मुलुकको आर्थिक क्षेत्रबाट निराश हुनुपर्ने अवस्था छैन : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको आर्थिक क्षेत्रबाट निराश हुनुपर्ने अवस्था नरहेको बताएका छन् ।
इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनमिक रिसर्चले बिहीबार काठमाडौँमा आयोजना गरेको साना राष्ट्रको क्षमता ः नेपालमा प्रतिष्पर्धाको परख र विदेश नीतिको प्राथमिकता विषयक कार्यक्रममा कोरोना महामारी र अन्तराष्ट्रिय परिवेशका कारण केहि प्रभाव परेपनि आर्थिक क्षेत्रबाट निराश हुनुपर्ने अवस्था नरहेको बताएका हुन् ।
उनले नीतिगत निर्णय परिपक्वका साथ नगर्दा आर्थिक क्षेत्रमा समस्या आएपनि सकारात्मक सम्भावनाहरु रहेको जिकिर गरे । मन्त्री महतले मुलुकमा सम्भावना नै नरहेको भन्दै नकारात्मक सोच राख्दा आत्मबल कमजोर हुने जिकिर गरे । आर्थिक बिकास र रोजगारी सिर्जनाको प्रचुर सम्भावना भएकाले यसलाई सदुपयोग गर्ने भन्नेमा सवैले जोड दिनुपर्ने उनको भनाइ छ ।
त्यस्तै पूर्वअर्थमन्त्री एवं माओवादी केन्द्रका नेता जनार्दन शर्माले नेपालमा जोखिमपूर्ण अवस्थामा लगानी गर्न हिचकिचाउने गर्दा लगानी भित्रन नसकेको बताए । उनले आर्थिक कुटनीतिका कारण बिभिन्न देशले नेपालमा लगानी गरेको भन्दै लगानी प्रयासलाई बलियो बनाउनुपर्ने धारणा राखे । शर्माले अर्थकुटनीतिक कमजोर हुँदा पनि लगानीमा समस्या देखिएको राज्यले यसमा बिशेष ध्यान दिनुपर्ने बताए
त्यस्तै पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले मुलुकको आर्थिक क्षेत्रमा चालू आर्थिक बर्ष निकै कठिन हुने देखिएको बताए । विदेशी ऋण भन्दा पनि आन्तरिक ऋण बढ्नुले आगामी दिनमा आर्थिक क्षेत्रमा चूनौति देखिन सक्ने उनको भनाइ छ ।
उनले छिमेकी मुलुक चीन र भारतको विकासबाट नेपालले पनि फाइदा लिन सक्नुपर्नेमा जोड दिए ।
Facebook Comment