क्यानडाले भारतमाथि लगाएको गम्भीर आरोपबारे अमेरिकी विदेशमन्त्री पहिलो पटक बोले
काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनले खालिस्तानी समर्थक हरदीप सिंह निज्जरको हत्याप्रति प्रतिक्रिया व्यक्त गरेका छन् ।
क्यानडाले निज्जरको हत्यामा भारतीय एजेन्टको सम्भावित संलग्नताको कुरा गरेपछि दुई देशबीच तनाव बढेको छ ।
ब्लिन्केनले शुक्रबार पत्रकार सम्मेलनमा अमेरिकाले यस विषयमा क्यानडासँग वार्ता गरिरहेको, अनुसन्धान अगाडि बढाउन चाहेको र भारतले यसमा सहयोग गरोस् भन्ने चाहेको बताए ।
उनले क्यानडाको आरोपप्रति अमेरिका निकै चिन्तित रहेको र त्यसलाई गम्भीरताका साथ लिएको बताए ।
निज्जर हत्या प्रकरणमा अमेरिकी विदेशमन्त्रीको यो पहिलो टिप्पणी हो । उनको भनाइ यस्तो बेला आएको हो जब भारतीय विदेशमन्त्री एस जयशंकर आफ्नो नौ दिने अमेरिका भ्रमणमा छन्, जहाँ उनी संयुक्त राष्ट्र संघको महासभाको वार्षिक सत्रमा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका छन् ।
यसअघि अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिवानले यस मामिलामा अमेरिकाले भारतलाई कुनै ‘विशेष छुट’ नदिने बताएका थिए ।
उनले यस विषयमा अमेरिका उच्चस्तरीय भारतीय अधिकारीसँग सम्पर्कमा रहेको बताए ।
Facebook Comment