सुन्नेलाई सुनको माला (कथा)
‘मैले साहित्यकारलाई भेटें ।’
‘फेरि के भो ?’ कक्षाका साथीहरुले दीपशिखालाई एकै स्वरमा सोधेपछि उसले भनी ‘साहित्यकार त देउता, पितृ, असुर र इतिहासका मान्छेसँग पनि कुरा गर्छन् रे हो ? त्यसो हो भने हजुर पनि कुरा गर्नुहोला नि अंकल । मलाई त अकबर वीरबलको कथा सुन्न रहर छ । मिल्छ भने यतै बोलाउनु न अंकल । मलाई उनीहरुको प्रश्न र कर्मको चमत्कारबारे जान्न मन छ भनेर अनुरोध गरें । अनि अंकलले सिनेमाजस्तै एउटा सुनाउनुभयो ।’
‘भन न हामी पनि सुनौं ।’
‘सुनाउँ सर ?’ दीपशिखाले शिक्षकसँग अनुमति मागी । अनि थपी ‘समय अलिकति पुगेन भने साथीकोबाट थपेर कथा सुनाइरहन्छु है सर ।
‘सर म मेरो पालो पनि उसैलाई दिन्छु तर कथा पूरा हुनुपर्छ ।’ कक्षाका अरु साथीले ताली बजाएर समर्थन जनाएपछि दीपशिखाले कथा भनी ।
‘यो साहित्यकार अंकलले भनेको कथा हो नि म त सुनाउने मात्रै हुँ ।’
‘थाहा छ तिमी कति बाठी छौ । पहिले कथा त भन । सुन्न हतार लाग्यो ।’
‘सुन, हिमवत खण्डमा एउटा देश थियो रे । त्यहाँ कहिले पनि विदेशीले हैकम चलाएको थिएन रे । लामो इतिहास भएको स्वतन्त्र देश, कैयौं राजवंशले शासन गरेका थिए रे । एकपटक छट्टुलाल, छेदीलाल कि भेदीलाल भन्ने यस्तै कुनै असुरवर्गको मानवले नरहत्या गरेर त्यो देशका महाराजलाई समेत राजसिंहासनबाट हटाएर सत्ता हातमा लिएछ । र, देशमा भएका अरु राजनीतिक शक्तिलाई पनि आफ्नो कब्जामा राखेछ ।
जब त्यस देशको जीवन, माटो संस्कृतिमाथि विवेक छोडेर लुट मच्चाउन थाल्यो जनता रोग र भोकले मर्न थाले । देशको भूमिमाथि बलात्कार हुन थाल्यो र काण्डहरु मच्चिए । तब महाराज अकबरले सपनामा यी अमंगल कुरा देखेर उनी चिन्तित भए ।
बिहानको चमेनामा अकबरको अनुहार पढेर वीरबलले प्रश्न गरे ‘महाराज कुनै चिन्ताको विषय ?’
‘महामन्त्री राजर्षि जनक, राजा शुद्धोधन, महर्षि वाल्मिकी, महर्षि वेदव्यास, राजर्षि विश्वामित्र जस्ता अमर व्यक्तित्वहरुले चिनिएको पवित्र भूमिमा कुनै कुतत्वले प्रवेश गरेको छनक पाएँ । त्यहाँ उत्पात हुन लागेको आभाष भो मलाई । फेरि सीता कहाँकी हुन् भन्ने विषयले त ठूलै भूकम्प छ । खै ।’
अकबरको कथन टुंगिएपछि वीरबलले भने ‘महाराज के आज्ञा छ मलाई ?’
‘महामन्त्री ती सर्वमान्य महात्मा बुद्धको भूमिमा मलाई पुग्न मन छ । सगरमाथाको उचाइ र पवित्रतालाई नमन गर्न रहर छ । त्यहाँका हिमनदीहरुको कञ्चन पानीमा डुब्न मन छ । के थाहा भोलि त्यो मुलुक नै नरहोस् । राजामहाराजाहरुले जोगाएको त्यो मुलुकमा एकपटक पुग्नु मेरो कर्तव्य पनि हो । त्यो मेरो सौभाग्य पनि होला । पु¥याउ मलाई त्यहाँ । त्यहाँको अवस्था हेरौं ।’
‘महाराज मत्र्यलोकको सुविधा हामीलाई सुलभ छैन । आज्ञा पाए अरब देशबाट काजमा जीनलाई झिकाउँछु ।’
‘आज्ञा छ म हतारमा छु ।’
‘जो हुकुम महाराज ।’
‘अनि के भो ?’ विद्यार्थीको तर्फबाट प्रश्न आयो । उनीहरु कथा सुन्न आतुर हुँदै गए ।
दीपशिखाले कथा छोट्याइ । तेस्रो दिनको चमेना बैठकमा हाजिर भएर वीरबलले प्रगति सुनाए । उनले इमेल गरेर अरब देशबाट जीनको माग गरेका थिए । बडो विद्वान जीन आउने भएछ । यो कुरा थाहा पाएर अबकर पनि प्रसन्न भए । अनि जीनको भ्रमण भत्ताको आदेश फर्मका बिल भर्पाइ दुरुस्त भर्न गोर्खाली अफिसरलाई काजमा झिकाउने आदेश दिए । बिचरा अरबको जीन पारिश्रमिकको ठूलै गठरी लिएर जाओस् भन्ने ठाने क्यार महाराजले । गोर्खाली अधिकारी ३ लाई ६ र ६ लाई ९ पार्न कुशल मानिन्थ्यो । हावा पनि यस्तै भन्थ्यो । १७ ठाउँमा १ जिस्ताको गन्ती त संसदले नै स्वीकार गरेको थियो । केही मुस्किल थिएन । कहिले प्रश्न उठेन । यो कुरा अकबर र वीरबल दुवै जान्दथे ।
‘जीन विद्वान थियो भन्नुको अर्थ बुझिएन’ कक्षाबाट कोपिलाले प्रश्न गरी ।
‘राजासँग टुरमा जाने भएपछि ऊसँग भूगोलको ज्ञान होला । संस्कृतिको ज्ञान होला युग र परिस्थितिको ज्ञान होला नि हैन त ?’
‘त्यसो भए विशाल नेपालको भूमिबारे उसलाई ज्ञान हुनुपर्छ । कहाँ कहाँ कति मिचिएको छ त्यो पनि जानकारी होला नि’ अर्की बोली ।
‘त्यसो भए लुम्बिनी र मिथिला क्षेत्रमा रोगी नजर लगाएको पनि थाहा होला नि जीन साहेबलाई हैन ?’ चमेलीले थपी ।
साथीहरुको लान्छनापूर्ण संवाद दीपशिखाले धैर्य लिएर सुनी र यति नै भनी ‘सम्पूर्ण कुराको जानकारी महाराजलाई गराइन्छ । यसमा महामन्त्री वीरबल र जीन आफैं सक्रिय छन् ।’
तर, परिणाम के भयो भने अकबरले भूमि मिच्ने अपराधी मुलुकको अपवित्र आकाशबाट यात्रा नगर्ने भनेपछि सिधै स्वर्गबाट लुम्बिनी बौद्ध विश्वविद्यालयको प्रांगण ताकेर अवतरण गर्ने योजना बन्यो ।
अकबर, वीरबल र जीनमा एउटै विशेषता थियो । यी सुन्थे, देख्थे र बोल्थे । तर, अरुले यिनलाई देख्न पनि सक्दैनथे । यी अत्यन्त सानो आकारमा घुम्थे । यी जहाँ पनि पुग्थे हिजोलाई पनि देख्थे । टाढालाई पनि नजिक ल्याएर हेर्थे ।
जीनसँग इच्छाशक्ति पनि थियो । कम्प्युटर पनि सँगै हुन्थ्यो र खास किसिमको दर्पण पनि थियो ऊसँग । आफूले चाहेको दृश्य ऊ ऐनाभित्र तानेर देखाइदिन्थ्यो । त्यसैले यो जीन वास्तविक रुपले पर्यटक सहयोगी सावित हुन्थ्यो । उसको दुरवीनजस्तो यन्त्र पनि उसँग झुण्डिएको हुन्थ्यो ।
अर्को दिनको अर्को दिन हनुमानले आफ्नो काँधमा राम लक्ष्मणलाई राखेर उडेजस्तै जीन पनि अकबर र वीरबललाई काँधमा बोकेर आकाशमार्गबाट नेपालको भ्रमणमा निस्के । दीपशिखाले कथा टुंग्याइ ।
बाँकी फेरि ।
सुन्नेलाई सुनको माला ।
Facebook Comment