कविता

शून्यतामा डुबेको मन

डिसी नेपाल
९ भदौ २०८० ७:१४

सुनसान साँझ एक तमासको शून्यतामा डुबेको मन
अँधेरी औंशीको निस्पट्ट कालो रात
कौसीको कुर्सी र पर्खालको साथमा
चकमन्न वरिपरिको माहौल
बर्षातको बेला झरिले रुझेका बिरुवा
झ्याउकिरीको सन्नटा चिर्दै निस्केको
किर्किर एकोहोरो आवाज
बिझेको मनमा दुखेका तिम्रा यादहरु
समेट्न भनी निस्केका आँखाका यात्राहरु
गन्तव्यहीन भएर आँशुको पोखरीमा डुबेछन्।

कसो कसोगरी मनको आँखी झ्याल
उघारी चियाउँदै थिए
टाढा क्षितिजमा जुनकीरी झै
पिल्पिल गर्दै चम्किए जस्तै
अनायसै तिम्रो यादले यसरी झस्कायो कि
तिमी मलाई खोज्दै खोज्दै आकाशको यात्रामा
टर्च बालेर निस्केकी छाै।
ताता आँशुले धुमिलिएका आँखामा
तिम्रो आकृति प्रष्ट देखे झै भ्रममा म
मलाई चिच्याउन मन लाग्यो
दायाँबायाँ नहेरी बेस्सरी चिच्याए
ए आमा! तिमी कता हिँडेको
बादलमाथि हवाई जहाज
धावनमार्गसङको सम्बन्ध टुटे झै।

ए आमा सुन त म यता कर्तब्यको
पथमा अडिग भएर उभिएको
सुनको पिंजडा भित्र लम्पसार
सायद आफ्नो पन निश्चल मन
सामुहिक रहनसहन ठूलाको आदर
सानाको माया, तिम्रो छाँया
धेरै कथा बोकेको छु तिम्रो अभावमा
सुनिदिनेको खडेरीले मौन सहमति
मेरा सपनाहरु र सम्बेदनाहरु रुवा झै उडेका छन्
र पनि म मेरो अस्तित्वमा अडिग छु
मेरो आफ्नै बिश्वासका पद्धति छन्
जुन म कुनै हालतमा टुट्न दिने छुइन।

तिमी बिनाका हर क्षण
उजाड र उराढ भएका छन्
तर तिम्रो संस्कार र स्कुलिङ
त्यति कमजाेर पनि त थिएन नि
जो जीवनबाट थाकोस्
र हार स्वीकार गरोस् नकि
जीवनले दिएका चोटहरु
चट्टान भै जो फोड्न नसकौंला
असन्तुष्टिमा कहिलेकाँही
जीवनका गहिराई र
मुल बाटाहरु भेटिन्छन नि
होइन त आमा?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *