जेल सजाय सुनाइएका नवाज शरीफ स्वदेश फर्किएपछि उनलाई के गरिन्छ ?
काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ फेरि चर्चामा छन् । पाकिस्तानका कार्यवाहक सूचना मन्त्री मुर्तजा सोलांगीले नवाज शरीफ जेल सजायबाट बच्न लण्डन भागेका नभई अनुमति लिएर गएको बताएका छन् । उनी अर्को महिना पाकिस्तान फर्किएपछि कानुनबमोजिम व्यवहार गरिने पनि मन्त्रीले बताए।
नवाज शरीफले भर्खरै आफू चार वर्षको “आत्मनिर्वासन” समाप्त गरेर अक्टोबर २१ मा पाकिस्तान फर्कने र अब हुने चुनावमा आफ्नो पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन) पार्टीको नेतृत्व गर्ने बताएका छन्। यसबाट उनी निकै उत्साहित पनि भएको बताए ।
पाकिस्तानी मिडियाका अनुसार सोलांगीले पत्रकार सम्मेलनमा नवाज शरीफ तीन पटक पाकिस्तानको प्रधानमन्त्री भइसकेका र ठूलो राजनीतिक दलका नेता भएको बताए । उनले नवाज जेलबाट भागेर नभई अदालत र पूर्व सरकारको अनुमति लिएर विदेश गएको बताए ।
सोलांगीले पाकिस्तानको निर्वाचन आयोग संविधानको धारा २१८ (३) अन्तर्गत स्वतन्त्र, निष्पक्ष, पारदर्शी र निष्पक्ष निर्वाचन गराउन जिम्मेवार भएको बताए । उनले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउनका लागि कामचलाउ सरकारले पूर्ण भूमिका खेल्ने बताए ।
नवाज शरीफलाई आफ्नो आम्दानी घोषणा नगरेको कारण सर्वोच्च अदालतले आजीवन सार्वजनिक पदमा रहन अयोग्य ठहराएपछि २०१७ मा देशको प्रधानमन्त्री पद त्याग्नुपरेको थियो। त्यसपछि उनले लाहोर हाईकोर्टबाट उपचारका लागि विदेश जान ४ हप्ताको अनुमति पाएका थिए । यद्यपि उनी २०१९ देखि लन्डनमा बस्दै आएका छन् ।
उनी अल-अजिजिया मिल्स मुद्दामा लाहोरको कोट लखपत जेलमा ७ वर्षको जेल सजाय काटिरहेका थिए। उनले सन् २०१९ मा उपचारका लागि लण्डन जाने अनुमति पाएका थिए । नवाजलाई २०१८ मा अल-अजिजिया मिल्स र एभेनफिल्ड भ्रष्टाचार मामिलामा पनि दोषी ठहराइएको थियो।
Facebook Comment