कपाल देखिएको आरोपमा १४ जना किशोरीको कपाल मुण्डन गरियो
काठमाडौं । मुस्लिम बाहुल्य देश इन्डोनेसियामा हिजाब राम्ररी नलगाएको भन्दै १४ मुस्लिम किशोरीको कपाल खौरिएको छ । यो घटना हो इन्डोनेसियाको एउटा स्कुलको जहाँ छात्रालाई गलत तरिकाले हिजाब लगाएको आरोप लगाएपछि कपाल खौरिएको थियो । सोमबार विद्यालयका प्रधानाध्यापकले घटनाबारे जानकारी दिए ।
समाचार एजेन्सी एएफपीको एक रिपोर्ट अनुसार, मानव अधिकार कार्यकर्ताहरू भन्छन् कि २७ करोड जनसंख्या भएको देशको रूढीवादी क्षेत्रहरूमा मुस्लिम र गैर-मुस्लिम केटीहरूलाई वर्षौंदेखि हिजाब लगाउन बाध्य पारिएको छ। इन्डोनेसियामा सन् २०२१ मा धार्मिक ड्रेस कोडमाथि प्रतिबन्ध लगाइएको थियो । तर, अझै पनि धेरै क्षेत्रहरूमा केटीहरू यस प्रकारको ड्रेस कोड पालना गर्न बाध्य छन्।
यो घटना पूर्वी जाभाको लामोनगान सहरको सरकारी जुनियर हाई स्कूल एसएमपीएन १ को हो, जहाँ बुधबार एक शिक्षकले १४ जना केटीहरूले राम्रोसँग हिजाब नलगाएको गुनासो गरे। त्यसपछि शिक्षकको आदेशमा १४ जना किशोरीको कपाल काटियो । विद्यालयका प्रधानाध्यापक हर्तोले घटनाप्रति विद्यालयले माफी मागेको र शिक्षकलाई निलम्बन गरेको बताए ।
उनले कपाल काटिएका छात्राले हिजाबभित्र लगाउने टोपी नलगाएको कारण कपाल देखिने गरेको बताए ।
हर्तोले भने, ‘विद्यार्थीहरूले हिजाब लगाउनु पर्ने बाध्यता छैन, तर विद्यालयमा सफा देखिन हिजाबभित्र लगाएको टोपी लगाउन सल्लाह दिइयो। कपाल काटेकोमा हामीले छात्राका अभिभावकसँग माफी मागेका छौं र मध्यस्थतापछि हामीबीच सहमति भएको छ ।
यस घटनाले छात्राको मानसिक स्वास्थ्यमा असर पार्न सक्ने भन्दै विद्यालयले छात्रालाई मनोवैज्ञानिक सहयोग गर्ने बताएको छ ।
इन्डोनेसियाका मानव अधिकार समूहहरूले शिक्षकलाई बर्खास्त गर्न माग गरेका छन्। ह्युमन राइट्स वाचका इन्डोनेसियाका अनुसन्धानकर्ता एन्ड्रियास हर्सोनोले एक विज्ञप्तिमा भनेका छन्, “लामोनगानको मामला इन्डोनेसियामा अहिलेसम्मकै सबैभन्दा डरलाग्दो केस हो।”
उनले थप भने, ‘कुनै पनि शिक्षकलाई आफ्ना छात्राको कपाल काट्न दिइँदैन । लामोनगानको शिक्षा कार्यालयले यी शिक्षकलाई कारबाही गर्नुपर्छ, कम्तिमा विद्यालयबाट हटाउनुपर्छ । यस घटनाबाट पीडित छात्राहरु आघातमा परेकाले उनीहरुका लागि मनोवैज्ञानिक नियुक्त गरिनुपर्छ ।
ह्युमन राइट्स वाचले २०२१ को प्रतिवेदनमा केही विद्यालयका छात्राहरूले हिजाब राम्रोसँग नलगाएको कारण कपाल काटिएको बताएको थियो। कतिपयलाई हिजाब नलगाएको कारण सजाय र स्कूलबाट निलम्बित गरिएको थियो।
इन्डोनेसियामा छवटा प्रमुख धर्मलाई मान्यता दिइएको छ तर मुस्लिम बाहुल्य देशमा धार्मिक असहिष्णुता बढ्दै गएको छ।
सन् २०२१ मा पश्चिम सुमात्राको एक विद्यालयले एक क्रिस्चियन विद्यार्थीलाई हिजाब लगाउन दबाब दिएको थियो । बारम्बार आग्रह गर्दा पनि छात्राले हिजाब लगाउन अस्वीकार गरेपछि विद्यालय प्रशासनले अभिभावकलाई बोलायो ।
अभिभावकले अधिकारीसँगको भेटमा भएको कुराकानीको गोप्य रूपमा भिडियो खिचेर सामाजिक सञ्जालमा भाइरल बनाए । भिडियो भाइरल भएपछि यो विषयले इन्डोनेसियामा आगो लगाएको थियो ।
भाइरल भिडियोमा विद्यालयका अधिकारीहरूले विद्यालयको नियमअनुसार मुस्लिम र गैरमुस्लिम सबै छात्राहरूले हिजाब लगाउन अनिवार्य भएको बताएका छन् ।
यस विषयमा स्कूल र इन्डोनेसियाको सरकारले धेरै आलोचनाको सामना गर्नुपरेको थियो, त्यसपछि फेब्रुअरी २०२१ मा इन्डोनेसियाका विद्यालयहरूमा अनिवार्य रूपमा धार्मिक पोशाक लगाउन रोक लगाइएको थियो।
Facebook Comment