महिलाको मस्तिष्कमा भेटियो जिउँदो कीरा, विश्वकै पहिलो केस, डाक्टर पनि चकित
काठमाडौं । अष्ट्रेलियामा ६४ वर्षीया महिलाको दिमागमा जिउँदो कीरा भेटिएको छ । यो संसारमा पहिलो पटक यस्तो घटना भएको बताइएको छ। आफ्नो करियरमा पनि यो पहिलो घटना भएको चिकित्सकहरु बताउँछन् ।
ती महिलामा निमोनिया, पेट दुख्ने, पखाला लाग्ने, सुख्खा खोकी लाग्ने, ज्वरो आउने, राति पसिना आउने जस्ता लक्षण देखिएको थियो । सन् २०२१ देखि डाक्टरहरूले उनको स्टेरोइड र अन्य औषधिले उपचार गरिरहेका थिए।
सन् २०२२ मा महिलामा डिप्रेसन र भुल्ने लक्षण पनि देखिन थालेका थिए । त्यसपछि डाक्टरहरूले उनको मस्तिष्कको एमआरआई स्क्यान गरे, जसमा केही गडबडीहरू पत्ता लाग्यो। त्यसपछि शल्यक्रिया गर्न सल्लाह दिइयो। तर पछि थाहा भयो मस्तिष्कमा जिउँदो कीरा छ ।
न्युयोर्क पोस्टले द गार्डियनलाई उद्धृत गर्दै लेखेअनुसार क्यानबेराका संक्रामक रोग विशेषज्ञ डाक्टर सञ्जय सेनानायकेले भने, “न्युरोसर्जनले शल्यक्रिया गरेनन् किनभने उनले घस्रने कीरा भेट्टाए।” सर्जनले उनलाई बोलाएर ‘हे भगवान’ भनेपछि सेनानायके छक्क परे । ती डाक्टरले भनेका थिए “मैले यी महिलाको दिमाग भित्र जे फेला पारें तपाई पत्याउनुहुन्न। यो जीवित छ।”
सर्जिकल टोलीले भेटेको तीन इन्च लामो चम्किलो रातो परजीवी राउन्डवर्म थियो जसलाई वैज्ञानिकहरूले ओफिडास्करिस रोबर्टसी भनेर चिन्छन्। महिलाको दिमागमा यो किरा घुमिरहेको थियो । यो महिलामा भेटिनु पनि अनौठो छ किनभने यो सामान्यतया सर्पमा पाइन्छ, मानिसमा होइन। यो विशेष प्रकारको राउन्डवर्म कार्पेट पाइथनमा पाइन्छ । यो सर्प अष्ट्रेलिया, इन्डोनेसिया र पपुवा न्यू गिनीमा पाइन्छ।
सर्पमा भेटिने कीरा महिलाको शरीरमा कसरी पुग्यो भन्ने चिकित्सकले बुझेका छैनन् । सर्पसँग उनको प्रत्यक्ष सम्पर्क थिएन तर उनको घर नजिकैको पोखरीमा धेरै सर्पहरू छन् । महिलाले खाएको पालकजस्ता खानेकुरामा कीराको अण्डा आएको हुनसक्ने विज्ञहरुको अनुमान छ । महिलाले खानाका लागि पालक हुर्काउने गरेकाले त्यसमा कीराको अण्डा भएको हुनसक्ने अनुमान गरिएको छ ।
यस परजीवी संक्रमणको पहिले मानवमा उपचार गरिएको थिएन, त्यसैले लक्षणहरूको उपचार गर्न डाक्टरहरूले महिलालाई धेरै महिनासम्म सावधानीपूर्वक औषधिहरू दिनुपर्ने थियो। डा सेनानायकेले भने, ‘ती बिरामी धेरै साहसी र अद्भुत छिन् । उनी सर्पमा पाइने राउन्डवर्म्सको निदान गर्ने संसारको पहिलो बिरामी हुन् र हामी उनको आत्मालाई साँच्चै सलाम गर्छौं। “
Facebook Comment