रामेछापको केउरीनी बिर्ता गाउँ : पहिरो झर्दै बस्ती सर्दै
रामेछाप। रामेछापको लिखु तामाकोसी गाउँपालिका–६ खिम्तीको केउरीनी बिर्ताका दीपक श्रेष्ठको घर निर्माण पूरा हुन नपाउँदै पहिराको उच्च जोखिममा पर्यो। उनी अहिले उक्त घरमा बस्ने /नबस्ने अन्योलमा परेका छन्।
केउरीनी बिर्ता गाउँलाई घेरेर यसअघिदेखि नै पहिरोको जोखिम थियो। त्यहीँ स्थानमा अन्य छिमेकी पनि बसोबास गर्दै आएकाले श्रेष्ठले पनि दुई वर्षअघि त्यहीँ ठाउँमा भूकम्पबाट प्राप्त हुने अनुदानको घर बनाए।
उनले भने, “घरपूरै तयारी गर्नै बाँकी छ । पहिराको उच्च जोखिममा पर्योे । बाँकी रहेको काम गर्ने कि नगर्ने भन्ने कुरामा अन्योलमा छु। ” झ्यालढोका र ‘प्लास्टर’को कामै बाँकी रहेको बेला उनलाई यो आपत् आइलाग्यो।
केउरिनी बिर्तामा श्रेष्ठको मात्र होइन, अधिकांशको घरमा धाँजा परेको छ। पहिराले थाहै नपाउने गरी बस्ती नै सरिरहेको स्थानीय ज्येष्ठ नागरिकवासी गणेशबहादुर श्रेष्ठले बताए।
उनका अनुसार माथिल्लो कान्लामा भएका रुख, बिरुवा तल्लो कान्लामा लर्केर पुगेका छन्। एउटै गह्रो जमिन दुईवटा गह्रोझँै तलमाथि भएका छन्। धेरै ठाउँमा धाँजा फाटेको छ।
“जमिन फुटेको र सरेको थाहा पाएर पनि स्थानीय जोखिममै बसेका छौँ”, उनले भने, “अन्यत्र जग्गा जमिन नभएको र किनेर जाँदा कृषि तथा पशुपालनको समस्या हुने भएकाले पहिराले घेरा हालेको क्षेत्रमै यस गाउँमा ४० परिवारको बसोबास छ।”
सो ठाउँमा विसं २०५१ देखि पहिराले गाउँ धसिएर बग्न लागेको हो। त्यसयता हरेक वर्ष केही न केही भाग झरिरहेको छ । गाउँभन्दा तल तिल्पुङ खोलातर्फबाट पहिराले माथिको जमिन तानिरहेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापका मन्त्री तथा स्थानीय दुर्गाबहादुर श्रेष्ठले बताए।
“जहाँबाट पहिरो बग्न थाल्यो त्यहाँ नियन्त्रणको उपाय नै छैन”, उनले भने, “कुन दिन गाउँनै बग्ने हो टुङ्गो छैन, अहिलेसम्म त बस्तीमात्र सरिरहेको छ ।”
वर्षायाममा स्थानीय हरेक दिन आफ्नो घरआँगनको चिरा जाँच गर्छन्। “आज यति बढेछ र भोलि यति भएछ भन्दै यतिका वर्ष बिते”, बिर्ताका चक्रबहादुर श्रेष्ठले भने, “सधैँ जोखिममा बसेर चिन्ता गर्नुभन्दा बाहिरै गएर बस्नु राम्रो ।”
उनले दुई वर्षअघि नै सुरक्षित स्थानमा जग्गा खोजेर वासस्थान सारेका छन्। पहिराको निशाना भएपछि उहाँलगायत हालसम्म छ जनाले बासस्थान सुरक्षित स्थानमा सारेका हुन्। तर उनीहरूको बसाइ पनि सुरक्षित स्थानमा छैन। कुन बेला झुक्याउने हो । उनी भन्छन्, “नयाँ बनाएको स्थानमा घरमात्र भएकाले त्यहाँ गइहाल्न पनि मन छैन, आनन्दले बस्न यता पनि सकिएको छैन।”
खिम्तीको केउरीनी बिर्ता गाउँ नै जोखिममा परेपछि हरेक वर्ष जिल्ला विपद् व्यवस्थापन समितिमा चर्चा हुने गरेको छ। तर स्थानीय बासिन्दालाई सार्ने विषयमा अहिलेसम्म कुनै निर्णय भने भएको छैन। आपूmखुुसी थातथलो छाडेर हिँड्नेबाहेक राज्यले अरुलाई विपद्जन्य स्थानबाट हट्नका लागि सूचनासम्म दिएको छैन।
तत्कालीन प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडी केउरिनीको पहिरो प्रभावित गाउँ पुगेका थिए। जमिन धसिएको र जताततै धाँजा फाटेको देखेपछि उनले स्थानीय जनप्रतिनिधिलाई सुरक्षित जग्गाको खोजीका लागि आग्रह गरेका थिए। तर उनको आग्रह स्थानीय जनप्रतिनिधिले खासै चासो गरेनन्, चासो गर्दा पनि उहाँहरूको पहुँचबाट बस्ती सार्ने कुरा सम्भवनै भएन।
यहाँको पहिरो क्षेत्रमा पुगेका सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापका तत्कालीन आयोजना प्रमुख सुरेशकुमार वाग्लेले सरकारले विपदमा परेका परिवारलाई सुरक्षित स्थानमा बसोबास गराउनका लागि कार्यक्रम सञ्चालन गर्दै आएको बताए।
उनले जग्गाको पहिचान र जोखिम क्षेत्रबाट उठ्नका लागि स्थानीयहरू राजी भएर आएमा सरकारले बिर्तामा बस्ती विकास कार्यक्रम सञ्चालन गर्न कठिनाइ नहुने जनाए।
सोहीबमोजिम गत वर्ष सहरी विकास मन्त्रालयले बिर्ताका ३९ परिवारलाई बसोबास गराउनका लागि जग्गा अधिग्रहण गर्न कार्यक्रम दिएको थियो तर स्थानीय बासिन्दाले जग्गाको व्यवस्थापन गर्न नसक्दा कार्यक्रम फिर्ता गएको छ। जग्गा अधिग्रहणसँगै पूर्वाधार निर्माणका लागि आएको रु एक करोडको कार्यक्रम पनि हुन नसकेको सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापले जनाएको छ।
मन्त्रालयले चालु आर्थिक वर्षमा पनि यहाँको जोखिम क्षेत्रमा बसोबास गर्ने ३९ परिवारलाई जग्गा व्यवस्थापनका लागि रकम विनियोजन गरेको आयोजना प्रमुख प्रभाकरलाल कर्णले बताएका छन्। उनका अनुसार यो वर्ष पर्याप्त बजेट भने छैन । स्थानीय बासिन्दाले जग्गाको व्यवस्थापन गर्न सकेमा थप बजेट तथा कार्यक्रम माग्न सकिन्छ।
केउरिनी बिर्तामा नजिकै सुरक्षित स्थानमा जग्गा दिन स्थानीय राजी छन् । वडाध्यक्ष शिवप्रसाद न्यौपानेले अब ३९ परिवारका लागि पुग्ने जग्गा व्यवस्थापन गर्न स्थानीय सरकारले प्राथमिकता दिएर काम गर्ने बताए। उनले खिम्तीमा अन्य ३४ परिवार पनि जोखिम क्षेत्रमा बसोबास गर्दै आएको बताए।
भू–क्षयको दृष्टिले अति संवेदनशील क्षेत्रमा बसोबास गर्ने परिवारलाई वडाले जोखिमजन्य भनेको छ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले घर निर्माणका लागि अनुदान दिएर घर बनाएका कतिपय परिवारको पहिराले घर बगाएपछि फेरि सुरक्षित स्थान खोजेर घर बनाउनुपरेको छ। यो क्षेत्र र खिम्तीबजार क्षेत्र बाढीजन्य क्षेत्रमा पर्दछ।
स्थानीयवासी गणेश दाहालले यस्तो जोखिमयुक्त बस्तीलाई सम्बन्धित निकायले बेलैमा चासो गरेर धनजनको क्षति हुनबाट रोक्नुपर्ने बताए।
Facebook Comment