‘जवान’ रिलिजअघि वैष्णोदेवी पुगे शाहरुख खान

डिसी नेपाल
१४ भदौ २०८० १३:२३

काठमाडौं । फिल्म ‘जवान’ रिलिज हुनुअघि बलिउड अभिनेता शाहरुख खान जम्मू–कश्मीरको कटरास्थित वैष्णोदेवी पुगेका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार शाहरुख खान मंगलबार राति वैष्णोदेवी मन्दिर दर्शन गर्न पुगेका थिए ।

अधिकारीका अनुसार उनी मंगलबार कटरा आधार शिविर पुगेका थिए र त्यहाँबाट करिब ११.४० बजे मन्दिरको दर्शन गरेर तुरुन्तै फर्केका थिए।

पीटीआईका अनुसार सामाजिक सञ्जालमा शाहरुखको वैष्णो देवी यात्राको क्लिप पनि भाइरल भइरहेको छ, जसमा उनी प्रहरी र केही कर्मचारीसँग हिँडेको देखिन्छ ।

शाहरुख पछिल्लो नौ महिनामा दोस्रो पटक वैष्णोदेवीको दर्शन गर्न आएका छन् । यसअघि उनी आफ्नो फिल्म ‘पठान’ रिलिज हुनुअघि डिसेम्बरमा मन्दिर आएका थिए ।

‘जवान’ रेड चिलीज इन्टरटेनमेन्टको प्रोडक्सन हो र एटलीले निर्देशन गरेका हुन्। शाहरुख खानकी पत्नी गौरी खान यसको निर्माता हुन् भने गौरव वर्मा सह-निर्माता हुन्।

जवान हिन्दी, तमिल र तेलुगु भाषामा सेप्टेम्बर ७ मा विश्वभरका थिएटरहरूमा रिलिज हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *