मस्जिदमा नमाज पढिरहेका श्रद्धालुमाथि अन्धाधुन्ध गोली प्रहार, ७ जनाको मृत्यु

डिसी नेपाल
१९ भदौ २०८० ११:३९

काठमाडौं । नाइजेरियाको एक मस्जिदमा नमाज पढिरहेका श्रद्धालुहरूमाथि केही आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदा ७ जनाको मृत्यु भएको छ ।

घटनाको सम्बन्धमा स्थानीय प्रहरीले बताएअनुसार उत्तर-पश्चिम कादुना राज्यमा रहेको मस्जिदमा शनिबार सशस्त्र व्यक्तिहरूको समूहले आक्रमण गरेको थियो। यस आक्रमणमा कम्तिमा सात नमाजीको मृत्यु भएको छ।

कादुना प्रहरीका प्रवक्ता मन्सूर हारुनाले राज्यको इकाराको दुर्गम साया गाउँमा शुक्रबार राति हमला भएको बताए। सो क्रममा नमाज पढ्न मानिसहरु जम्मा भएका थिए । हारुनाले भने, ‘आक्रमणका क्रममा घाइते भएका अन्य दुई जनालाई उपचारका लागि अस्पताल लगिएको छ ।

आक्रमण भएको गाउँकी बासिन्दा हरुना इस्माइलले समाचार एजेन्सी रोयटर्सलाई भनिन्, ‘पाँच जनालाई मस्जिदभित्र नमाज पढिरहेका बेला र अन्य दुईलाई गाउँको सामुदायिक हलमा गोली लागेको थियो।’

भारी हतियारधारी आक्रमणकारीहरूको गिरोहले नाइजेरियाको उत्तर-पश्चिममा विगत तीन वर्षमा विनाश मच्चाएको छ, हजारौं मानिसहरूलाई अपहरण गरेको छ, सयौंको हत्या गरेको छ र केही क्षेत्रमा सडक यात्रालाई असुरक्षित बनाएको छ।

यी आक्रमणहरूले नाइजेरियाका सुरक्षा बलहरूलाई समस्यामा पारेको छ। देशका सुरक्षा बलहरू उत्तरपूर्वमा १४ वर्ष पुरानो इस्लामवादी विद्रोह, मध्य क्षेत्रमा हिंसक किसान-गोठाला र साम्प्रदायिक झडप र दक्षिणपूर्वमा पृथकतावादी समूहले बढ्दो आक्रमणको सामना गर्न व्यस्त छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *