एनआइसी एसिया र एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

डिसी नेपाल
१५ असोज २०८० ८:४५

काठमाडौं। एनआइसी एसिया र एभरेष्ट बैंक दुवैको भोलि मंगलबार असोज १६ गते बुक क्लोज हुने भएको छ।

यस आधारमा यी दुवै बैंकको लाभांश सुरक्षित गर्ने आज सोमबार असोज १५ गते अन्तिम दिन हो। आजसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन्

जसका लागि एनआइसी एसिया बैंकले दसैंको घटस्थापनाको दिन असोज २८ गते साधारण सभा बोलाएको छ। सभामा बैंकले ३०.५२% लाभांश वितरण प्रस्ताव पेश गर्नेछ । बैंकले गत वर्षको नाफाबाट २९% बोनस सेयर र कर प्रयोजनका लागि १.५२% नगद गरी कुल ३०.५२% लाभांश दिने भएको हो।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ। सभा प्रयोजनका लागि बैंकले असोज १६ गते मंगलबारदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ। तसर्थ, आज सोमबार असोज १५ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन्। सभा, आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा असोज २८ गते बिहान ९ बजेबाट सुरु हुनेछ।

उता, एभरेष्ट बैंकले पनि लाभांश प्रस्ताव पारित गर्न असोज ३० गते वार्षिक साधारण सभा बोलाएको छ। बैंकले १०% बोनस सेयर र १०.५३% नगद गरी कुल २०.५३% लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले मंगलबार असोज १६ गते बुक क्लोज गर्ने भएको छ। तसर्थ, सोमबार असोज १५ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन्।

साधारण सभा, लैनचौर ब्यांकेट, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ। यस्तै, सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ। गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ।

सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गर्नेछ। यस्तै, संस्थापक समूहबाट सञ्चालक समितिमा चयन भएका सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *