चन्द्रयान-३ : चन्द्रमाको सतहमा अक्सिजनसहित धेरै पदार्थ भेटिए
काठमाडौं । चन्द्रयान-३ को रोभरमा रहेको उपकरणबाट इसरोले धेरै महत्त्वपूर्ण जानकारी पाएको छ। इसरोका अनुसार चन्द्रमाको दक्षिणी ध्रुवमा सल्फर, अक्सिजनलगायत धेरै पदार्थको उपस्थिति पुष्टि भएको छ ।
इसरोले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै भनेको छ, “प्रारम्भिक विश्लेषणले चन्द्रमाको सतहमा एल्युमिनियम, सल्फर, क्याल्सियम, फलाम, क्रोमियम र टाइटेनियमको उपस्थिति पुष्टि गरेको छ।”
इसरोले थप अनुसन्धानले त्यहाँ म्याग्नीज, सिलिकन र अक्सिजनको उपस्थिति पत्ता लगाएको बताएको छ। हाइड्रोजनको उपस्थितिबारे अनुसन्धान भइरहेको छ ।
यसअघि चन्द्रमाको दक्षिणी ध्रुवमा पठाइएको भारतको चन्द्रयान मिशनको रोभर ‘प्रज्ञान’ले पृथ्वीमा बसोबास गर्ने मानिसलाई सन्देश पठाएको थियो ।
यो सन्देशमा प्रज्ञानले आफू र आफ्नो साथी विक्रम (ल्यान्डर) दुवै अहिले ठीक रहेको बताएको थियो ।
अगस्ट २३ मा भारतले चन्द्रयान–३ मिशनलाई चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेर इतिहास रच्यो । भारत दक्षिण ध्रुवमा अवतरण गर्ने पहिलो देश हो।
Facebook Comment