मोरक्कोले विश्वसँग सहयोग माग्यो तर फ्रान्सबाट सहयोग लिन अस्वीकार गर्यो
काठमाडौं । मोरक्कोमा गएको भूकम्पपछि विश्वभरबाट राहत सामग्री आइपुगेको छ । मोरक्कोले हालसम्म स्पेन, बेलायत, कतार र संयुक्त अरब इमिरेट्सले पठाएको राहत सामग्री स्वीकार गरेको भए पनि फ्रान्सको सहयोग भने स्वीकार गरेको छैन ।
मोरक्कोमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पले ठूलो क्षति पुर्याएको छ । भूकम्पका कारण हालसम्म करिब २५ सय जनाको मृत्यु भएको देशको गृह मन्त्रालयले जनाएको छ । कम्तिमा २४२१ जना घाइते भएका छन्। तीमध्ये धेरैको अवस्था चिन्ताजनक छ ।
राहत तथा उद्धारमा खटिएका टोलीले भग्नावशेषमुनि कोही पुरिएका छन् कि छैनन् भनी खोजी गरिरहेका छन् । भूकम्पपछि धेरै गाउँ पूर्णरुपमा ध्वस्त भएका छन् ।
यसैबीच, मोरक्कोले विश्वभरबाट मद्दत मागेको छ तर फ्रान्सबाट सहयोग लिन अस्वीकार गरेको छ।
मोरक्को फ्रान्सको उपनिवेश थियो। फ्रान्सेली विदेशमन्त्री क्याथरिन कोलोनाले आफ्नो देशको सहयोग स्वीकार गर्ने वा नगर्ने यो मोरक्कोमा निर्भर रहेको बताएकी छन् ।
उनले भने, “हामी मोरक्कोलाई सहयोग गर्न तयार छौं। तर यो सार्वभौमसत्ता सम्पन्न देश हो र सहयोग लिने वा नलिने निर्णय उसको हो।”
फ्रान्स र मोरक्कोबीचको सम्बन्ध केही समयदेखि चिसिएको छ।
Facebook Comment