अम्बेडकर र धर्म परिवर्तन

कपिल लोहनी
६ असोज २०८० ५:४९

समाजबाट जाति र रंगको भेद तथा छुवाछुत हटाउने हेतुले पुरै जीवन यही पुण्य कार्यमा अर्पेका विश्वका महान् व्यक्तित्वहरू मध्ये बाबासाहेब भीमराव रामजी अम्बेडकरको नाम अग्रपंक्तिमा आउँछ।

पुरै भारतमासमेत महात्मा गान्धी पछिका अति सम्माननीय व्यक्तिमा अम्बेडकल नै पर्दछन् र गान्धी पछि सबैभन्दा बढी शालिक पनि उनैका ठडिएका छन्। प्रसिद्ध लेखक तथा राजनीतिज्ञ शशी थारुरद्वारा लिखित पुस्तक ‘अम्बेडकर- अ लाइफ’ पढेपछि अम्बेडकरका बारेमा संक्षिप्तमा र उनको धर्म परिवर्तन बारेका केही कुरा लेख्ने इच्छा जाग्यो।

आज नेपालमा दलित तथा विपन्न वर्गको हितमा काम गर्ने कैयन् व्यक्ति र संस्थाहरू छन्, तिनले पनि यो पुस्तकको अध्ययन गरे झनै उचित तवरले काम गर्ने हौसला बढ्थ्यो होला।

स्वतन्त्र भारतको संविधान डा. अम्बेडकरले ८ सदस्यीय समितिको अध्यक्षता गरेर अथक परिश्रम तथा वौद्धिक क्षमताको प्रदर्शन गरेर निर्माण गरेकोले उनलाई भारतको संविधानका पितासमेत भनिन्छ।

विश्वमा नै अति विशाल जनसंख्या, विविध जातजाति, भाषा-भाषी धर्म र संस्कृति भएको भारतका सबै जनतालाई समेट्न सक्ने संविधानको निर्माण गर्ने काम त्यति सजिलो थिएन।

संविधान सभाको निर्वाचनबाट चुनिएर आएका तथा विभिन्न क्षेत्रका विद्वानहरू सम्मिलित वृहत कार्यदलले समेत खासै काम गर्न नसकेको बेलामा यो कार्यदलका अध्यक्षसमेत रहेका डा. अम्बेडकरले आखिर आफ्नो एक्लो प्रयासमा भएपनि संविधान बनाएर नै छाडे, जुन संविधान बेला बेलाको संशोधनसहित आजसम्म चलि नै रहेको छ।

प्रजातन्त्र, धर्म निरपेक्षता तथा सबै जातजाति तथा वर्गको हकहितको रक्षा गर्ने संविधान निर्माण गरेकोले नै उनी भारतको आधुनिक इतिहासमा एक पुजनीय हस्तीको रूपमा परिचित छन्।

संविधानको घोषणा गर्ने बेलाको आफ्नो भाषणमा उनले भारतका तत्कालीन उच्च पदस्थ कर्मचारी श्री बी.एन.राउलाई सो संविधानको प्रारम्भिक खाका तयार गरेकोमा हार्दिक धन्यवाद ज्ञापन गरेका थिए। आजको दिनसम्म भारतको संविधान १०५ पटक संशोधन गरिएर समय सापेक्ष बनाइएको छ।

सन् १९९१मा ‘महर’ भनिने तल्लो जातको अछुत समुदायमा जन्मेका अम्बेडकर सानै उमेरमा अनाथसमेत हुन पुगेकाले आफ्नो वाल्यकाल र युवावस्थामा अछुत भएकै कारण उनले निकै धेरै कठिनाई झेल्नु पर्‍यो।

विद्यालयमा हेयको दृष्टिले हेरिनुका साथै उच्च वर्गका विद्यार्थीहरूबाट पृथक बसेर अध्ययन गर्नु पर्ने, धारा, पानी र मन्दिर तथा कार्य क्षेत्रमा समेत चरम विभेद सहनु पर्ने अवस्थाको सामना गर्नु परेकोले गर्दा उनको मनमा सानै उमेरदेखि विद्रोहको भावना जागृत हुन शुरु भएको थियो।

त्यसैले युवावस्थादेखि नै उनी अछुत तथा तल्ला जातका मानिसहरूको उत्थान कसरी गर्ने र उनीहरूको जीवनशैलीलाई मर्यादित कसरी बनाउने भन्ने कुरामा नै केन्द्रित भएर संघर्षमा उत्रिए।

आफ्नो व्यक्तिगत उत्थानको निम्ति उनले निकै मेहनत र संघर्षका साथ देशभित्र र बाहिर ज्यादै उच्च शिक्षा हासिल गरे। यस क्रममा उनले धेरै कठिन परिस्थितिको सामना गर्नुका साथै पटक पटक चरम तिरस्कार र अपमान सहनु परेको थियो।

जातपात र उचनिचको भेदभाव हटाउने कुरामा उनको विचार गान्धी र नेहरुको भन्दा पनि अग्रगामी हुने गर्दथ्यो। त्यसैले पनि बेला बेलामा उनको अन्य वरिष्ठ नेताहरू र अंग्रेजहरूसँग समेत मतभिन्नता र टकरार भइरहन्थ्यो।

आफूले थालेका संघर्षलाई निक्र्यौलमा पु¥याउन उनी जस्तो सुकै कठिन बाटो पक्रन पनि पछि हट्दैनथे भने आफ्ना समर्थक र आर्थिक सहयोग गुम्ने कुराको पनि पर्वाह गर्दैनथे।

सन् १९४६ को संविधान सभाको निर्वाचनमा डा. अम्बेडकरको तल्लो वर्गको प्रतिनिधित्व गर्ने पार्टीले एकाध सिट बाहेक सबै ठाउँमा हार खानु प¥यो भने मुसलमानहरूको छुट्टै राष्ट्रको माग गर्ने मुस्लिम लिगले र भारतीय राष्ट्रिय कांग्रेसले ठूलो जीत हात पारे।

डा. अम्बेडकर आफैं पनि बम्बैबाट निर्वाचनमा हारे। तर पछि बंगालबाट जिते। त्यतिबेलाको हिन्दू मुस्लिम मुद्दाले अन्य सबै मुद्दालाई ओझेलमा पार्नाले निर्वाचनमा यस्तो परिणाम आएको थियो।

यो निर्वाचन पश्चात् छुट्टै राष्ट्रको माग गर्ने मुस्लिम लिगले संविधान निर्माणको घोर विरोध गर्‍यो र आफ्नो जीतलाई पाकिस्तान निर्माणको लागि प्राप्त मतको रूपमा लियो। भारतभर हिन्दू-मुस्लिम दंगाले उग्र रूप लिन थालेपछि भारतको विभाजन हुने करिव करिव निश्चित भयो।

३८९ सदस्यीय संविधान सभामा मुस्लिम लिगको बहिस्कारको वावजुद पनि संविधान निर्माणको कार्यलाई २९९ सदस्यहरूले निरन्तरता दिए। १९४७ को अप्रिलमा संविधान सभाले अम्बेडकरले जीवनभर माग गरिरहेको छुवाछुत विरोधी विधेयक पास गरेर भारतबाट सबै प्रकारको छुवाछुत र जातपात सम्बन्धि विभेदको अन्त भएको घोषणा गर्‍यो।

केही समय पश्चात वेलायती संसदले भारतीय स्वतन्त्रता विधेयक अनुमोदन गरेपछि भारत टुक्रिएर मुस्लिमहरूको भिन्दै राष्ट्र बन्ने कुराको टुंगो लाग्यो र भारत तथा पाकिस्तान दुई स्वाधीन राष्ट्र बन्न गए।

एउटै मातृभूमिका सन्तान भएर पनि यिनीहरू त्यो विभाजन पश्चात आजसम्म ठूला शत्रु राष्ट्र भएर एकापसमा लडिरहेका छन्। विभाजनको समयमा दुवैतिर लाखौँ मानिसहरू बिचल्लीमा परे भने पाकिस्तान (पूर्वी र पश्चिमी दुबैतिर)मा रहेका हिन्दू र शिखहरू घृणाका शिकार बन्न थाले र कैयनले ज्यान गुमाए भने कतिपयले मुस्लिम वा इसाई धर्म अंगाल्न बाध्य भए।

सुन्नमा आए अनुसार हालको बंगलादेशमा सन् १९४७ ताका हिन्दू भएर बस्न नसकेका लाखौँ व्यक्तिहरू मुस्लिम भएका तथा उनीहरूले घरभित्र गोप्य तवरले हिन्दू संस्कार र देवीदेवता नै अँगालेर आजसम्म पनि बसेका छन् रे।

भारतको संविधान १९४९ नोभेम्बर २६का दिन संविधान सभाबाट अनुमोदित भएर २०५० जनवरी २६ को दिनबाट कार्यान्वयनमा आयो त्यसैले भारतमा २६ जनवरीलाई निकै महत्वका साथ गणतन्त्र दिवसको रूपमा मनाइन्छ।

संसदमा अम्बेडकरले हिन्दू धर्ममा विद्यमान छुवाछुत तथा अन्य बिसंगतिलाई परिमार्जित गरेर तयार गरेको ‘हिन्दू कोड’लाई अनुमोदन गराउन निकै पटक कोशिश गरे तर असफल भए।

आफ्नो असफलताबाट पछाडि नफर्किएर अम्बेडकरले सिद्धार्थ गौतमको नाममा दुई कलेजहरू स्थापना गरे र विपन्न वर्गको शिक्षामा विशेष प्राथमिकता दिए। यो वर्गको हितको निम्ति नै उनले आफ्नो संग्रहका ५०,००० पुस्तक सिद्धार्थ कलेजको पुस्तकालयलाई प्रदान गरे।

विपन्न वर्गको निम्ति खोलिएको भएता पनि यी कलेजहरू सबै वर्गको निम्ति खुला रहेको र तीनमा योग्यताको आधारमा भर्ना लिइने व्यवस्था पनि मिलाए उनले।

मुसलमानहरूको बेग्लै राष्ट्र पाकिस्तान बने पनि भारतमा नै बसोवास गर्ने मुसलमानहरूको संख्या आज २० करोड पुगिसकेको छ र त्यहाँका कैयन् कट्टरपन्थी पार्टीहरू एकापसमा लडेर नै बसिरहेका छन्। भारतको सत्तारुढ पार्टीका नेताहरूले हिन्दू धर्मको बचाउ गर्ने भन्दै मुसलमानहरूसँग भिडन्त गर्ने गरेका घटनामा अभिवृद्धि भइरहेको छ।

सन् १९४८मा स्वयम् महात्मा गान्धीको हत्या हिन्दू अतिवादीहरूको योजना मुताविक भएको थियो। वास्तवमा हिन्दू धर्ममा उचनिच र छुवाछुतले निकै बलियो जरा गाडेर बसेको छ।

अन्य धर्महरू भन्दा परिमार्जनशील धर्म भएता पनि यस धर्मका पहरेदारका रूपमा रहेका कट्टरपन्थीहरूले समाजमा रहेका रुढीवादलाई हटाउने र समानताको वकालत गर्ने कार्यमा बाधा अड्चन ल्याउने कार्य अझसम्म पनि हुने गर्दछ।

हाम्रो जस्तो गरिबीको चरम पराकाष्ठा भोगिरहेका आम जनतालाई कुनै पनि पक्षले आर्थिक प्रलोभनमा पारेर धर्म परिवर्तन गराउन खोज्दा धेरै निरीह व्यक्तिहरू छिटै त्यस्ता शब्द र द्रव्यजालमा फसेर आफ्नो पुर्खौली धर्म त्याग्ने गर्दछन्।

यो परम्परा आजको मात्र पनि होइन। बेलायतलगायत अधिकांश पश्चिमा मुलुकहरूले आफ्ना साम्राज्यभित्रका विपन्न तथा उत्पीडित वर्गहरूलाई क्रिश्चियन धर्म अंगाल्न अनेक प्रकारका प्रलोभन र झुठा आश्वासन दिएर दक्षिण तथा दक्षिण पूर्वी एशिया, अफ्रिका, ल्याटिन अमेरिका र अन्य ठाउँहरूमा आफ्नो धर्म फैलाउन सफल भएका छन्।

भारतमा पनि बेलायती साम्राज्य छँदा नै धेरै मानिसहरू क्रिश्चियन भएका थिए भने सयौँ वर्ष पहिले नै मुसलमान राजाहरूको आक्रमण पश्चात हिन्दू र बौद्ध धर्म मान्ने कैयन् क्षेत्रका बासिन्दालाई इश्लाम धर्म मान्न बाध्य तुल्याइएको थियो।

अम्बेडकरका आखिरी दिन तिर उनले भारतका विपन्न र निम्न वर्गका छुवाछुतका सिकार भएका अछुत वा सुध्र जातिका जनताले कुन धर्म अँगालेमा त्यसले विभेदपूर्ण व्यवहार गर्दैन त भनेर विभिन्न धर्महरू बारे गहन अध्ययन गरे।

उनले भारतका विभिन्न क्षेत्रका जनताहरूको बारेमा पनि अध्ययन गरे। उत्तरी भारत निकै कट्टरपन्थी विचारधारामा अडेको र दक्षिण भने प्रगतिशील रहेको उनले पाए। त्यस्तै उत्तरमा रूढीवादले जरा गाडेको तथा त्यहाँको शैक्षिकस्तर पिछडिएको र दक्षिण निकै नै विवेकी हुनुका साथै त्यहाँको संस्कृतिमा आधुनिकता भेटिएको पनि उनले पाए।

विभिन्न धर्मको अध्ययन गर्ने क्रममा उनले क्रिश्चियन धर्मले विभिन्न जातजातिलाई न्याय प्रदान गर्न नसकेको निश्कर्षमा पुगे। अमेरिकामा त्यतिबेला काला जाति माथि हुने गरेको ज्यादती र विभेद तथा दाशप्रथाको कारण समेत दर्शाएर उनले क्रिश्चियन धर्म सबै जातजातिको निम्ति उत्तम धर्म नभएको अनुभव गरे।

इस्लाम धर्ममा हिन्दू धर्मको तुलनामा व्यक्तिगत समानता बढी पाइए पनि यो धर्मले अन्य धर्मावलम्वीहरूलाई निकै हेयको दृष्टिले हेर्ने भएकोले यसको औचित्य त्यति नभएको उनले महसुस गरे।

यही कारणले गर्दा उनले भर्खरै स्वतन्त्रता प्राप्त गरेर अलग्गिएको पाकिस्तानबाट पिछडिएका गैरमुस्लिम वर्गहरूलाई धार्मिक दुव्र्यवहार र बलपूर्वक गरिने धर्म परिवर्तनबाट जोगाउन भारतमा बसाईँ सर्ने व्यवस्था मिलाउनु पर्ने जिकिर गरेका थिए। तर राजनीतिको फोहरी खेलले त्यो सम्भव हुन सकेन।

परापूर्वकालदेखि चलिआएको हिन्दू वा सनातन परम्परा पनि बाँचिरहोस् भन्ने उनको चाहना थियो। यो हिसाबले शिख धर्ममा उनलाई केही चाख लागेको भएता पनि शिख धर्मको गढ पञ्जावमा समेत छुवाछुतको प्रथा रहेकोले उनले यो धर्म अँगाल्ने कुरालाई पनि बिर्सन थाले।

सन् १९५६को अक्टोवरमा डा. अम्बेडकरले बौद्ध धर्मको विस्तृत अध्ययन पश्चात आफूसहित पुरै परिवारले बौद्ध धर्म अँगालेको घोषणा गरे। यो भन्दा अघि पनि उनले तत्कालीन सिलोन र बर्मामा आयोजित विश्व बौद्ध सम्मेलनमा भाग लिने मौका पाएर यो धर्मका नरमवादी विशेषताहरू बारे बुझ्ने अवसर पाएका थिए भने सन् १९५५ मा उनले भारतीय वौद्ध महासभाको पनि स्थापना गरेका थिए।

यसरी उनले निकै अध्ययन पश्चात बौद्ध धर्म मान्न थालेका थिए। उनको आफ्नै भनाइमा आफूले बौद्ध धर्म अपनाएको कुनै भौतिक साधनको प्राप्तिको निम्ति नभई आफ्नो अन्तरात्मासँग मिल्दो जुल्दो सिद्धान्त बौद्ध धर्ममा पाएकोले हो भनेका थिए।

आफू अछुत रहेर पनि सबै कुरा प्राप्त गर्न सक्ने हैसियत भएको तर आफू जस्तै लाखौँ अछुतहरूको हितको निम्ति भने उनले बौद्ध धर्म ठीक भएको जिकिर गरेका थिए।

एक त गौतम बुद्ध आफू पनि हिन्दू नै भएका र बौद्धमार्ग भिन्दै धर्म नभएर एक दर्शन भएकोले यसको अनुयायी भएर हिन्दू धर्मलाई त्यागे पनि आफू हिन्दू नै रहिरहने उनको मान्यता थियो। उनकै शब्दमा गौतम बुद्ध हिन्दू भएर जन्मेका थिए र हिन्दू नै भएर प्राण त्यागेका थिए।

बौद्ध धर्ममा आएका विभिन्न चिराहरूलाई नपछ्याएर बुद्धले नै आफ्नो उपदेशमा भनेका कुरालाई अनुशरण गर्ने उनले बताएका थिए। उनलाई नागपुरमा त्यतिबेलाका भारतका सबैभन्दा वृद्ध बौद्ध भिक्षु चन्द्रमणिले आशिर्वाद दिएर बौद्ध धर्मावलम्वी बनाएका थिए।

दीक्षाको समयमा उपस्थित ५ लाख मानिसहरूलाई सम्बोधन गर्दै अम्बेडकरले आज आफ्ना पुर्खादेखि मानी आएको छुवाछुत र विभेदकारी हिन्दू धर्मलाई त्यागेर उनले पुनर्जन्म पाएको कुरा बताएका थिए। बौद्ध धर्मको आधारभूत सिद्धान्त नै समानता हो भनेका थिए उनले। उनको आह्वानमा त्यतिबेला हजारौँ मानिसले वौद्ध धर्म अँगालेका थिए।

धर्म परिवर्तनको करिव १ महिना पछि उनी काठमाडौंमा आएका थिए, जहाँ उनले चौथो विश्व वौद्ध सम्मेलनलाई सम्बोधन गरे। बुद्ध धर्म विश्वको उत्कृष्ठ धर्म र सामाजिक व्यवस्था भएको कुरा उनले आफ्नो भाषणमा भनेका थिए।

अम्बेडकरले छिटै एक प्रवुद्ध भारतको निर्माण हुने र हिन्दू परम्पराका राम्रा पक्षहरू मात्र व्यवहारमा आउने तथा विस्तारै भारतका अधिकांश जनताले बौद्ध दर्शन अपनाउने कुरा बताएका थिए। तर उनले भनेजस्तो हुन सकेन।

संविधान वा धर्म शास्त्रमात्र असल र गुणकारी भएर पुग्दैन रहेछ, त्यसको सही ढंगले पालना पनि हुनु पर्दोरहेछ। उनले शुरु गरेको दलितहरूको आन्दोलन र संविधानमा दलितहरूलाई अन्य जातजाति सरह बराबर बनाइएको र आज भारत मात्र नभई पुरै दक्षिण एशियामा पिछडिएका जातिहरूले निकै धेरै स्वतन्त्रता पाएर उनीहरू समृद्ध हुँदै गएको भएता पनि आजको एक्काइसौँ शताब्दीमा पनि अझै छुवाछुत, विभेद र उत्पीडनका घटनाहरू दिनहुँ सुन्नु परिरहेको छ।

त्यस्तै प्रलोभनको भरमा धर्म परिवर्तन, धर्म धर्म र जाति जाति बीचको द्वन्द्व चर्की नै रहेको छ भने विश्वका कैयन् ठाउँहरूमा यस्ता द्वन्द्वका कारण लाखौँ मानिसले ज्यान गुमाउन बाध्य भएका छन्।

आशा गरौँ बाबासाहेब भीमराव रामजी अम्बेडकर जस्ता महान् व्यक्तित्वका सद्विचारबाट विश्वका सबै वर्गका मानिस आकर्षित होउन् र उनले देखाएको बाटोमा हिँडेर विश्वमा शान्ति, समानता र समृद्धिको सुवास छरुन्।

लेखक विकास अर्थशास्त्री र एकल व्यक्तित्व समाज, नेपालका अध्यक्ष हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *