इमरान खानले गोप्य कागजातसँग सम्बन्धित मुद्दाको सुनुवाइलाई उच्च अदालतमा चुनौती दिए

डिसी नेपाल
१४ भदौ २०८० १३:४२

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले गोप्य कागजातसँग सम्बन्धित मुद्दामा जेलमा भएको सुनुवाइलाई इस्लामावाद उच्च अदालतमा चुनौती दिएका छन् ।

बुधबार हाईकोर्टमा दायर गरिएको याचिकामा इमरान खानले आतङ्कवाद विरोधी अदालतमा अफिसियल सीक्रेट एक्टसँग सम्बन्धित मुद्दाको सुनुवाइलाई पनि चुनौती दिएका छन् ।

यो याचिका इमरानको तर्फबाट उनका वकिल अफजल मारवतले दायर गरेका हुन् । निवेदनमा यस मुद्दाको सुनुवाइ सार्वजनिक रूपमा गर्न माग गरिएको छ। सार्वजनिक रुपमा सुनुवाइ हुन नसकेमा ‘इन क्यामेरा’ ट्रायल हुनुपर्ने पनि निवेदनमा भनिएको छ ।

यसअघि बुधबार पाकिस्तानको विशेष अदालतले पूर्वप्रधानमन्त्री इमरान खानको हिरासत अवधि १४ दिन थप गरेको थियो । इमरान खानलाई गोप्य कूटनीतिक कागजातमा रेकर्ड गरिएका कुराहरूको दुरुपयोग गरेको आरोप छ।

अदालतले यस विषयमा सुनुवाइ गरेको हो । इमरान खानमाथि राजनीतिक लाभका लागि अमेरिकाका लागि पाकिस्तानी राजदूतले पठाएको गोप्य सूचना चुहावट गरेको आरोप छ।

गत वर्ष प्रधानमन्त्री पदबाट हटाइएपछि इमरान खानले आफूलाई हटाउनु पाकिस्तानी सेना, उनका राजनीतिक प्रतिद्वन्द्वी र अमेरिकाको संलग्नता रहेको षड्यन्त्र भएको आरोप लगाउँदै आएका छन् ।

तर, सबैले यो आरोपलाई अस्वीकार गर्दै आएका छन् । अदालतको पछिल्लो आदेशको एक दिनअघि अर्को अदालतले इमरान खानलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको आदेशलाई निलम्बन गरेको थियो ।

इमरान खानले आफूमाथि लगाइएका सबै आरोप राजनीतिबाट प्रेरित रहेको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *