हामी जनजाति कि आदिबासी ? 

हरिप्रसाद सोडारी
३ असोज २०८० ८:४१

हिऊँमा खेल्ने, हिऊँसँगै मिल्ने, हिऊँमा साधना र खेती गर्नेलाई हिन्दू भनियो। हिन्दूकुशदेखि हिन्दमहासागरसम्म, हिमालदेखि हिमनदीले सिञ्चिएका स्थानमा बस्नेहरु हिन्दू हुन्।

हिन्दूहरुले ३३ कोटी देवीदेवता पूजे, वेदअनुसार बाँचे, मुन्धुमअनुसार बसे, त्रिपिटकअनुसारको जीवन बिताए। सिन्धुबाट आएका, मंगोलबाट झरेका, वनारसबाट उक्लिएकाहरुभन्दा पहिले यो भूमिमा ऋषिहरुले ध्यान गरेका थिए।

स्वयम्भूपुराण, हिमवत्खण्ड, तन्त्रका ग्रन्थहरुले नेपालमा मन्त्र, तन्त्र, यन्त्रलाई संस्थागत गराउने महामनाहरुको बसोबास गरेको बताउँछ। यिनीहरुको थर दिएन जात थियो। त्यसैले हाम्रा ग्रन्थमा जात छ थर छैन। ब्रम्हाजीको मानससृष्टि मानसरोवर वरपरबाट पहिलोपटक शुरु भयो।

हिमाल र पहाडको शिखरबाट, गुफा र नदी किनाराबाट मानवहरूले सनातनधर्म र वैदिक संस्कृतिको बिगुल फुके। हाम्रा पुर्खाहरू अफ्रिकाबाट आएका डुलुवा, सिन्धुघाँटीका बासिन्दा, मंगोलबाट हिँडेका जत्था होइनन्।

हाम्रा शास्त्रले प्राचीन कालदेखि नेपालमा बस्दै आएका आचार, विचार र संस्कारमा पक्का, नैतिकवान, मन्त्रद्रष्टा ऋषिमुनिहरूका सन्ततिलाई हिन्दू भनेका छन्।

पाणिनिको धातुपाठअनुसार हिडि धातुबाट हिन्दू शब्द बन्दछ। पाणिनि कहाँ र कुन शताब्दीका थिए, त्यो खोजको विषय छ। केही विद्वान्हरूले पाणिनिको जन्मभूमि अर्घाखाँचीजिल्लाको पणेना गाउँ बताएका छन्।

हाम्रा शास्त्र, ग्रन्थ, भूगोल, जीवनशैली, संस्कृति आदिले हिन्दूहरू आर्यावर्तका सन्तति भएको बुझाउँछ। हिन्दूहरू हिमालयका सन्तान, पहाडका बासिन्दा, नदीकिनारका तपस्वी, तराईका किसान हुन्।

मानसरोवर, कालीकोटको मान्मा, मनाङदेखि गोरखाको मनास्लुहिमालसम्म मनुको साधनास्थल थियो। सत्ययुगमा महादेवले पाशुपतक्षेत्रमा किरातरूप लिए। ब्रम्हाजीका नाति विश्रवाले गोकर्णमा साधना गरे।

त्रेतायुगमा राजा जनकको ज्ञान प्रचार क्षेत्र, द्वापरयुगमा अर्जुनको साधनास्थल, कलियुगमा गौतम बुद्धको जन्म नेपाल भूमिमा भयो। रावणदेखि वाल्मीकिसम्म, बाणासुरदेखि गोरखनाथसम्म, परशुरामदेखि मञ्जुश्रीसम्मले यही भूमिलाई आश्रयस्थल बनाए।

नेपालमा बस्दै आएका किरात, ब्राम्हण, दलित, आदिबासी सबै हिन्दू हुन्। तिनीहरूका परम्परा, जीवनशैली, संस्कृतिमा समानता छ। कुलपूजादेखि पर्वसम्म कतै भेद देखिन्न। मठमन्दिर र माटो एउटै, घर र गोठ उस्तै तर भाषा र अनुहारमात्र फरक हुँदा पुर्खामा भिन्नता हुन्छ र? घर झगडा भयो भन्दैमा आमाबुबा छोड्न, भाइबहिनी साट्न मिल्छ र? किरातहरूले पारुहाङ र हिन्दूहरूले महादेवलाई पूज्नु एउटै हुन्।

पार्वती, गार्गी, सीता, भृकुटी आदि यही भूमिका उपज हुन्। सृष्टिको उषाकालदेखि हजारौँ यस्ता देवीदेवता, ऋषिमुनि, महापुरुष आदिले यो भूमिलाई जन्म र कर्मस्थल बनाएका प्रमाण शास्त्रमा सर्वत्र पाइन्छन्।

आदिमकालदेखि नेपालमा देवीदेवता, ऋषिमुनिका सन्ततिबाहेक अरूको बसोबासै थिएन। नेपालका विभिन्न गुफा, नदी किनारा, उपत्यका आदिमा फेला परेका मानव हड्डी रामापिथेकस, नियन्डरथल आदिको होइन ऋषिमुनि र महापुरुषहरूका कंकाल हुन्।

सृष्टिको दोस्रो परार्धको कलियुगसम्म आइपुग्दा मानिस उत्पत्ति भएको कैयौँ अर्ब वर्ष बितिसकेका छन्। नाक र अनुहारको आधारमा डलर कमाउन, राजनीतिक स्वार्थ पूरा गर्न लागेकाहरूले इतिहास बुझेर पुर्खामाथि गौरव र गर्व गरुन्।

नेपालमा बस्दै आएका किरात, ब्राम्हण, दलित, आदिबासी सबै हिन्दू हुन्। तिनीहरूका परम्परा, जीवनशैली, संस्कृतिमा समानता छ। कुलपूजादेखि पर्वसम्म कतै भेद देखिन्न।

मठमन्दिर र माटो एउटै, घर र गोठ उस्तै तर भाषा र अनुहारमात्र फरक हुँदा पुर्खामा भिन्नता हुन्छ र? घर झगडा भयो भन्दैमा आमाबुबा छोड्न, भाइबहिनी साट्न मिल्छ र? किरातहरूले पारुहाङ र हिन्दूहरूले महादेवलाई पूज्नु एउटै हुन्।

किरातहरूले पूज्ने सुम्निमा र हिन्दूहरूले पूज्ने जगन्माता पार्वतीमा के र कहाँ अन्तर छ? किरात, लिच्छवि र मल्लले शासन गर्दा ब्राम्हणहरूले माला जपेर, वेद र मुन्धुम पढेर, त्रिपिटकलाई अध्ययन गरेर विद्या परम्परालाई सुरक्षित गरेका थिए।

क्षत्रीयले त्रिशूल, भाला, बन्दूक र ढुंगााले सीमा रक्षा गरे। वैश्यले सुन, नुन र ऊनको प्रबन्ध गरे। शूद्रले सेवा र उद्धारमा समर्पित भए। यो शिक्षा, संस्कार, सद्भाव, सहयोग र समन्वयको पाठ हामीलाई चिम्पाञ्जीले सिकाएको होइन।

नेपालका प्रत्येक पत्थरहरूमा शिवको बास छ, प्रत्येक नदी र जलप्रवाहहरूमा विष्णुको निबास छ, प्रत्येक फूलहरूमा ब्रम्हाको तपस्यास्थल छ, प्रत्येक पहाडमा दुर्गाको सुवास छ।

यो शाक्त भूमि, शैव भूमि हो, किरात भूमि हो, आर्य भूमि हो, साधना भूमि हो, वैदिक सनातनधर्मले पवित्रतम बनेको भूमि हो। वेद, त्रिपिटक र मुन्धुम यही भूमिमा जन्मियो। पशुपतिको निबासस्थल, महादेवले नाचेको भूमि, सीताले शिवधनुष उचालेको स्थल पनि नेपालै हो।

व्याकरणका चौध सूत्र, सनकादि ऋषिहरूको सिद्धस्थल मकवानपुरजिल्लाको महादेव गा.वि.स.मा पर्छ, स्थानीयहरूले त्यसलाई नटारमेश्वर (लटरम्मेश्वर) भन्दछन्।

यही स्थलमा महादेवले तण्डु ऋषिलाई ताण्डव नृत्य सिकाउनुभयो। ललितपुरको गोटीखेलमाथिको पर्वतमा रहेका कालेश्वरशिवलिंगमा यमराज आएर तपस्या गरे। मकवानपुरको पालुङनजिकै पाण्डुकेश्वरशिवलिंगमा पाण्डवहरूले पूजे।

भक्तपुरको वाल्मीकीश्वर शिवलिङलाई वाल्मीकिले स्थापना गरे। वाल्मीकिले नवलपरासीको भैँसालोटनमा आश्रम बनाएर सीताका पुत्रहरू लव र कुशलाई शिक्षा-दीक्षा दिए। नुवाकोटको कपिलासमा राक्षसराज रावणले राक्षसेश्वर शिवलिङ स्थापना गरे।

असित ऋषिले गौतम बुद्धलाई बत्तीस लक्षणले युक्त देखेपछि नारायणकै अंश हुन् भनेका थिए। असित ऋषिले स्थापना गरेको असितेश्वरशिवलिङ धादिङजिल्लाको महादेवबेसीमा पर्दछ।

महर्षि उद्दालकले उपासना गरेको उद्दालकेश्वरशिवलिङ दक्षिणकालीमन्दिरनजिकै फाँटमा अवशेषका रूपमा देख्न पाइन्छ। यी तथ्यहरूबाट प्राचीन कालदेखि नेपालमा बसेर देवीदेवता र ऋषिमुनिहरूले शिव र शक्तिको साधना, उपासना, पूजा गरेको पुष्टि हुन्छ।

आज जुन जात, थर, वर्ग र वर्णका मानिस नेपालमा छौँ ती सबै उनीहरूकै सन्तान हुन्। देवीदेवताका अंश, ऋषिका सन्तानहरूलाई जनजाति गुट, आदिबासीका उपगुट एवं दलितका झुण्डमा विभाजित गराई लुछाचुडी गर्नु न त धर्म हो, न त कर्तव्य हो। साँचो इतिहास बुझेर भाइचारामा रमाउनु नै हाम्रो जिम्मेवारी हो।

अनादिकालदेखि नेपालका पहाडी र हिमालीक्षेत्रमा राक्षस, ऋषि र देवीदेवताको साधनास्थल थियो भन्ने तथ्य यहाँको पञ्चतत्वले बताउँछ। जस्तै कुम्भकर्णले तपस्या गरेको हिमालको नाम कुम्भकर्णहिमाल भयो।

धादिङ जिल्लामा रहेको गणेशहिमाल पार्वतीका पुत्र गणेशको तपस्थल थियो । दोलखा जिल्लाको गौरीशंकर हिमाल नै महादेव र पार्वतीको निबासस्थल, विश्वामित्रको साधनास्थल भएकाले आरोहणका लागि सरकारले प्रतिबन्ध लगाएको छ।

गौरीशंकरकै देशान्तर रेखालाई आधार मानेर नेपालको स्टाण्डर समय निर्धारण गरिएको छ। संखुवासभा जिल्लाको सभापोखरीमा देवीदेवता र ऋषिमुनिहरूको सभा हुन्थ्यो। गोरखा जिल्ला  देवर्षि नारदको साधनास्थल नभए कसरी नारदपोखरी यहाँ रहन्थ्यो?

गोरखा र लमजुङको साँधमा पर्ने दूधपोखरीको निकासबाट चेपे नदी बहन्छिन्। जहाँ द्रव्य शाह र नरहरि शाहलाई उनकी आमाले दूधको अपमान नगर्नु भनी दूध बगाएर गोरखा र लमजुङको विवाद अन्त्य गर्न सिमाना छुट्टाएकी थिइन्।

चेपेको उत्पत्तिस्थल दूधपोखरीनजिकै च्यवन ऋषिको गुफा छ। तनहुँ जिल्लाको दमौलीमा पराशर एवं व्यास गुफा छ। जसलाई संरक्षण, संवद्र्धन, प्रचारप्रसार र सदुपयोग गर्न सकेका छैनौँ। पाल्पाको माडीलाई माण्डव्य ऋषिको जन्मभूमि र तपोभूमि मानिन्छ।

मुद्गल ऋषिको आश्रम मुग्लिनको डाँडामा थियो। गुल्मीको रेसुंगालाई श्रृङ्क ऋषिले, कालीञ्चोक र कञ्चनजंघालाई दुर्गाले, सीताले जनकपुरलाई, अर्घाखाँचीजिल्लाको पीपलथोकलाई दुर्बासा ऋषिले, अरूण नदीमा अरूण, वरुण नदीको किनारमा वरुण एवं कौशीकीको पावन तटमा कुशिकले साधना स्थल बनाए।

ब्रम्हाले समान हैशियतमा चार जात बनाए तर पश्चिमाले यसैमा विष मिसाई हामीलाई फुटाए। अरूले टुटाउँदैमा हामी टुक्रिन हुँदैन, भाँचिन हुँदैन। नेपालीले इतिहासलाई बुझ्दै, पुर्खाको गौरवमा गर्व गर्दै एकाकार हुनुपर्छ, लुप्त प्रमाणलाई खोज्नुपर्छ, गुप्त ज्ञानलाई उजागर गर्नुपर्छ।

आदिमकालदेखि नेपालका विभिन्न जंगल र कन्दरामा ज्ञानले भरिपूर्ण, विज्ञानले सम्पन्न महामना बस्दथे। उनीहरू जात, भातले विभाजित होइन विवेक र विकाशले सम्पन्न भई गोलबन्ध थिए।

ऋषिमुनिहरूले ‘जहाँ जंगल उहीँ मंगल भन्ने सूत्रलाई शिरोधार्य गर्दथे। उनीहरूलाई घरमा बसेर, सडकमा आसन कसेर योग, ध्यान, ज्ञान, ब्रम्हचिन्तन हुँदैन भन्ने थाहा थियो।

पश्चिमा वैज्ञानिकहरूले प्राचीन कालका मानवहरू अशिक्षित, असभ्य, अज्ञानी थिए भनी गलत र भ्रमपूर्ण प्रचार गर्दैछन्। आर्यावर्तबाहेकका महादेशमा मानिसहरू जंगली, असभ्य वा बाँदर हुन सक्लान् तर यहाँका होइनन्।

हाम्रा पुर्खाले पुष्पक विमान, इन्द्रको सभाभवन, त्रिपुर शहर, युधिष्ठिरको सभाभवन, कृष्णको द्वारकापुरी, तक्षशिला-नालन्दा-बलभि-विक्रमशिला आदि विश्वविद्यालय निर्माण गरेका थिए।

विश्वकर्मा, नल, निल, मयलगायतका इन्जिनियरहरू थिए। वेदको संकलन, पुराणको लेखन, योगको अभ्यास, नृत्यको प्रशिक्षण, यन्त्रको आविष्कार गर्ने पुर्खालाई कसरी बाँदर थिए भन्न सकिएला? विश्व समाजलाई ज्ञानको ज्योति बाँड्ने आर्य थिए, किरात थिए, ऋषि थिए।

पौरस्त्य (पूर्वीय) विज्ञानले मानिसका जन्मदाता ब्रम्हा, ऋषिमुनि, देवता भएको पुष्टि गर्छ। आफ्नो इतिहास र शास्त्र नहेरी पश्चिमाहरूको लहै-लहैमा लागेर हाम्रा पुर्खाका केही सन्तान अहिले क्षणिक स्वार्थका लागि कोही अमिबाका छोराछोरी हुनमा आनन्द मान्ने, कोही बाँदरका सन्तान बन्नमा गौरव ठान्ने, अर्काथरि चिम्पाञ्जीको वंशज भएकोमा गर्व गर्ने, केही रामापिथेकसका पुत्रपुत्री हुनमा उद्दत हुने क्रम बढ्दोछ।

यसकै दुष्परिणामले एउटै पुर्खाका सन्तान कोही जनजाति, कोही जाति, कोही आदिबासीको पगरी गुथेर ठाडो शिर बनाउन खोज्दै छन्। कोही धमिलो पानीमा भ्यागुतो समातेर माछो भनी रमाउँदैछन्।

यस क्षेत्रका बाँदर (हनूमान्) पनि ज्ञानका मर्मज्ञ थिए, भालु (जम्बवान्) त्रिकालदर्शी थिए, साँढे (नन्दी)हरू परमतत्व ज्ञानी थिए, बाघहरू नृसिंह बनेर दैत्यलाई मार्थे, माछाहरूले वेदलाई जोगाउँथे, कछुवाहरूले पृथ्वीलाई डुब्नबाट बचाउँथे।

मर्यादा पुरुष रामले सवरीको जुठो बयरलाई सम्मान गरे। गरिब (सुदामा) र सम्पन्न (कृष्ण) बीच मित्रता थियो। उपनिवेश फैलाउने, अन्य देशको प्राकृतिक स्रोत र साधनलाई आफ्नो हातमा लिने बाँदरेकाम हाम्रा पुर्खा र हामीले गरेनौँ।

पश्चिमाले धर्म र राजनीतिका तानावानामा अरूको अर्थ एवं अस्मिता उडाए। उनीहरूको बम संस्कृति, हाम्रो मन्त्र संस्कृति भएकाले पुर्खा फरक हुनु स्वाभाविकै हो। त्यसैले हिन्दूहरू सभ्य संस्कार र असल संस्कृतिका धनी, प्रकृतिका पूजक, अहिंसावादी, वेदका अनुयायी भएको प्रष्टै हुन्छ।

पुर्खाहरू जाति र जनजातिका कित्तामा होइन एकतामा एक ढिक्का थिए। हामीलाई टुटाउन, फुटाउन, झुक्याउन अहिले जाति र जनजातिको परिभाषा यसरी गरिएको छ- ‘“हिन्दूधर्मबाट निर्देशित, बन्द व्यवस्थामा आधारित, मानिसलाई ब्राम्हण, क्षत्री, वैश्य, शूद्रमा विभाजन गरिएको व्यवस्था नै जात हो।

हिन्दूधर्मभित्र नपर्ने आफ्नै मौलिक भाषा, धर्म, संस्कृति, कला, रीतिरिवाज भएका जसको लिखित वा अलिखित इतिहास छ, तिनीहरूलाई जनजाति भनिन्छ।” यस्ता परिभाषाले परीक्षा पास गराउँछ, डलर कमाउँछ, हामीलाई झगडा गराउँछ।

सं गच्छध्वं सं वदध्वं सं वो मनांसि जानताम्।
देवा भागं यथा पूर्वे संजानाना उपासते।। —ऋग्वेद (१०।१९०।२)

अर्थात्, “मिलेर हिँड, मिलेर बोल। तिमीहरूको मनको भाव समान होस्। जसरी पहिले देवताहरू मिलेर आआफ्नो भाग (हवि) ग्रहण गर्दथे, त्यस्तै तिमीहरू पनि मिलेर आफ्नो धन स्वीकार गर।” नेपालीमाथि जातिवादको खाँडो जगाएर, आदिबासीको डढेलो लगाएर विदेशीले नेपालबाट के के लुट्दै छन् बुझ्न आवश्यक छ।

आफ्नी आमालाई नमस्कार, अर्काकी आमालाई ढोग्ने कृतघ्नहरूको जमात बढ्दोछ। ‘जनको अर्थ मानिस ‘र जातिको अर्थ समूह हुन्छ अर्थात् मानिसहरूको समूहलाई जनजाति भनिन्छ।

छोटो कद, थेप्चो नाक, चेप्टो अनुहार भएका मानिस समूहमा पर्छन् भने बाहुन र क्षत्रीहरूलाई कुन जातिमा राख्ने? शब्दजालमा हामी कसरी फसेका छौँ बुझ्न र सोच्न आवश्यक छ।

शब्दको अर्थै नबुझ्दा दीर्घकालसम्म राष्ट्र र समाज द्वन्द्वको दलदलमा फस्छ। जस्तै मतवाली भनेर मादक पदार्थ सेवन गर्नेलाई बुझ्न थालिएको छ। मतको अर्थ भोट हुन्छ। मतवाला भनेको जनप्रतिनिधिलाई भोट दिनेवाला हुन्छ।

मादक पदार्थ सेवन गर्नेलाई मतवाला होइन मदवाला वा मदवाली भन्नुपर्छ। बालिग मताधिकार भएका सबै नेपाली मतवाली हुन्। चाँगुनारायणको शिलालेखअनुसार ‘राजा मानदेवलाई धर्मदेवको मृत्युपछि सामन्तहरूले दुःख दिन थाले।

देशम्प्रीतमनास्तदा खलु धनम्प्रादाद्विजेभ्योक्षयम् भनी उनीहरूलाई मानदेवले जितेपछि रुद्री पढाएर ब्राम्हण्हरूलाई दक्षिणा दिएका थिए। मानदेवले क्षत्रीय धर्मअनुसार शासन चलाएको बताएका छन्।

वि. सं. ५२१ अघिदेखि काठमाडौँ खाल्डोमा ब्राम्हण, क्षत्रीलगायतका चारै वर्णका मानिस थिए भने उनीहरू आदिबासी हुन कि? शरणार्थी हुन् कि? जाति हुन्? चिन्तन गर्न आवश्यक छ।

सं. ४५२ को ललितपुरस्थित खपिञ्छेंको शिलालेखमा ब्राम्हणधु्रवसेनेन, मानगृहबाट सं. ४८२ मा जारी गरिएको दुईवटा शिलालेखमा ब्राम्हणको चर्चा छ, देवपाटनको सं ६९को शिलालेख, नक्साल भगवतीवहालको सं ७८को अभिलेख, कैलाशकुट भवनबाट सं ८३ मा जागरिएको अभिलेख, चपलीगाउँको सं ४८९को शिलालेखले ब्राम्हणसहित अन्य जाति प्राचीन कालदेखि नेपालमा बस्दै आएका बताउँछ।

नाक र भाषा, पेसा र चिन्तनलाई आधार मानेर समाज फुटाउन, परिवार टुटाउनेहरुले हाम्रा ग्रन्थ अध्ययन गर्न आवश्यक छ। पुराण, त्रिपिटक, मुन्धुम, शिलालेख, भोजपत्र आदिलाई साक्षी राखी हिमाल, पहाड र तराईलाई सोध्दा वर्तमान समयका नेपालीहरू यही भूमिका सन्तान, आदिबासी वा रैथानीया भएको तथ्यसहित पुष्टि हुन्छ।

जनजाति र आदिबासीमा विभाजित गरेर राजनीतिक स्वार्थ पुरा होला, चर्चा पाइएला, विदेशी प्रभू खुसी होलान्, केही वर्ष पद टिक्ला तर दीर्घकालमा तिनीहरुले पतनको बाटो धाउनै पर्छ। हामी नेपाली हौँ जनजाति होइनौँ, हामी देवीदेवताका सन्तान हौँ मंगोलियन होइनौँ, हामी भूमिपुत्र हौँ मुसलमानले लखटेका शरणार्थी होइनौँ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *