कश्मीरमा अतिवादीसँगको भिडन्तमा सेनाका एक कर्णेल र एक मेजरको मृत्यु

डिसी नेपाल
२८ भदौ २०८० ११:०६

काठमाडौं । कश्मीरको अनन्तनागमा अतिवादीसँगको भिडन्तमा भारतीय सेनाका एक कर्णेल र मेजरको मृत्यु भएको छ ।

भारतीय सेनाले कर्णेल राष्ट्रिय राइफल्सको एक युनिटका कमाण्डिङ अफिसर रहेको बताएको छ । यस बाहेक यस भिडन्तमा जम्मू कश्मीर पुलिसका एक अधिकारीको पनि मृत्यु भएको छ।

गुप्तचर सूचनाका आधारमा यो कारबाही सुरु गरिएको सेनाले जनाएको छ ।

श्रीनगरबाट बीबीसी संवाददाता रियाज मसरूरले भने, “पुलिस र सेनाबाट प्राप्त पछिल्लो जानकारी अनुसार सेनाका एक कर्णेल र मेजरको मृत्यु भएको छ। यसबाहेक प्रहरीका डीएसपीको पनि मृत्यु भएको छ।”

“अपरेसन अझै जारी छ र उच्च प्रहरी अधिकारीहरू पनि घटनास्थल पुगेका छन्। सम्पूर्ण क्षेत्र घेराबन्दी गरिएको छ र खोजी अभियान जारी छ।”

रियाज मसरूरका अनुसार यो अपरेशन हिजो राति सुरु भएको हो ।यसअघि भारतीय सेनाले ट्वीटमार्फत अनन्तनागमा जारी अपरेशनको प्रारम्भिक जानकारी दिएको थियो ।

सेनाले ट्वीट गरेको थियो, “आतंकवादीहरूको उपस्थितिको बारेमा सटीक गुप्तचर सूचना पछ्याउँदै भारतीय सेना र जम्मू कश्मीर पुलिसले १२-१३ सेप्टेम्बरको मध्यरातमा अनन्तनागको गारोल क्षेत्रमा संयुक्त अपरेशन शुरू गर्यो। फायरिंग जारी छ। अपरेशनका क्रममा दुई सेना र प्रहरी घाइते भएका छन्। अपरेशन जारी छ।”

जम्मू कश्मीरका पूर्व मुख्यमन्त्री उमर अब्दुल्लाले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

उनले भने, “यो अत्यन्तै दुखद खबर हो। कोकङगाममा सेनाका एक कर्णेल, एक मेजर र प्रहरीका एक डीएसपी शहीद भएका छन्। यी मानिसहरूले आतंककारीहरूसँग लड्दै आफ्नो ज्यान दिएका छन्। उनीहरूको आत्माले शान्ति पाओस।”

यसैबीच, सुरक्षा बलले जम्मूको राजौरीमा भएको भिडन्तमा दुई चरमपन्थीलाई मारेको छ। यो भिडन्त मंगलबारबाट सुरु भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *