झापामा (नेकपा) एकता प्रक्रियाः नेतृत्वमा दुवै दलको दावी

डिसी नेपाल
२९ साउन २०७५ ९:१५

बिर्तामोड । झापामा नेपाल कम्युनिष्ट पार्टी निर्माणको लागि काठमाडौमा सोमवारदेखि कार्यदलले छलफल प्रारम्भ गरेको छ । पूर्व एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको जिल्लाको संरचना बनाउने सन्दर्भमा कार्यदलमा रहेका रविन कोइराला, झलकसिंह दर्लाली, चिन्तन पाठक र विजय साम्पाङले छलफल शुरु भएको जानकारी दिएका छन् ।

पूर्व एमालेको झापा जिल्ला कमिटी ७८ सदसीय र माओवादी केन्द्रको ६५ सदसीय सचिवालय रहेको छ । दुई पार्टीको एकतापछि झापा जिल्ला कमिटी १ सय ७५ सदसीय बन्ने नेकपाका नेता शिव ढुङगेलले जानकारी दिए । एकतासँगै नेकपाको जिल्ला कमिटी बनाएर १ वर्षभित्र अधिवेशन गर्ने नीति केन्द्रले बनाएको छ ।

जिल्लाको कमिटी बनाउने विषयमा छलफल प्रारम्भ भएपनि दुवै पार्टीले नेतृत्व कसले गर्ने भन्ने बारेमा आन्तरिक छलफल समेत गरिरहेको स्रोतको भनाई छ । पूर्व एमाले र माओवादी केन्द्र दुवैले पार्टीको नेतृत्व गर्ने दावी गरिरहेका छन् । पूर्व एमालेका जिल्ला अध्यक्ष चिन्तन पाठकले नेकपाको नेतृत्व पूर्व एमालेबाटै हुने संकेत गरेका छन् । उनले झापामा पूर्व एमालेकै प्रभाव भएकाले सम्भावना बलियो भएको जिकिर गरे । छलफल भइरहेको छ,पाठकले भने,– छलफलबाटै यो विषय पनि टुङगो लगाउने छौं । उनले पार्टी अध्यक्षको गृह जिल्ला भएकाले पनि राजनीतिक हिसावले पनि एमाले नेताबाटै नेतृत्व हुनेछ,केन्द्रले मिलाएमा नेतृत्व स्विकार गर्नैपर्छ ।

यस्तै,पूर्व माओवादी केन्द्र झापाका संयोजक विजय साम्पाङले पनि आफुहरुले नै नेतृत्व दावी गर्ने जनाएका छन् । उनले पार्टी एकता भइसकेपछि सबैले उदार हुनुपर्ने तर्क गरेका छन् । केपी ओलीको गृह जिल्ला हो भन्ने सन्दर्भमा उनले थपे,–यहाँ ओली, चितवनमा दाहाल भनियो भने पार्टी एकताको मर्म सार्थक हुदैन । उनले पनि छलफल शुरु भइसकेकाले समाधान यहिबाट खोजिने बताएका छन् ।

पूर्व एमालेले भने जिल्लामा सदस्य थप गर्न नीति गरेको बुझिएको छ । नेकपाको जिल्ला कमिटीमा पूर्व जिल्ला सदस्य,जनवर्गीय संगठनका केन्द्रीय सदस्य,पार्टीका क्षेत्रीय कमिटीका पूर्व अध्यक्षहरु,स्थानीय तहका अध्यक्ष,उपाध्यक्ष,आवश्यकताको आधारमा समावेशी मिलाउने र १० प्रतिशित युवा सहभागीता गराउने नीति तयार भएको नेकपाका नेताहरुले जानकारी दिए । केन्द्रीय कमिटीको निर्णय अनुसार भदौ ५ सम्ममा जिल्ला कमिटी बनाउनु पर्ने भनिए पनि ५ दिन थप भएको परिपत्र आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *