लघु कथा : दशैं कि दशा !

कपिल लोहनी
१३ असोज २०८० ८:४०

गाउँको एउटै विद्यालयमा अध्ययन गरेका बालसखा मनोज र अनुज काठमाडौँमा उच्च अध्ययन गर्दै छन्।

मनोजको घरपरिवार अलिक सम्पन्न भएकाले उसको घरमा दशैं तथा अन्य चाडपर्वहरू निकै धुमधामका साथ मनाइन्छन् भने अनुजको विपन्न परिवारमा दशैं आउनुभन्दा केही समय अघिदेखि नै रकमको जोहो तथा साहुकारहरूसँग महँगो ब्याजमा रकम लिनु पर्ने बाध्यता खडा हुन जान्छ।

पुराना साहु र ब्याजसमेत नतिरेर ऋण बढ्दै गएको छ। आखिर दशैं-तिहारमा घर त जानै पर्‍यो र इष्टमित्र तथा छरछिमेकीसँग राम्रै तवरले चाडवाड पनि मनाउन पखयो। सधैं रकम अभाव र खेती किसानी गर्ने तरुना छोरा-छोरी पनि विदेश गएका र अनुजको शिक्षाको लागि आवश्यक रकमको पनि जसरी भएपनि जोहो गर्नै पर्‍यो।

गाउँका मानिसहरू छोरा–छोरी अरव र मलायामा छन्, पैसा पठाई रहेका नै होलान् नि। बेकारमा चाडपर्वको फाइदा उठाएर किन भिख माग्दै हिँड्नु पर्ने यिनले भन्छन्।

घरको दैनिकी समेत व्यहोर्न ज्यादै मुस्किल पर्ने भएकोले अनुजकी माताको परार साल नै दशैंभन्दा केही अघि देहान्त भइसक्यो। अब घरमा ऊ र उसका बाबा र दुई बहिनीमात्र बाँकी छन्। उनीहरूको समेत घरैबाट देखभाल गर्नुपर्ने बाध्यता छ।

मनोजको परिवार अनुजकोभन्दा केही सम्पन्न भएकोले उसको देखभाल भने राम्रै तवरले भएको छ र उसलाई फर्मायसी गर्ने रकम पनि प्राप्त हुन्छ गाउँबाट। उसलाई खासै कुनै कुराको पिर भने छैन।

दुबैजना १९ वर्षका भएता पनि यी दुवैले कुनै नोकरी खोज्न सकेका छैनन्। एउटाको पहुँच भएपनि गाउँबाट पैसा आएकोले मोजमस्ती नै गर्न पुगिहालेको छ भने अर्कोको घरमा चरम विपन्नता भएकोले उसलाई रोजगारीको आवश्यकता छ तर कहाँ र कसले जागिर दिनु।

मनोजले यदाकदा आफ्ना मातापितालाई अनुजको निम्ति जागिर खोज्न भन्दा ‘तँ आफ्नो सुर्ता गर् बाबु, दीनदुखीको पक्षमा बोलेर किन लोदर निम्त्याउँछस्’ भनेर लेखेर पठाउँछन्। तर आफ्नो बालसखालाई अति धेरै माया गर्ने मनोजले यस्ता कुरा उसलाई सुनाउँदैनन्, बरु उसको जरुरत पुरा गर्न केही रकम दिइरहन्छन्।

बेलावखत मनोज अनुजलाई सम्झाउँदै आफ्नो पढाइमा बढी ध्यान दिन आह्वान गर्छ। एकदिन अध्ययनबाट नै मान्छे बन्न सकिने उसको ठम्याई छ। तर अनुजको मन आजको समाजले गर्दा निकै दुखेको छ।

उसलाई विपन्न वर्गले अध्ययन गरेर पनि नेपाली समाजमा कुनै प्रगति गर्न सक्दैन भन्ने अटल विश्वास छ। उनीहरू पुस्तकालय र दोकानबाट ल्याएर पुस्तकहरू पढ्ने गर्दछन्।

मनोजकै मातापिताले पठाएको रकमबाट दुवैजना खाने र केही मनोरञ्जन गर्ने गर्दछन्। अनुजलाई आपूmले केही रकम साझा खर्चमा हाल्न अक्सर नसकेको भएर ऊ ज्यादै दुखित रहन्छ भने मनोजले त्यस्तो कुरा कहिल्यै नसोच्न आग्रह गर्दछ।

राजधानी काठमाडौँमा असोजदेखि पानी पर्न अलिक कम मात्र भएको छ र प्रायजसो मानिसहरूमा दशैं दशैं जस्तो भावना जाग्न थालेको छ। कैयन् मानिसहरू चाडवाड मनाउन घर जान पनि थालिसकेका छन् भने उनीहरू कलेज कहिले बिदा हुन्छ भनेर कुर्दै छन्।

यत्तिकैमा हडताल र डेङ्गुको कहर पनि चलिरहेकोले निकै सतर्क भएर बस्नु पर्ने भएको छ। मनोजलाई केही उत्साह भएपनि अनुज उत्साहहीन छ। प्रत्येक वर्ष गाउँमा बोका, खसी, कुखुरा किन्नेहरूको र टीका लठाउनेहरूको मेला लाग्दछ।

तर अनुजको परिवारमा घरमा जनावर ल्याएर बलि दिने कुनै सामथ्र्य छैन। यदाकदा पिताजीले गाउँमा भागको मासु किनेर गर्जो टार्छन् वा सकेको बेलामा ऋणमा चुर्लुम्मै डुब्छन्। यही कुरा अनुजले मनोजलाई भनेर निकै दुखित भएको स्वर निकाले।

मनोज एक अति नै सकारात्मक सोच भएको युवा छ। उसले ‘आजको युगमा पनि यस्तो कुरा गर्नु हुन्छ साथी? मेरा अभिभावकले पशु पक्षी र सरसामान किनेर पूजा गर्न र बलि दिन सक्ने भएको भएता पनि यसपालि गाउँमा एउटा अभियान नै चलाएर फजुल खर्ची नगर्न र चाडवाडलाई रक्तिम र दर्दनाक नबनाउन तिम्रो र मेरो पहलमा घरघर जानु पर्दछ’ भनेछन्।

अनुजले यसमा ‘तिमी त धनीको छोरा, तिमीले जे भने पनि पत्याउँछन् वा मान्छन्, तर म एक विपन्न वर्गको मानिस भएकोले मैले नै उक्साएको ठान्लान्’ भनेछन्। मनोजले ‘हेर, यो अभियान केही वर्षदेखि मुलु्कका विभिन्न ठाउँहरूमा चल्दै नै आएको छ र धेरैले रक्तिम पशुबलिलाई त्यागिसकेका छन्।

आजकल पुरोहितहरूले पनि पूजा गर्दा पशुबली नदिएर कुविन्डो, फर्सी, मूला आदिलाई बलि दिए हुने कुरा बताएका छन्। मासु नै खानको निम्ति त अन्य बखतमा जस्तै बोका, खसी आदिका मासु पसलहरूबाट ल्याएर पनि खान सकिन्छ नि।

वेदमा पनि त कुनै पनि जीवले बाँच्नको निम्ति अर्को जीव चाहे त्यो पशु, पंक्षी वा वनस्पति भएता पनि आवश्यकता अनुसार निर्मम तवरको प्रयोग विना खानाको रूपमा खान हुन्छ भनेर भनिएको छ नि’ अनुजको मन मनोजको कुराले केही शान्त भयो।

मनोजले ‘केही दिनदेखि घरबाट पठाएको पैसा बचाएर मैलै राम्रै रकम सञ्चय गरेर राखेको छु। तिमीलाई चाहिए जति सुटक्क म तिमीलाई दिनेछु। घरमा सोधे भने ट्युसन पढाएर केही रकम कमाएको थिएँ’ भनेर आमाको हातमा पैसा र केही सामान र लुगाफाटा राखिदिनु।’

मनोजको यो दयामिश्रित कुराले अनुजको आँखा निकै रसायो। उसले ‘दशैंपछि दुईजना मिलेर त्यसैगरी ट्युसन पढाएर केही रकम कमाउनु पर्छ र स्वरोजगार हुने कोशिश गर्नुपर्छ’ भन्यो। दुवै मुस्कुराए।

मनोजले ‘विदेशमा पैसा कमाउन गएका उनीहरूको दाजुभाइ र हालका दिनहरूमा दिदीबहिनीहरूलाई ललाई फकाई दलालहरूले लग्ने गरेको र उनीहरूको पासपोर्ट समेत खोसेर दिने भनेको रकम नदिएर निकै कठीन काममा लगाउने गरेको र तिनी मध्ये धेरैले आफ्नो घरमा पैसा पठाउने त कुरै सकियोस्, यस्तो दुरावस्था भइरहेको कुरासमेत लेखेर वा फोनमार्फत घरमा भन्न सक्दैनन् र नाटक गरेर हाँसिरहन्छन्’ भनेछन्।

अनुजले ‘कति वेदनापूर्ण कुरा!’उनीहरू विदेशमा बसेर नाटक मञ्चन गरिरहेका छन् भने हामी स्वदेशमा नै भएर पनि घरमा गएर नाटक नै देखाइ रहेका छौँ। तर तिमी भने एक उत्कृष्ट पात्र हौ। मैले पनि बिस्तारै सिक्छु होला। वास्तवमा नै चाडपर्व र दशैंतिहार हामी अधिकांश जनताका छोरा नेपालीका लागि दशा नै रहेछ। हामी आफ्नो तवरले जरुर यो कुरितीलाई समाजबाट हटाउने काममा लाग्ने छौँ। आखिर हाम्रो धर्म जस्तोसुकै कट्टर सनातन र हिन्दू धर्म वा नेपालमा मानिने इश्लाम, शिख, जैन तथा इशाई धर्मका विभिन्न पाटालाई पनि लचकताका साथ समाज र वर्गको उत्थान हुन सक्ने हिसाबले केही सामान्य परिवर्तन गरेर सबैको धर्मको रक्षा र सम्मान गरेर मनाउन सके र नेपालमा धार्मिक सहिष्णुता कायम गर्न सके हामी आम जनताले नै नेपाललाई स्वर्ग बनाउन सक्ने छौँ। आजबाट गाउँ नजाउञ्जेलसम्म विभिन्न धर्मावलम्वी साथीहरूसँग भेट गरेर यो दशैंदेखिनै सबै धर्मका चाडपर्वलाई मिलेर मान्ने प्रथाको सुरुवात गरौँ ।’

अनुजको कुराले मनोज निकै प्रसन्न भयो र दुवैजनाले त्यसै गर्ने भन्दै सो कामको थालनी त्यही दिनदेखि गर्न थाले।

लेखक विकास अर्थशास्त्री र एकल व्यक्तित्व समाज, नेपालका अध्यक्ष हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *