मिस युनिभर्स पाकिस्तानविरुद्ध देशको खुफिया एजेन्सीले अनुसन्धान गर्ने
काठमाडौं । माल्दिभ्समा सेप्टेम्बर १४ मा मिस युनिभर्स पाकिस्तानको उपाधि जितेकी एरिका रोबिन र यो घटनाविरुद्ध अनुसन्धान हुनेछ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’को रिपोर्टका अनुसार पाकिस्तानका कार्यवाहक प्रधानमन्त्री अनवर उल हक कक्कडले गुप्तचर निकाय आईएसआईलाई अनुसन्धानका लागि आदेश दिएका छन् ।
२४ वर्षीया एरिका रोबिन क्रिस्चियन हुन् । उनले सेप्टेम्बर १४ मा माल्दिभ्समा मिस युनिभर्स पाकिस्तानको उपाधि जितेकी थिइन् । उनले नोभेम्बरमा एल साल्भाडोरमा हुने मिस युनिभर्स २०२३ मा पाकिस्तानको प्रतिनिधित्व गर्नेछिन् । एरिका यस सौन्दर्य प्रतियोगितामा भाग लिने पहिलो पाकिस्तानी हुन् ।
यो कार्यक्रम दुबईको कम्पनी युजीन ग्रुपले आयोजना गरेको हो । सोही समूहले बहराइन र इजिप्टमा पनि यो कार्यक्रम आयोजना गरेको थियो । पाकिस्तानका धेरै धार्मिक नेता र प्रधानमन्त्री कक्कड आफैंले यो घटनालाई देशविरुद्धको षड्यन्त्र भनेका छन् ।
पाकिस्तान सरकार र धार्मिक नेताहरूको विरोधपछि धेरै प्रश्न उठिरहेका छन्। पहिलो- के एरिका मिस युनिभर्स २०२३ मा भाग लिन सक्षम हुनेछिन्? सहभागी भए पनि उनले पाकिस्तानको नाम र राष्ट्रिय झण्डा प्रयोग गर्न पाउनेछिन् ? यस्तो भयो भने के उनी स्वदेश फर्किएर सुरक्षित होलिन् ? कराचीकी निवासी एरिका पेशाले मोडल हुन् ।
मिस युनिभर्स सौन्दर्य प्रतियोगिता हरेक वर्ष विभिन्न देशमा आयोजना हुने गर्छ । मुख्य कार्यक्रम अघि हरेक देशमा आन्तरिक सौन्दर्य प्रतियोगिता हुन्छ। यो जित्ने युवतीले मुख्य प्रतियोगितामा आफ्नो देशको प्रतिनिधित्व गर्छिन्। पाकिस्तानमा विरोध प्रदर्शनको डरले माल्दिभ्समा कार्यक्रम आयोजना गरिएको थियो र यहाँ एरिकाले अवार्ड जितेकी थिइन् ।
माल्दिभ्समा भएको सौन्दर्य प्रतियोगितामा २४ वर्षीया एरिकाका अलावा हिरा इनाम, जेसिका विल्सन, मलिका अल्वी र शब्रिना वसीम पनि सहभागी थिए । यी युवतीहरु विरुद्ध छानबिन हुन्छ कि हुँदैन भन्ने अझै स्पष्ट भएको छैन ।
Facebook Comment