किम जोङ उन रूस पुगे, आज पुटिनसँग भेटघाट हुने

डिसी नेपाल
२६ भदौ २०८० १४:०९

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न रुस पुगेका छन् ।

यसअघि उनी रसिया प्रस्थान गर्दा उत्तर कोरियाको सरकारी मिडियाले एउटा तस्विर सार्वजनिक गरेको थियो जसमा किम जोङ उन आफ्नो सशस्त्र रेलमा रुस प्रस्थान गर्नुअघि प्योङयाङका जनतालाई अभिवादन गरिरहेका थिए ।

सरकारी सञ्चारमाध्यम केसीएनएले उनको साथमा सैनिक कर्मचारीसहित उच्च सरकारी अधिकारीहरुको समूह पनि रहेको जनाएको छ ।

दुई नेताबीच मंगलबार भेटवार्ता हुने बताइएको छ । क्रेमलिनले पनि किम जोङ उन रुस आउँदै गरेको पुष्टि गरेको छ ।

बीबीसीको अमेरिकी सम्बद्ध समाचार च्यानल सीबीएस न्यूजका अनुसार पेन्टागनले किम जोङ रसियाको भ्रमणमा रहेको र उनले “कुनै किसिमको बैठक” गर्ने सम्भावना रहेको बताएको छ।

पुटिन र किम जोङ भेट भएमा यो उत्तर कोरियाली नेताको पछिल्लो चार वर्षमा पहिलो अन्तर्राष्ट्रिय भ्रमण हुनेछ । कोरोना महामारीपछि किम जोङ पहिलो पटक विदेश भ्रमणमा जाँदैछन् ।

केही दिन अघि एक अमेरिकी अधिकारीले न्यूज च्यानल सीबीएसलाई भनेका थिए कि बैठकमा युक्रेनमा जारी युद्धका लागि उत्तर कोरियाले रुसलाई हतियार उपलब्ध गराउने सम्भावनाबारे छलफल हुनेछ ।

किम जोङको अन्तिम विदेश यात्रा सन् २०१९ मा रुसको भ्लादिभोस्टोक सहरको थियो, जहाँ उनले पुटिनसँग भेट गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उत्तर कोरियाको आणविक निशस्त्रीकरण वार्ता रद्द भएपछि यो बैठक भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *