आधारभूत स्वास्थ्य सेवा गाउँमा पुर्याउनुपर्छ : मन्त्री बस्नेत
काठमाडाैं। स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा गरेका लगानीहरु लक्षित समूदायमाझ पुर्याउन बिशेष ध्यान दिनुपर्ने बताएका छन्।
आइतबार काठमाडौंमा मेरो पोषणसाथी मोवाइल एपको शुभारम्भ गर्दै मन्त्री बस्नेतले अहिले पनि गरिवविपन्न बर्गहरु उपचार नपाएर वा उचित पोषण नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था रहेको भन्दै स्वास्थ्य क्षेत्रमा गरेका लगानीहरु लक्षित समूदायमाझ पुराउन बिशेष ध्यान दिनुपर्ने बताएका हुन्।
उनले सरकारले बनाएका राम्रा रणनीति र कार्ययोजना अलपत्र पार्ने परिपाटी बन्द नभएसम्म सरकारको ठूलो लगानी खेर जाने र नागरिकले प्रतिफल पनि नपाउने अवस्थाको अन्त्य हुन नसक्ने उल्लेख गरे।
आधारभूत स्वास्थ्य सेवा गाउँमा पुर्याउनुपर्ने कुरामा यसअघि पक्षपातपूर्ण व्यवहार गरिएको र अहिले तीन महिनामा धेरै सुधारका काम भएको उनले बताए।
मन्त्री बस्नेतले हरेक नागरिक रोगबाट पीडित नहुने गरी प्रभावकारी ढङ्गबाट सातै प्रदेशमा अभियानको रुपमा स्वास्थ्य सचेतनाका कार्य सञ्चालन गर्नुपर्ने जिकिर गरे।
उनले स्वास्थ्य, शिक्षा र खाद्यान्न जनताको नैसर्गिक अधिकार रहेकाले यसबाट वञ्चित गर्न नहुनेमा जोड दिए। मेरो पोषणसाथी मोवाइल एपमार्फत गर्भवती तथा सुत्केरीलाई घरमा भएको खानाको उपयोगबारे जान्न तथा महिलाले सम्पूर्ण जानकारी आफै लिनसक्ने व्यवस्था गरिएको छ।
Facebook Comment