नासाले रुसको लुना-२५ दुर्घटना भएको ठाउँ देखायो
काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा रहेको रुसी स्याटेलाइट लुना–२५ दुर्घटनाग्रस्त भएको स्थानको तस्विर सार्वजनिक गरेको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार लुना–२५ दुर्घटना भएको ठाउँमा १० मिटर चौडा क्रेटर बनेको छ । नासाले सेयर गरेको तस्विरमा चन्द्रमाको सतहमा क्रेटर जस्तो आकार देखिन्छ ।
पछिल्लो ४७ वर्षमा रुसले चन्द्रमामा मिसन पठाएको यो पहिलो पटक हो । लुना–२५ चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्नुभन्दा एक दिनअघि १९ अगस्टमा दुर्घटना भएको थियो ।
प्राविधिक कारणले यो दुर्घटना भएको हो । चन्द्रमामा बनेको यो नयाँ क्रेटर करिब १० मिटर चौडा रहेको नासाले जनाएको छ ।
नासाको विज्ञप्ति अनुसार नयाँ क्रेटर देखिने ठाउँ दुर्घटना स्थलको एकदमै नजिक छ। चन्द्रमामा नजर राख्ने अर्बिटरले यो तस्विर खिचेको हो ।
प्राकृतिक कारणले नभई लुना–२५ दुर्घटनाका कारण खाडल बनेको हुनसक्छ । लुना–२५ दुर्घटना भएको चार दिनपछि भारतले चन्द्रयान–३ चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको छ ।
Facebook Comment