नेपालमा खेलकुदको विकास
खेलकुद एउटा यस्तो विषय हो जुन बारे बच्चा, युवादेखि वृद्धवयका व्यक्तिमा पनि उत्तिकै चाख हुने गर्दछ। मानवजातिले समाजमा बस्न थालेदेखि नै मनोरञ्जनको रूपमा विभिन्न प्रकारका खेलकुदको विकास गर्न थाले।
सिकार गरेर खानाको गर्जो टार्नु पर्ने त्यो बेलामा सिकार, पशु-पंक्षी पक्रेर ल्याउने, दौड, पहाड चढ्ने आदि नै प्रमुख खेल थिए होलान्। यस्तैबाट खेलको विकास हुँदै पौडी खेल्ने, निश्चित समयमा कसले बढी फलफूल टिप्ने, महको घारी काट्न भीरमा चढ्ने, धनुर्वाण तथा गुलेली र अन्य ढुंगा तथा फलामे हतियार चलाउने, बढी छलाङ मार्ने कुशलताको प्रदर्शन, जनावरसँग लड्ने, कुस्ती खेल्ने, गोलो नरम वस्तुलाई भकुण्डो बनाएर खेल्ने गरियो।
घरैमा बसेर खेल्ने तथा शारीरिक मेहनत त्यति नपर्ने खेलहरूको विकास पनि त्यतिबेलै देखि हुन थालेको हो। पछि त आफ्ना समुदायभित्र यस्ता खेलकुदको प्रतियोगिता नै हुन थाल्यो।
यसो हुँदा हुँदै मुलुक मुलुकबीच विभिन्न खेलको प्रतिष्पर्धा हुन थाल्यो भने त्यस पछि महादेशीय र विश्वस्तरीय खेलकुद प्रतियोगिता नै हुन थाल्यो र नयाँ नयाँ खेलहरू पनि प्रतिपादित हुन थाले।
नेपालमा पनि विभिन्न प्रकारका अन्तर्राष्ट्रिय स्तरका खेलहरू खेल्न थालिएको राणाशासनको पछिल्लो समयबाट नै हो। त्यो भन्दा पहिले हाम्रा गाउँघरमा खेलिने डण्डी बियो, कबड्डी, कुस्ती, बाघचाल, दौड आदिको नै बाहुल्य थियो।
नेपालमा रहेको बृटिश रेजिडेन्सीका गोरा कर्मचारीहरू फुटबल, क्रिकेट, ब्याडमिन्टन, टेनिस, स्क्वास, गल्फ आदि खेलहरू खेल्दथे। तिनीहरूको खेल देखेर नै राणा प्रधानमन्त्रीहरूको दरवारमा फुटबल मैदान तथा ब्याडमिन्टनका कोर्टहरू बन्न शुरु भए।
बृटिश सेनाका अधिकृतहरूले नै धरानको घोपा क्याम्पमा गल्फ र धेरै प्रकारका खेलकुदका मैदानहरू बनाए भने र पक्लिहवा र पोखराको क्याम्पमा पनि खेलकुदको बन्दोवस्ती मिलाए। हाल आएर सेना तथा प्रहरीका ब्यारेकहरूमा पनि राम्रा खेलकुदका मैदान बन्दै गएका छन् र खेलको विकासमा सुरक्षा निकायको ठूलो भूमिका रहँदै आएको छ।
नेपालमा मात्र होइन, विभिन्न मुलुकहरूमा आधुनिक खेलकुदको विकास हुनमा बृटिश साम्राज्यको ठूलो हात रहेको छ। दक्षिण एशियाकै उदाहरण लिँदा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका विश्वमा क्रिकेट, हकी, स्क्वाश, ब्याडमिन्टन, टेनिस, भारोत्तोलन, कुस्ती, घोडा दौड तथा पोलो आदिमा उत्कृष्ट दर्जामा पुग्न सक्नुको मुख्य कारण उतिबेला बृटिशहरूले यी खेल खेल्दा सहायकका रूपमा राखेका तत्कालीन स्थानीय कामदार र सेनाका अधिकृत र जवानले यस्ता खेलहरू सिकेर यसमा सोहरत कमाउन थालेपछि लोकप्रिय हुँदै गएर आम जनताले पनि सिक्न थालेकोले नै हो।
यही पंक्तिमा गल्फ पनि पर्न आउँछ। विशाल जनसंख्या भएका मुलुक हुनुका साथै राज्यले पनि खेलकुदलाई प्रोत्साहन दिएकोले यी मुलुकहरूमा खेलकुदको विकास निकै धेरै भएको छ भने खेलाडीहरू पनि समृद्ध भएका छन्।
राजा र राणाका परिवार तथा अन्य भारदार तथा सेनाका अधिकृतहरूबाट खेल्न शुरु भएका यस्ता खेलहरू बिस्तारै लोकप्रिय बन्दै गए। पछि बृटिश सेनामा भर्ती हुन र जागीरको सिलसिलामा भारत र अन्य मुलकमा पुगेका नेपालीहरूको साथै उच्च अध्ययनको लागि खासगरी भारत गएका नेपालीले विभिन्न खेलहरू सिक्ने र खेल्ने अवसर पाए तथा यता नेपालका आम जनतामा पनि उनैबाट त्यस्ता खेल बारे व्यावहारिक ज्ञान मिल्नुका साथै यस्ता खेल लोकप्रिय तवरले खेलिन र हेरिन पनि थाल्यो ।
राणाशासनकै बेला भारतको कलकत्ताबाट शारीरिक सुगठन सिकेर आएका धर्मभक्त माथेमाले यस सम्बन्धि आफ्नै संस्था खोल्नुका साथै राजा त्रिभुवन र अन्य भारदारलाई पनि यो कला सिकाउने गरेका थिए। यसै सिलसिलामा राजा त्रिभुवन र नेपाल प्रजापरिषद बीचको सेतु बनेर उनी नेपालमा प्रजातन्त्र ल्याउने कार्यमा खटिएका थिए, तर राणाका गुप्तचरहरूले यिनीलगायत धेरै जनालाई पक्राउ गरेर आखिर धर्मभक्त पनि शहिद हुन पुगे।
नेपालमा प्रजातन्त्रको उदय भएपश्चात नेपाल बाहिरी दुनियाँसँग खुला हुन पुग्यो। त्यसपछि नै शिक्षा, यातायात, उद्योग, व्यवसायदेखि खेलकुदकोसमेत विकास हुन थाल्यो भने नेपालमा विभिन्न थरी मानिसहरूको आगमन र नेपालीको विदेश जाने क्रममा पनि वृद्धि हुन थाल्यो।
फलस्वरूप नेपालीहरूले विभिन्न विषयको परख पाउन थाले। फुटबल, ब्याडमिन्टन, कुस्ती, शारीरिक सुगठनमा नेपाल बिस्तारै कुशल हुँदै गयो भने केही दशक अघिदेखि त दक्षिण एशियाली खेलकुदमा नेपालले महिला तथा पुरुष फुटबल तथा मार्सल आर्ट खेलहरूमा निकै ख्याती कमाउन सक्यो।
कराते, टाइक्वान्डो, उशु आदि खेलहरूमा अझसम्म पनि नेपाल निकै अगाडि छ भने पौडी, ब्याडमिन्टन, भलिबल, टेबलटेनिस, दौड आदि धेरै खेलहरूमा नेपाल यस क्षेत्रको अग्रणी मध्येको एक हुन सफल भइसकेको छ।
पछिल्लो ४-५ दशकदेखि नेपालमा क्रिकेटको पनि निकै विकास भएको छ। विश्वमा नै फुटबल र क्रिकेट अधिक मात्रामा रुचाइएका खेलहरू हुन्। फुटबलको मैदान नेपालका विभिन्न ठाउँहरूमा बनेका भए पनि क्रिकेटको विश्वस्तरीय मैदान भने एउटा पनि छैन।
हाल त्रिभुवन विश्वविद्यालयस्थित मैदानलाई स्तरोन्नती गरिँदै लगिएको छ भने गोकर्णमा पनि एक मैदान तयार भएको छ। चितवनमा निर्माणाधीन विशाल मैदान भने वजेट अभावका कारण निकै सुस्त गतिमा निर्माण हुँदैछ।
नेपालका महिला तथा पुरुष खेलाडीहरूले विभिन्न खेलहरूमा उत्कृष्ट प्रदर्शन गरेका भएता पनि उनीहरूलाई प्रोत्साहन मिल्ने कुनै पनि कुरा राज्य वा कुनै संस्थाले गर्न सकेको छैन।
विपन्न परिवारमा हुर्किएका अधिकांश खेलाडीको आर्थिक अवस्था निकै कमजोर छ र अधिकांश खेलाडीहरू बेरोजगार छन्। मुलुकको एक मात्र हेर्न लायकको दशरथ रङ्गशालाको पनि बिजोग अवस्था छ। कुनै ठूलो खेलकुद समारोह आयोजना गर्दा दुलही जसरी सजाएको रंगगशाला खेलकुदको समापनसँगै जिर्ण हुँदै जाने गरेको छ।
एन्फा एकेडेमीले विद्यालयबाट नै कुशल खेलाडीहरू पहिचान गरेर उनीहरूलाई आवासीय रूपमा नै राखेर फुटबलको तालिम दिने गरेको र यसो हुँदा विगत २ दशकमा नेपालमा धेरै उत्कृष्ट फुटबल खेलाडीहरू पैदा भएका पनि हुन्।
तर यस्ता प्रतिष्ठानहरूको नियमितता र स्वच्छन्दतामा नै बेला बेलामा प्रश्न उठ्ने भएकोले हामी कहाँ कुनै पनि राम्रो कार्यले दीगोपना पाउँदैन।
पञ्चायतकालदेखि नै खेलाडीहरूलाई राजनीतिक कार्यहरूमा लाग्न प्रोत्साहित गर्ने र खेलकुदका निकायहरूमा राजनीतिक नियुक्ति गरेर आवश्यक भन्दा बढी बेकम्मा कर्मचारी भरेर तिनैको तलब र भत्तामा खेलकुद वजेट सक्ने कार्य हुँदा, राष्ट्रियस्तरका खेलाडीहरू सधैँ ओझेलमा पर्ने गरेका छन्।
केही दशकअघि दशरथ रंगशालामा पौडी खेल्न जाँदा त्यहाँको क्यान्टिनमा केही खेलाडीलाई पौष्टिक पदार्थ (डाइट) खुवाउन ल्याइएको देखेको थिएँ। पहिलो कुरा त यदाकदा बाँडिने त्यस्तो पौष्टिक पदार्थको ठेक्कामा पनि ठूलो घोटाला हुने गरेको छ भने केही खेलाडीले श्रीमती र बालबच्चाको याद आएर उसिनेको अण्डा तथा फलफुल आदि आफूले नखाएर खल्तीमा राखेर लगेका माया लाग्दा दृश्य पनि देख्नमा आएको थियो। यो सब भएको उनीहरूको खराब आर्थिक स्थितिले गर्दा हो।
भारत, पाकिस्तान तथा अन्य दक्षिण एशियाली मुलुकहरूमा राष्ट्रियस्तरका खेलाडीहरूलाई त्यहाँका सरकारी तथा निजी क्षेत्रका बैंक तथा व्यापारिक प्रतिष्ठानहरूमा हाजिर मात्र गर्ने गरि रोजगारी दिलाइएको हुन्छ। जसले गर्दा उनीहरूको घरको दैनिक वजेट चल्न सकोस्।
तर नेपालमा भने सुरक्षा निकायले केहीलाई रोजगारी दिएको भएता पनि अधिकांश खेलाडीलाई चरम बेरोजगारीले सताएको तथा केहीले मात्र विद्यालय तथा अन्य संस्थामा खेलकुद प्रशिक्षकको रूपमा कार्य गर्न पाएको देखिन्छ।
निजी क्षेत्रको योगदान कै कारण बिस्तारै खेलाडीको जीवनस्तरमा अभिवृद्धि हुनुका साथै खेलकुदमा पनि विकास भइरहेको छ भने बेरोजगारीका कारण कैयन् कुशल खेलाडीहरू विदेशमा पलायन हुने क्रम पनि तिव्र रूपमा जारी छ।
सन् २०१४ देखि टी-२० क्रिकेट प्रतियोगिता खेल्ने अवसर पाएको नेपालले पहिलो पटक नै विश्वकप खेल्ने अवसर पायो भने अहिलेसम्म खेलेका ५७ वटा अन्तर्राष्ट्रिय खेलमध्ये ३३ खेलमा विजयी भएको छ। त्यस्तै सन् १९७४ मा शुरु भएको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा खेल्नको निम्ति नेपाल सन् २०१८ मा मात्र योग्य भयो। तत्पश्चात नेपालले ५९ मध्ये ३० खेलमा जित हासिल गरेको छ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले नेपाललाई टेस्ट म्याचको निम्ति भने अझसम्म मान्यता दिएको छैन। तर पनि निकट भविश्यमा नेपालले चीनमा हुने एसियाली खेलकुदको क्रिकेट प्रतियोगितामा भाग लिन पाउने छ भने आइसिसी टी-२० विश्वकपको एसिया छनोटमा पनि प्रतिस्पर्धा गर्नेछ। यसरी विश्व क्रिकेट प्रतिस्पर्धामा नेपाली खेलाडीहरूले निकै अनुभव बटुल्ने दिनहरू आउँदै छन्।
आज आएर विश्वभरका मानिसहरूले सिधा प्रसारणमार्फत हेर्न सक्ने क्रिकेट, फुटबल तथा अन्य लोकप्रिय खेलहरू आजभन्दा चार दशक अघिसम्म पनि रेडियोमा मात्र सुन्न पाइन्थ्यो।
भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकामा त त्यतिबेला नै क्रिकेटका यति धेरै फ्यानहरू थिए कि, त्यतिबेला भएका टेस्ट म्याचका रेडियोका सिधा प्रसारण हुन् वा बेला बेलामा आउने समाचार सुन्नको निम्ति मानिसहरू कामै छोडेर बस्ने गर्दथे।
कार्यालयका कर्मचारी मात्र नभई हाकिमसमेत क्रिकेटका ठूला फ्यान हुने भएकोले त्यस्ता बेलामा कार्यालयको काम ठप्पै हुने गर्दथ्यो भने शिक्षण संस्थाहरूमा पनि खासै पढाई हुँदैनथ्यो।
यसो हुनुमा त्यतिबेलाका खेल दिउँसोको समयमा मात्र हुने भएकोले पनि हुनसक्छ। हिजोआज प्रविधिको विकासले गर्दा जुनसुकै बेलामा पनि खेलको आयोजना हुन सक्दछ भने त्यसरी नै जुनै बेला पनि टेलिभिजन र इन्टरनेटमार्फत सिधा प्रसारण समेत हेर्ने सुविधा सबैलाई छ।
इन्दिरा गान्धी भारतको प्रधानमन्त्री हुनु भएको बेलाको मन्त्रीपरिषदको एउटा जरुरी छलफलमा एकजना मन्त्रीलाई बेला बेलामा एकजना कार्यालय सहयोगी सभाकक्ष भित्र पस्दै कागजको टुक्रा दिने गरेको र सो मन्त्रीले निकै चाखपूर्वक सो टुक्रा पढ्ने गरेको देखेपछि श्रीमती गान्धीले त्यो चीट हेर्न खोज्दा त्यो क्रिकेटको पछिल्लो अवस्थाको तालिका भएको कुरा सो मन्त्रीले लाज मानेर बताउँदा सबै मन्त्रीहरू निकै हाँसेका थिए रे।
दशकौँ दशकसम्म क्रिकेट खेलेर ठूलो अनुभव बटुलेका विश्वस्तरका क्रिकेट खेल्ने मुलुकहरूसँग महिला र पुरुष दुबै बिधाका क्रिकेट प्रतियोगिता खेल्ने हैसियतमा पुगेको नेपालको निम्ति यो एक निकै गौरवको कुरा हो।
तर यसो हुनुमा राज्यको ज्यादै न्युन योगदान रहेको छ। राज्यले यो खेलको निम्ति एक उत्कृष्ट मैदानसम्म पनि बनाउन सकेको छैन भने खेलाडीको आर्थिक स्तर उकास्नेसमेत कुनै योजना बनाएको छैन। यस्तो अवस्थामा आफ्नै तथा केही निजि संस्थाको प्रयासले आज नेपाल क्रिकेट खेलको यत्ति ठूलो शिखरमा पुग्न सक्नु आफैंमा एउटा निकै गौरवको कुरा हो।
ढिलै भएपनि संघीय, प्रदेश र स्थानीय सरकारहरूले मुलुकभर आवश्यक खेलकुद पूर्वाधारको दीगो विकास गर्नुका साथै खेलाडीहरूको लागि तालीम प्रतिष्ठान तथा रोजगारीको पनि अवसर मिलाउन सक्नु पर्दछ। यसको साथ साथै नियमित प्रतियोगिताहरू समेत सञ्चालनमा आउनु अति आवश्यक छ।
भारतका खेलाडी १ अर्ब ३६ करोड जनताबाट छानिन्छन् भने पाकिस्तानी खेलाडी २४ करोड र बंगलादेशी खेलाडी १६ करोड जनताबाट छानिन्छन्। तर नेपालका खेलाडी मात्र २ करोड ९० लाख जनताबाट छानिन्छन्।
त्यति थोरै मानिसबाट छानिँदा र खेलकुद र व्यक्तिगत कुनै सुविधा उपलब्ध नहुँदा पनि नेपालले विश्वस्तरीय खेलाडीहरू दिन सकेको छ। अर्कोतर्फ विश्व क्रिकेटमा नयाँ मुलुक भएकाले नेपालका खेलाडीहरू निकै कम उमेरका छन्। नेपाली राष्ट्रिय क्रिकेट खेलाडीको औसत उमेर २२-२३ वर्षको मात्र छ। यसको मतलब यही टोलीले अर्को ५-७ वर्ष खेल मैदानमा खेलिरहेर ठूलो अनुभव बटुल्न सक्नेछ।
पुरुष खेलाडी मात्र होइन, नेपालले उत्कृष्ट महिला खेलाडी पनि प्रसस्त जन्माएको छ। आफूसँग भएको ज्यादै सिमित स्रोत तथा साधनबाट आज नेपालमा यति प्रतिभाशाली खेलाडीहरू उत्पादन हुनु आफैंमा एउटा गर्वको कुरा हो।
नेपालका नेता, राजनीतिक पार्टी र सरकार भ्रष्टाचार तथा खुराफाती राजनीतिक खेल खेल्नमा नै व्यस्त छ भने यिनले खेलेका राष्ट्रघाती खेलले गर्दा आज नेपाल निकै कमजोर हुनुका साथै विश्वभर बदनाम भएको छ। हाम्रो राष्ट्रियता र हाम्रो नागरिकता तथा राहदानीको नै विश्वमा कहीँ कतै पनि कदर छैन।
यस्तो बेलामा हाम्रा खेलाडीहरूले दुनियाको मन जित्ने गरी खेल खेल्नाले नेपालको खस्केको साख अलिकति भएपनि उक्सेको छ। हालैको पाकिस्तान र भारतका ज्यादै बलिया टिमसँग क्रिकेट खेल्न र अति नै साहसिक तवरले प्रतिष्पर्धा गर्न पाउँदा नेपालको एक पटक फेरि सम्पूर्ण विश्वले तारिफ गरेको छ। खेल हार्दासमेत जित्ने भारतीय खेलाडीले नेपाली खेलाडीको खेलको सह्राहना गरेका छन्।
सन् १८१४ मा बेलायती फौजसँग पराजय भोगेर सुगौली सन्धि गर्न बाध्य भएको नेपालको वीरताको शत्रुपक्षले नै तारिफ गरेझैं अहिले पनि जित्ने टिमले नेपाली टिमलाई सलाम ठोकेको छ। यही क्रम जारी रहोस्, राज्य, विभिन्न संस्था र सम्पूर्ण खेलजगतले नेपाली खेलकुदलाई उँभो लाग्न मद्दत पुर्याउन्। यही नै कामना छ।
लेखक विकास अर्थशास्त्री र एकल व्यक्तित्व समाज, नेपालका अध्यक्ष हुन्।
Facebook Comment