गौर राजनीतिक घटनाको रहस्य

विजयप्रसाद मिश्र
१९ भदौ २०८० १०:१२

२०६३ चैत ७ गते गौर घटना भयो। जसमा माओवादीहरुले क्यान्टनमेन्टमा बसिरहेका केही युवा युवतीलाई वाइसीएलको नाममा गौरमा शैन्य प्रदर्शन गर्न झिकाइएका मध्ये २७ जनाको स्थानीय नागरिकको प्रतिकारमा हत्या भएको थियो।

स्थानीय मधेसी नागरिकहरुले खोजी खोजी माओवादीको कम्ब्याड पोशाक लगाउनेहरुलाई निशाना बनाएका थिए। माओवादीको कब्व्याड पोशाकप्रति मधेसले किन आक्रोश देखायो? यसको रहस्य के हो? हिजोआज उक्त घटनालाई प्रभु साहले किन उछाली रहेका छन् ?

घटनाको मूख्य योजनाकार को ? सरकारले अहिले आएर यस घटनामा किन चाँसो लिएको छ ? यिनै विषयमा केन्द्रित रहेर यहाँ विश्लेषण गरिएको छ ।

वि.सं. २०५४ सालमा मधेसी जनअधिकार फोरमको विराटनगरको महेन्द्र मोरङ क्याम्पसको दक्षिण तर्फ तत्कालिन अवस्थामा रहेको आँपको बगैचामा उपस्थित भएर एउटा कापीमा माइन्यूट गरेर विधिवत रुपमा गठन गरिएको थियो। मधेसी बामपन्थी बुद्धिजीवीको रुपमा चिनिएका उपेन्द्र यादवलाई अध्यक्ष बनाइएको थियो।

मधेसी जनअधिकार खोल्नु पर्दछ भनेर विभिन्न चरणमा सक्रिय रहेका तर पहिलो वैठकमा नबोलाइएका बरीष्ठ पत्रकार रामरिझन यादवका अनुसार उहाँलाई पनि गठनको बेला बोलाउने कुरा थियो। तर भूमिगत अवस्थामा रहेको माओवादीका केन्द्रीय सदस्यको उपस्थितिमा वैठक भएकोले गोपनीयताका लागि रामरिझन यादवलाई बोलाइएन।

मधेसी जनअधिकार फोरमको पहिलो वैठकको व्यवस्थापन गर्न जिम्मेवारी पाएका वा भनौ देशभरबाट बामपन्थी मधेसी बुद्धिजीविहरु र माओवादीका केन्द्रिय प्रतिनिधिको उपस्थितिका लागि व्यवस्थापन गर्न जिम्मेवारी पाएका महेन्द्र मोरङ क्याम्पसको दक्षिणतर्फ घर रहेका टंक गिरीले पहिलो बैठकलाई गोप्य ढंगले स्थानीय प्रशासनले सुइको नपाउने गरी सम्पन्न गर्न सफल भएका थिए।

गिरीकै घर नजिकैको आँप बगैंचामा बैठक राखिएकोले उहाँको जिम्मेवारी अलि बढी थियो। उपेन्द्र यादव मधेसीहरुको हक अधिकार प्राप्तिका लागि मधेसी जनअधिकार फोरमका अध्यक्ष भएका थिए। तर माओवादी आफू यसलाई आफ्नो भातृसंगठन नै बनाउन चाहन्थ्यो।

माओवादीले सिलिगुडीमा मधेसी जनअधिकार फोरमलाई मधेसी राष्ट्रिय मुक्ति मोर्चामा रुपान्तरण गरेर अघि बढ्न चाहेको थियो। जसको अध्यक्षमा उपेन्द्र यादवलाई नै राख्ने प्रयास माओवादीले धेरै गरेको थियो। उपेन्द्र यादवलाई सिलिगुडी बोलाइएको थियो। तर उहाँ जानु भएन।

उहाँ मधेसी जनअधिकार फोरमलाई माओवादीको पकेकको भन्दा सम्पूर्ण मधेसीको साझा थलो बनाउन चाहनु हुन्थ्यो। त्यसवेला मोवाइलको सुविधा नभएको र भूमिगत रुपमा रहेको माओवादीले सहज रुपमा उपेन्द्र यादवसँग सम्पर्क गरेर उहाँको मनसाय बुझ्न सकेन र माओवादीहरुले मधेसी राष्ट्रिय मुक्रि मोर्चा गठन गर्दा अध्यक्षको पद उपेन्द्र यादवको लागि खाली राखेर उपाध्यक्षलगायत अन्य पदहरु चयन गरेको थियो।

उपाध्यक्षमा महेन्द्र पासमानलाई चयन गरिएकोले उनी कार्यवाहक अध्यक्षको रुपमा काममा लागे। यता उपेन्द्र यादवले माओवादीसँग कित्ताकाट गरेर मधेसी जनअधिकार फोरमलाई अलग संस्थाको रुपमा मधेसीहरुको आत्मसम्मान, पहिचान र राज्यको सबै निकायमा जनसंख्याको आधारमा मधेसीको प्रतिनिधित्व हुनुपर्दछ भन्ने अभियान चलाउने विभिन्न गोष्ठी सेमिनार र पुस्तक प्रकाशनका कामहरु गर्न थाल्नु भयो।

माओवादीले मधेसी राष्ट्रिय मुक्ति मोर्चा बनाएपछि मधेसी जनअधिकार फोरममा रहेका माओवादीका सबै सदस्यहरुले फोरम छोडे। त्यसको लगतै संयुक्त जनमोर्चा नेपालबाट मधेसी जनअधिकार फोरमको केन्द्रीय सदस्य रहेका रामरिझन यादव लगायतले उपेन्द्र यादवलाई छोडेर आफ्नो छुट्टै मोर्चा बनाए।

शुरुमा बामपन्थी मधेसी बुद्धिजीविहरुको मात्रदेखिएको फोरमलाई प्रजातन्त्र पक्षधर मधेसी बुद्धिजीविहरुलाई पनि समावेश गर्ने क्रम शुरु भयो। सप्तरीका रामदुलार साहलगायत केही यूवाहरु राजविराजबाट साइकलमा चढेर उपेन्द्र यादवलाई भेटन विराटनगर गएका थिए।

उहाँहरुबीचको सल्लाहले राजविराजमा मधेसी जनअधिकार फोरमको महाधिवेशन राखियो। त्यसमा उपेन्द्र यादव अध्यक्ष हुनुभयो र महासचिबमा रामदुलार साहलाई चयन गरियो। र अन्य सबै पदहरु भरियो र मधेसी जनअधिकार फोरमलाई नयाँ जीवन दिइयो।

यहीँबाट माओवादीहरु उपेन्द्र यादवसँग रुष्ट भए। मातृका यादव, प्रभु साहहरु मधेसमा उपेन्द्र यादवलाई अघि बढ्न दिन चाहँदैनथे।
माओवादीसँग शुरुमै शंका गरेका उपेन्द्र यादवले अन्तरिम संविधान २०६३ जारी भएपछि झसंग भए।

उनले माओवादीले आफूलाई उपयोग गरेको कुरा स्पष्ट रुपमा बुझेपछि उनीहरुसँगको साँठगाँठ छोडेर माइतीघर मण्डलामा अन्तरिक संविधान जलाए। माओवादीको आड पाएर गिरिजाप्रसाद कोइरालाले उपेन्द्र यादवलगायत आन्दोलनमा संलग्न एक दर्जनलाई सार्वजनिक अपराधको मुद्दा लगाएर प्रहरी हिरासतमा राखे।

उनीहरुको रिहाइको लागि मधेसभर आन्दोलन भयो। यही आन्दोलनको क्रममा २०६३ माघ ५ गते लहानमा राजमार्गमा चक्का जाम गरेर बसेका मधेसी जनअधिकार फोरमको आनदोलनलाई विफल पार्न माओवादी नेता राम कार्कीको नेतृत्वमा आएको एउटा स्कारपियो र दुईवटा मिनि बसमा हरियार र बमबारुद सहित रहेका माओवादीहरुले हवाइ फायर गरेर आन्दोलनकारीलाई तर्सार बाटो क्लियर गर्न खोजे।

स्थानीय नागरिकले प्रतिकार गरेपछि राम कार्की त उदयपुर तर्फ भागे। तर एक माओवादी कार्यकर्ताले फोरमका केन्द्रीय सदस्य कृष्णबहादुर यादवलाई ताकेर चलाएको गोली संजोगले अगाडी परेका स्कूले विद्यार्थी रमेश महतोलाई लाग्न पुग्यो र उनको घटनास्थल मै मृत्यु भयो।

राति मातृका यादवले क्यान्टनमेन्टमा बसेका माओवादी लगाकुहरु ल्याएर लहानमा राजमार्गमा लाश सहित बसेका मधेसी जनअधिकार फोरमका नेता कार्यकर्ता र समर्थकहरुले कुटेर रमेश महतोको लाश मातृका यादवले लुटेर लगे।

लहान घटना पछि माओवादी र मधेसी जनअधिकार फोरम आमनेसामने भयो। मधेसी जनअधिकार फोरमको कार्यक्रम जहाँ जहाँ गरिन्थ्यो त्यहाँ त्यहाँ माओवादीले विथोल्ने काम गरिरहेको थियो।

माओवादीले यही रणनीति गौरमा पनि लागू गरेकोले मधेसी नागरिक सहनुको पनि पराकाष्टा हुन्छ भनेर डकैती गर्न आउनेहरुलाई कहिले काँही जनताले प्रतिकार गरेर मारेको घटना जस्तै गौर घटना हुन गयो।

माओवादीले आफ्नो कार्यकर्ता र नेताहरुलाई अनुशासित राख्न नसकेकोले यो घटना भएको थियो। अझ भनौ माओवादीले नेपाल सरकारको समानान्तरमा आफ्नो जनसरकार चलाइरहेको थियो।

त्यसैले उनीहरुले कुनै जिल्ला प्रशासन, प्रहरी र सशस्त्र प्रहरीलाई टेर्दैनथे। नेपाली सेनालाई आफ्नो क्याम्पबाट निस्किन दिइएको थिएन। यसको मौका छोपेर बेला बेलामा आफ्ना क्यान्टनमेन्टमा राखेका लडाकूहरु ल्याएर माओवादीले देशभर आतंकको शासन नै गरिरहेको थियो।

सबै ठाउँमा हामीले भनेकै जस्तो हुन्छ भन्ने घमण्ड पलाएका माओवादीलाई गौर र वरपरका बासिन्दाले धुलो चटाइदिए।

गौरमा माओवादी एक्लो किन पर्‍यो?

गौर घटनमा माओवादीले ठूलो क्षति बेहोर्नु परेको थियो। यसको मूख्य कारण माओवादीको अहमता नै थियो। दोस्रो कारण उनीहरुले गौरमा पहिलेदेखि मच्चाएका ताण्डवहरु।

तेस्रो माओवादीको बलमिच्याई प्रबृत्ति र अन्तिम २७ जनाको हत्या हुनु भनेको माओवादीले चैत ७ गते मधेसी जनअधिकार फोरमको मञ्चको वरपर भाषण सुन्न बसेका मानिसहरु प्रति लक्षित गरे हवाइ फाइर र सकेट बम विस्फोट गर्दै कम्व्याट पोशाक लागाएकाहरु अघि बढेर पछि सबैको भागाभाग भएपछिको प्रतिकारको परिणाम।

माओवादीहरु जंगलबाट शहर बसेपछि वा जनसरकारको नाममा जे मन लाग्यो त्यही गर्ने छुट पाएपछि वा प्रहरी प्रशासनले माथीको निर्देशनका कारणमा माओवादीलाई गलत काम गर्न रोक्न नसकेपछि अन्यत्र जस्तै गौरमा पनि माओवादीले वाइसियल र जनसकारको नाममा ताण्डब नृत्य नै गरेका थिए।

गौर नगरपालिकाका मेयर भइसकेका व्यक्तिलाई बजारको पान पसलमा पान खाइरहेको अवस्थामा लखेटी लखेट कुटपिट गरेका थिए। जिल्ला विकास समितिको सभापति भइसकेका एकजना सम्मानित व्यक्तिको घरमै घुसेर अभद्र व्यवहार गरेका थिए।

दुबै जना माओवादीसँग बदला दिने अवसरको खोजीमा थिए। मधेसी जनअधिकार फोरमका कार्यकर्ताहरुलाई पनि माओवादीले कुटपिट गरेको थियो। प्रहरीको परिवारमा पनि माओवादीले त्रास पैदा गरेका थिए।

कसैको आफन्त सुरक्षाकर्मीलाई मारेको, कोहीसंग अपहरण गरेर चन्दा असुल गरेको, सिडियो, एसपी र प्रहरी परिवार, निजामती कर्मचारीहरुलाई शब्द शब्दमा हेप्ने गरेकोले सबै माओवादीलाई तह लगाउने कोही भए हुन्थ्यो भन्ने पक्षमै थिए। माओवादीले सबैलाई दुश्मन बनाएको थियो।

यसैबीच चैत ७ गते गौरको राइसमिलको कम्पाउण्डमा आमसभा गर्ने र त्यसलाई उपेन्द्र यादवले सम्बोधन गर्ने गरी १० दिन अघि नै स्थानीय प्रशासनलाई कार्यक्रमको जानकारी गराएर स्वीकृति लिई फोरमले प्रचार प्रसार शुरु गरेको थियो।

उपेन्द्र यादव आउने भएपछि र गाउँगाउँमा मधेसी जनअधिकार फोरम प्रतिको क्रेज बढेको देखेर स्थानीय नेता तथा मधेसी राष्ट्रिय मधेसी मुक्ति मोर्चाका महासचिब प्रभु साहलाई खपिसक्नु भएको थिएन।

गाउँका नागरिकलाई त्रासमा राखेर हैकम देखाउन पल्केका प्रभु साहले उपेन्द्र यादवलाई गौर आउन नदिनका लागि फोरमको सभा विथोल्ने प्रपञ्च रचे। यसका लागि केन्द्रबाट प्रचण्ड वा अन्य नेताहरुसँग आदेश लिए।

भित्रभित्रै क्यान्टनमेन्टबाट माओवादी लडाकूलाई ल्याउने योजना बनाए। विभिन्न जिल्लाबाट गौरमा मार्च पास गरेर आफ्नो पावर देखाउन कम्ब्याट पोशाक लगाएका माओवादीहरुलाई गौरमा उतार्न थाले र सबै तयारी पूरा भएपछि दुई दिन अघि मधेसी जनअधिकार फोरमले आयोजना गर्ने कार्यक्रमको अगाडि सोही चौरमा आफ्नो पनि आमसभा रहेको मधेसी राष्ट्रिय मुक्ति मोर्चाले प्रचार प्रसार गर्न थाल्यो।

उनीहरुलाई जिल्ला प्रशासन कार्यालयको स्वीकृति पनि चाहिएन। यसमा सबैभन्दा पहिलो चिन्ता स्थानीय व्यापारीहरुलाई भयो। व्यापारीहरुको अगुवाईमा प्रमुख जिल्ला अधिकारी, प्रहरी र राजनीतिक दलहरुले फरक फरक दिन वा फरक ठाउँमा कार्यक्रम गर्नेगरी चाँजोपाँजो मिलाउन सर्वपक्षीय वैठक डाके।

शुरुमा बैठकमा आउँछु भनेको माओवादीले बैठक वहिस्कार गर्‍यो। माओवादी नआएपछि वैठकले केही निर्णय गरेन। भोली केही अनिष्ट हुन सक्दछ भनेर माओवादीसँग सिराएको गौर र वरपरको मधेसी समाजले कम संख्यामा रहेको मधेसी जनअधिकार फोरमलाई कसैले संस्थागत रुपमा र कसैले व्यक्रिगत रुपमा सहयोग गर्न ढाडस दिए।

मधेसी जनअधिकार फोरमले स्थिति भयावह हुने भएपछि काठमाडौबाट सिमरा हुँदै बीरगंजबाट भारतको रक्सौल हुँदै गौर ल्याउन तयार गरेको आफ्नो नेता उपेन्द्र यादवलाई सुरक्षाका कारण कार्यक्रममा नआउन भन्यो। उपेनद्र यादव गौर गएनन्।

गौरमा संगठन विस्तारको लागि कार्यक्रम गर्न आवश्यक भएकोले फोरमका स्थानीय नेताहरुले माओवादीसँग विवाद गर्नुभन्दा छिटोछिटो गरेर दुई बजेसम्ममा आफ्नो कार्यक्रम सक्ने र त्यसपछि माओवादीको गौर बजार तिर प्रदर्शनी गरेर फिल्डमा आउन्जेलसम्म कार्यक्रम सक्काउने मनसाय बनाएको थियो।

फोरमले बजारमा माओवादीसँग मुठभेड हुने त्रासले नारा जुलुश नलगाई एकैपटक मञ्चको कार्यक्रम गर्ने विचार गरेको थियो। मञ्चको वरपर मानिस जम्मा भइसकेका थिए। उद्घोषकले उद्घोषण गर्न थाले। त्यसैबीच एकजना माओवादीका मानिस आएर उदघोषकलाई मञ्चको अगाडि बसेको मासलाई लिएर बजार परिक्रमा गर्नु भनेर सल्लाह दिन आएका थिए।

उद्घोषकले उनको सल्लाह नमानी कार्यक्रमलाई हतार हतार अगाडी बढाउन चाहे। यतिकैमा फोरमको मञ्चको उत्तर तर्फ रहेको माओवादीको मञ्च खाली थियो।

माओवादीहरु बजारतर्फ घुम्दैथिए। तर त्यहाँको माइक फोरमको मञ्चतर्फ फर्काएर ठूलो ठूलो आबाज आएकोले फोरमका ८–९ जना यूवाहरु माइकको आवाज हाम्रो मञ्च तर्फ नफर्काऊ भन्न गए। तर उनीहरुको कुरा माइक चलाउनेले मानेनन्।

आक्रोशित यूवाले माओवादीको मञ्च तोडफोड गर्न थाले । फोरमको तर्फबाट उद्घोष्ण गरिरहेका उद्घोषकले विवाद नगरौं। यूवाहरुलाई मञ्च नतोडौं भनिरहेका थिए। तर ती यूवाहरु को थिए भन्ने पनि उनले चिनेका थिएनन्।

किन भने त्यसवेला मधेसी जनअधिकार फोरमको संगठन भर्खर शुरुवात थियो। सदस्या बाँड्ने काम पनि भइसकेको थिएन। संगठन विस्तारकै लागि उपेन्द्र यादव त्यहाँ जान खोजेका थिए। तर उद्घोषकको कुरा पनि मानेनन्।

एक्कासी माओवादी कम्ब्याट पोशाक लगाएकाहरु राइसमिलको उत्तर तर्फको बाटोबाट हुल बाँधेर हवाइफायर गर्दै सकेट बम पडकाउँदै फोरमको कार्यक्रम स्थल तर्फ दगुरे। माओवादीको पडकाउको गोली र बमको आबाज सुनेर ज्यान बचाउन सबै भागाभाग गरे।

स्वयं उदघोषक पनि भाग्नु परेको थियो। उनको चप्पलको लोभ लागेर भाग्न पछि परेका थिए। त्यत्तिकैमा सडकमा एकजना कब्व्याड पोशाक लगाएर माओवादीले उद्घोषकमाथि ढुंगा प्रहार गरे। उनको दाँतमा चोट लागेर रगताम्मे भए।

स्थानीयहरुले बोकेर अस्पताल लगे। अस्पतालमा पनि मार्न आउलान भनेर हतपत उनलाई भारतीय सीमा तर्फ लगेर भारतको डंकन अस्पतालमा भर्ना गरिएको थियो। फोरमका मानिसहरु ज्यान बचाउन भारतीय सीमा क्षेत्रतर्फ लागे।

मधेसी जनअधिकार फोरमको पकडमा नरहेको तर माओवादीलाई पाठ सिकाउनु पर्दछ भन्ने अभिप्रायले भीडमा विभिन्न बदलाको भावना बोकेका शक्तिहरु एकजुट भएर लाडी, फराठा सहित माओवादीमाथी जाइलागे। माओवादीहरु एकै स्थानमा थिएनन्।

सबै मञ्चमा नआएकाले संख्या उनीहरुको कम भएकोले फोरमको नामबाट आएको आक्रोशित मासले माओवादी कब्व्याट पोशाक लगाउनेहरुमाथि आक्रमण गरेको थियो। तत्काल घटना स्थलमै ६ जनाको मृत्यु भएको थियो।

अन्य कोही बाटोमा त केही घटनास्थलभन्दा पर गाउँको मन्दिरमा मारिएको थियो। भौगोलिक ज्ञानको अभाव भएको र असफल हुँदा कुन दिसातर्फ कसरी भाग्ने भन्ने योजना नभएका माओवादीहरु चारैतर्फ तितर वितर भएकाले थोरै संख्यामा वा एक्लो भेटेपछि गाउँलेहरुको हिम्मत बढेको थियो र उनीहरुले बदलाको भावना राखेर माओवादीहरुलाई क्रुर तरिकाले मारे।

प्रभु साह गौरको घटना स्थलबाट करिब पाँच किलो मिटर उत्तिरको अर्को मिलमा बसेर निर्देशन दिइरहेका थिए। प्रहरीहरुले शुरुमा कुनै प्रतिक्रिया दिएनन्।

सुरक्षा निकाय सरकारी कार्यालयहरुमा माओवादीले वा आक्रोशित भीडले केही गर्लाकि भनेर सुरक्षा दिनमा नै आफ्नो शक्ति लगाएर बस्यो करिब १४ जनाको प्रहरी टोली आमसभाको सुरक्षाको लागि खटाइएको थियो।

घटनामा गोलिचल्न थालेपछि र मानिस मर्न थालेपछि प्रहरीले थप सहयोगका लागि जिल्ला प्रहरीमा खबर गरेको थियो। तर बजारभरी घम्साघम्सी भएकोले प्रहरी एक स्थानमा आउन सकेन।

घटना शुरु भएको एकघण्डा भित्रै प्रक्रिया पुरा गरेर जिल्ला प्रहरी कार्यालय गौरका प्रमुखले कर्फ्यू लगाएको घोष्णा गरेका थिए। बजारमा निशेधाज्ञा जारी गरेपनि गाउँगाउँमा भागेर पुगेका माओवादीहरुलाई जसले भेटाए उसले हत्या गरे।

प्रमुख जिल्ला अधिकारीले चैत ६ गते नै स्थिति अप्ठेरो भएकोले थप सुरक्षाबल पढाउन माथिल्लो निकायसँग माग गरेका थिए। तर सहयोग नपाएकोले आफ्नो ज्यान जोगाउन नजिकै रहेको सेनाको क्याम्पमा बसेका थिए।

माओवादीको निसानामा रहेका उपेन्द्र यादव नै कार्यक्रममा नआएपछि उनीहरुको मुख्या योजना तुहिएको थियो र समाज आफूप्रति यति क्रुद्ध भइसकेको छ भन्ने हेक्का नत प्रचण्डलाई भयो नत प्रभु साहलाई।

प्रभु साह आफू भागेर पाँच किलो मिटर उत्तर गए तर आफूले युद्ध गर्न ल्याएको तर भौगोलिक ज्ञान नभएकाहरुलाई उत्तरतर्फ सडकै सडक भागेर आउनु भन्ने जानकारी नगराएकाले आफू र आफ्नो सुरक्षाकर्मीहरु त बाँचे तर सर्वसाधारण नागरिकका छोराछोरीलाई मृत्युको मुखमा थकेले।

तिनै प्रभु साह अहिले मधेसमा आफ्नो अस्तित्व बढाउन फेरि पनि उपेन्द्र यादव लगायत सय भन्दा बढी गौर र वरपरका नेताहरुलाई फसाएर आफूले खोलेको नयाँ पार्टीका लागि रोटी सेक्न खोजिरहेका छन्।

प्रभु साहलाई थाह छ कि उक्त घटना भएको बेला मधेसी जनअधिकारका नेता कार्याकर्ताहरु औलामा गन्नेगरी मात्र गौरमा थिए।

माओवादीलाई फोरमले भन्दा पनि माओवादीको विगतको क्रियाकलापबाट रुष्ट भएका स्थानीय राजसंस्थाका समर्थकहरु, माओवादीले दुःख दिएका मानिस, कर्मचारी, सुरक्षा निकायका आफन्त, नाता कुटुम्बहरु, तराईमा भूमिगत रुपमा सशस्त्र गतिविधि गरिरहेका संगठनहरुको संयुक्त प्रयासबाट माओवादीको हत्या भएको थियो।

फोरमका नेता कार्यकर्ताहरु त घटनास्थलबाट सूइकुच्चा ठोकेका थिए। फोरमका मानिसलाई आफ्नो पछाडि ठूलो शक्तिले भित्री रुपमा साथ दिइरहेको छ भन्ने जानकारी पाएका भए उनीहरु ज्यान जोगाउन भारतीय सीमा नजिक भागेर जाँदैनथे।

जब माओवादीले कब्याट पोशाक लगाएकालाई बन्दुक र बारुदसहित गौर भित्र्याएको थियो त्यसवेलादेखि नै सिंगो समाज एकातर्फ भएर प्रतिकारको रणनीति बनाएको थियो। प्रतिकार गर्ने समुह आमसभामा थिएन।

आमसभा तितरवितर भएपछि माओवादीहरुले जित्यौं भनेर चारैतर्फ बजारमा छरिन थालेपछि एक्कासी आक्रमण भएको थियो। आक्रमण गर्नेमा माओवादीबाट क्षति व्योरेका मधेसीमूलका सशस्त्र प्रहरीका केही जवानहरु समेत संलग्न थिए।

माओवादीबाट कुटाइ खाएका र अपमानित भएका गौरका सम्मानित परिवारका भारततर्फ रहेका आफन्तहरुको पनि यसमा उपस्थिति थियो। उनीहरुको उपस्थिति र सक्रियता फोरमको कार्यक्रमलाई सफल बनाउनु भन्दा माओवादीले निहु खोजेपछि उसमाथि जाइलाग्ने योजना थियो।

घटना त्यस्तै भयो। फोरमको कार्यक्रम विथोल्न माओवादी सफल भयो। तर उपेन्द्र यादवलाई हेर्न र उहाँको भाषण सुन्न गाउँ गाउँबाट ओइरिएको सर्वसाधारण त आफ्नो ज्यान बचाउँदै भागे।

तर बदला लिने भावनाले नियोजित ढंगले आएका तर फोरमलाई समेत जानकारी नभएको शक्तिले आफ्नो रौद्र रुप देखायो। जोसँग टिक्न नसकेर प्रभु साह नै भागिसकेपछि अरु माओवादीको त हरिविजोग भयो।

सयको हाराहारीमा मृत्यु हुन सक्थ्यो गौर घटनामा तर अस्पतालमा काम गर्ने एकजना माओवादी समर्थकले ५०-६० जना माओवादीलाई अस्पतालमा लुकाएर राखे। दंगा प्रहरी आएर गौरलाई कन्ट्रोल गरिसकेपछि लुकेर बसेका माओवादीहरुलाई शसस्त्र प्रहरीले आफ्नो टिपरमा हाल्दै चन्द्रनिगाहपुर छोडेको थियो।

उदयपुरको दुधौलीमा रहेको माओवादी क्यानटनमेन्टबाट लगिएका लडाकुहरुको मृत्यु भएकोले अनमिन र संयुक्र राष्ट्रसंघले क्यान्टनमेन्टका मानिस कसरी बाहिर गए भनेर प्रश्न गर्ला वा उसलाई पनि अप्ठेरो पर्दछ भनेर त्यसवेला माओवादीले तैचुप मैचुपको शैली कारवाहीको प्रक्रियामा खासै चाँसो देखाएन।

अहिले प्रचण्ड प्रधानमन्त्री र नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएको बेलामा उपेन्द्र यादवलाई तह लगाउन पाए रौतहट, सर्लाही, बारामा आफ्नो संगठन विस्तार गर्न सजिलो हुने वा नागरिकलाई तर्साएर फोरम छोड्न लगाउँदै आफ्नो पार्टीमा ल्याउने रणनीति अन्तरगत उपेन्द्र यादवलाई अत्याउन खोजिएको हो।

गृहमन्त्रीले चाँसो लिएर कारवाहीको प्रक्रिया अगाडी बढाउने सहमति गरेपछि मधसी जनअधिकार फोरम झस्किएको छ। प्रभु साहको दिमागको उपजमात्र हो भने त खासै केही हुँदैन। तर कुनै विदेशी शक्तिको स्वार्थका कारण यो उठेको हो भने कुरा गम्भीर छ।

उपेन्द्र यादव अहिले जनता समाजवादी पार्टीको अध्यक्ष हुनुहुन्छ। उहाँले नेतृत्व गरेको पार्टीका नेताहरुले गौर राजनीतिक घटनामा मृत्यु भएकाहरुले न्याय पाउनु पर्दछ भनिरहेका छन्।

उनीहरु असली दोसिको पहिचान गर्न औएचसिएचआर, राष्ट्रिय मानव अधिकार आयोग, सरकारले बनाएको तत्कालिन आयोगहरुको प्रतिवेदन सार्वजनिक गरी असली दोसीलाई कारवाही गर्न र नियतबस घटनास्थलमा नरहेका र हत्या गर्ने क्रियाकलापमा सहभागी नभएकाहरुलाई नसफाउन चेतावनी दिइरहेका छन्। उनीहरुको माग जायज छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *