इरानमा महिलाको ड्रेस कोडसम्बन्धी विवादास्पद विधेयक पारित, १० वर्ष जेल सजायको प्रावधान
काठमाडौं । इरानको संसदले ड्रेस कोडको उल्लङ्घन गर्ने युवती र महिलालाई अधिकतम १० वर्षको जेल सजाय दिने विवादास्पद विधेयक पारित गरेको छ ।
यो विधेयक संरक्षक परिषद्बाट स्वीकृत भएपछि मात्र कानुन बन्नेछ । गत वर्ष २२ वर्षीया महसा अमिनीको मृत्युपछि इरानमा राष्ट्रव्यापी विरोध प्रदर्शन सुरु भएको थियो ।
महसालाई हिजाब लगाउने नियम उल्लङ्घन गरेको आरोपमा हिरासतमा राखिएको थियो, त्यही क्रममा उनको मृत्यु भएको थियो ।
उक्त विरोध प्रदर्शनका क्रममा महिलाले टाउकोमा लगाउने स्कार्फ जलाएर हावामा लहराए ।
देशमा अब हिजाब नलगाउने महिला र केटीहरूको संख्या बढ्दै गएको छ। अहिले केटी वा महिलाले ड्रेसकोड पालना नगरे १० दिनदेखि दुई महिनासम्म जेल सजाय हुनसक्छ ।
बुधबार सांसदहरुले ‘हिजाब र शुद्धता विधेयक’ पारित गरेका छन् । यो विधेयक ऐन बनेमा त्यसको उल्लंघन गर्ने युवती तथा महिलालाई ५ देखि १० वर्षसम्म जेल सजाय हुन सक्नेछ ।
Facebook Comment