर्ने अति उपयोगी र ज्ञान वद्र्धक छ।
पुस्तकमा उल्लेख गर्नै पर्ने कमी कमजोरी त छैन, त्यसमा पनि कमी-कमजोरी केलाउन सक्ने मेरो ल्याकत हुने कुरै भएन तथापी पुस्तक पढ्दै जाँदा गहिराईसम्मको तथ्यपूर्ण स्रोतको कमी देखिन्छ।
यस्तो हुनुमा लेखकको कमजोरी होइन, हाम्रो परम्परागत इतिहास लेखन प्रक्रिया नै कमजोर हो जस्तो लाग्छ। पुस्तकले उजागर गरेको कतिपय विषय र सवालहरुको खोज तथा अनुसन्धान गर्न बाँकी नै देखिन्छ।
आगामी पुस्ताले यसमा थप अनुसन्धान गरी सत्य-तथ्य बाहिर ल्याउनु नै पर्छ भन्ने लाग्छ । हाम्रा गौरवपूर्ण इतिहास, ज्ञान, सीप र प्रविधिलाई पुस्तान्तरमा यो कृतिले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा दुईमत छैन।
प्राथमिक स्रोतहरुको आधारमा लेखिएको र अनुसूचिमा उल्लेख भएका ऐतिहासिक सामग्री अनुसन्धान कर्ताका लागि असल खुराक हुन सक्छन्। यसको लागि लेखकलाई धन्यवाद दिनैपर्छ।
इतिहास विध, राजनीतिक विश्लेसक, अनुसन्धान विज्ञ तथा वहुआयमिक लेखकीय ब्यक्तित्व एवं बौद्धिक लेखन शिल्पी भएका प्रा.डा.मिश्रको पुस्तकले जिज्ञासु र बौद्धिक पाठकलाई बौद्धिक खुराक उपलब्ध गराउने पक्का छ।
अन्त्यमा यति सुन्दर ग्रन्थ पाठकलाई उपहार दिनुभएकोमा लेखकलाई हार्दिक धन्यवाद तथा बधाई दिन चाहन्छु। साथै लेखकीय कार्य निरन्तर अघि बढिरहोस्, मेरो शुभकामना।
Facebook Comment