‘बुबाको मुख हेर्ने दिन’को शुभकामना दिएको केहीबेरमै बुबाको निधन भएपछि…
खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलका हिमाल आचार्यले बिहान ९ बजे बुवा, आमा र आफ्नो तस्वीर सामाजिक सञ्जाल फेसबुकमा राखेर ‘बुवाको मुख हेर्ने दिन’को शुभकामना दिए।
सत्र वर्षीय हिमालले आफ्नो फेसबुकमा ‘बुबाको मुख हेर्ने दिनको धेरै-धेरै शुभकामना बाबा। सदैव हजुरको दीर्घायु र खुसीको कामना गर्दछु। भगवान्सँग यो नै प्रार्थना छ कि, हजुरको सबै नराम्रो र खराब समयको अन्त्य भई सधैँभर खुसी मिलोस्। हरेक औँसीमा हजुरलाई स्वस्थ र खुसी हेर्न पाइराखुम्। अहिलेको यो जटिल समयको चाँडै अन्त्य होस् र हजुरलाई शीघ्र स्वास्थलाभको कामना बाबा।’ भनेर लेखेका थिए।
हिमालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो बुबाको दीर्घायु र स्वास्थ्यलाभको कामना गरेको केही क्षणमै उनका बुबा चन्द्रप्रसाद आचार्यको निधन भएको खबर प्राप्त भयो।
जिल्ला अस्पताल खोटाङमा उपचार सम्भव नभएपछि काठमाडौँस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार गराइरहेका चन्द्रप्रसादको निधन भएको खबरले अहिले गाउँ नै शोकमग्न भएको छ।
हप्ता दिनअघि सामान्य बिरामी परेका चन्द्रप्रसाद छ दिनअघि उपचारका लागि जिल्ला अस्पताल खोटाङमा भर्ना भएका थिए। जिल्ला कारागार खोटाङको सहलेखापाल पदमा कार्यरत चन्द्रप्रसादको काठमाडौँ पुगेको तीन दिनपछि बिहीबार बिहान करिब पौने नौ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
नेपाल निजामती कर्मचारी संगठन खोटाङका साधारण सदस्यसमेत रहेका चन्द्रप्रसाद सेवाप्रति इमानदार, कर्तव्यनिष्ठ र मिलनसार कर्मचारी रहेको संङ्गठनका केन्द्रीय सदस्य मोहन भट्टराई बताउँछन्।
“देशभर साढे ८६ हजार निजामती कर्मचारी कार्यरत छन्। हाम्रो संगठनका साधारण सदस्य चन्द्रप्रसाद आचार्य सय जनाभित्र पर्नुहुन्थ्यो”, उनले भने, “अल्पायुमै उनको निधन हुनु दुःखद् हो। देशले एउटा इमानदार र कर्तव्यनिष्ठ राष्ट्रसेवक कर्मचारी गुमाएको छ।”
चन्द्रप्रसादको निधनले आचार्य वंशकै इमान्दार र सामाजिक व्यक्तित्व गुमेको नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद् सदस्य एवं प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य हरिबोल आचार्यले बताए।
निमोनियाका कारण निधन भएका ४५ वर्षीय चन्द्रप्रसादको घरमा श्रीमती तथा एक छोरा र एक छोरी रहेको भाइ जीवन आचार्यले जानकारी दिए।
घर खर्चका लागि कमाइ गर्ने अभिभावकको अल्पायुमै निधन भएपछि आश्रित परिवारको बिचल्ली छिमेकीले बताएका छन्। मृतक चन्द्रप्रसादको छोरा हिमाल १७ वर्षका छन् भने छोरी हिमाञ्जली १४ वर्षकी छन्। रासस
Facebook Comment