क्रिसमसमा बक्स अफिसमा शाहरूख र प्रभासको भिडन्त हुने
काठमाडौं । क्रिसमस आउन अझै तीन महिना बाँकी छ । तर फिल्मका लागि यो वर्षको ठूलो सप्ताहन्तको लागि वातावरण तयार हुन थालेको छ। ‘पठान’ र ‘जवान’ ले बलिउडको बक्स अफिस रेकर्ड सदाका लागि बदलेपछि शाहरुख खान पनि तेस्रो फिल्म लिएर आउँदैछन् । ‘मुन्नाभाई’, ‘थ्री इडियट्स’ र ‘पीके’ जस्ता फिल्म बनाएका राजकुमार हिरानीले यो फिल्मलाई निर्देशन गरिरहेका छन् ।
हल्का कमेडीसँगै सामाजिक सन्देश दिने हिरानीको आफ्नै क्षेत्र छ जहाँ उनी सबैभन्दा हिट निर्देशक हुन् । र यस वर्ष ठूलो हिट दिने शाहरुखसँगको सम्बन्धले ‘डंकी’ लाई सम्भावित ब्लकबस्टर बनाउँछ। तर अहिले ‘डंकी’ को कमाइमा असर पर्न सक्ने चर्चा चलिरहेको छ । डंकी २२ डिसेम्बरमा रिलिज हुँदैछ ।
प्रभासको ग्रान्ड एक्सन फिल्म ‘सालार’ सेप्टेम्बर २८ मा रिलिज हुने भनिए पनि निर्माण पक्षले फिल्म अलिकति पछाडि सारेर नयाँ रिलिज मिति घोषणा गर्ने बताएको छ । सोमबार धेरै ट्रेड विज्ञहरुले सामाजिक सञ्जालमा ‘सालार’का निर्माताहरुले अब फिल्म २२ डिसेम्बरमा रिलिज गर्ने योजना बनाएको जानकारी दिएका छन् । यही मितिमा ‘सालार’ रिलिज हुनेबारे निर्माताले थिएटरमा पत्राचार गरेर जानकारी गराएको बताइएको छ ।
यसैबीच, फिल्मका निर्देशक प्रशान्त नीलकी पत्नीले पनि आफ्नो इन्स्टाग्राम स्टोरीमा लेखेकी छिन्, ‘डिसेम्बर २०२३ पहिलेको जस्तो हुने छैन । यसलाई मानिसहरुले ‘सालार’ रिलिजको पुष्टिका रुपमा लिएका छन् । अर्थात अब २२ डिसेम्बरमा एउटा होइन दुईवटा ठूला चलचित्र आउँदैछन् । यो वातावरण दर्शकका लागि रमाइलो छ, उनीहरूले हलमा दुई ठूला फिल्महरू मध्येबाट छनोट गर्ने विकल्प पाउनेछन्।
पाँच वर्षअघि पनि ‘सालार’का निर्माताले थिएटरमा शाहरुख खानसँग प्रत्यक्ष भिडन्त गरेका थिए । शाहरुखको ‘जीरो’सँगै रकिङ स्टार यशको फिल्म ‘केजीएफ च्याप्टर १’ रिलिज भएको थियो । त्यसबेला पनि त्यो अवसर क्रिसमस सप्ताहन्तको थियो, त्यो मिति २१ डिसेम्बर २०१८ थियो। त्यो सप्ताहन्तमा ‘जीरो’ सबैभन्दा ठूलो हिन्दी रिलिज थियो। जबकि ‘केजीएफ’ कन्नड उद्योगको एक पान इन्डिया फिल्म थियो ।
Facebook Comment