१७ लाख अफगान नागरिकलाई पाकिस्तान छाडेर जान चेतावनी
काठमाडौं । पाकिस्तानमा बढ्दो आत्मघाती हमलाको बीचमा आन्तरिक मन्त्री सरफराज बुग्तीले अफगानिस्तानलाई कडा चेतावनी दिँदै देशमा अवैध रूपमा बस्ने सबै अफगान नागरिकहरूले नोभेम्बर १ सम्म पाकिस्तान छोड्नुपर्ने, अन्यथा उनीहरूलाई जबरजस्ती देश बाहिर निकालिने बताएका छन् ।
बुग्तीले पाकिस्तानमा अफगान मूलका करिब १७ लाख मानिसहरु विभिन्न सहरमा गैरकानुनी रुपमा बसोबास गर्ने गरेको बताए । पाकिस्तान सरकारका आन्तरिक मन्त्री सरफराज बुग्तीको यो बयान पाकिस्तानको बलुचिस्तानमा भर्खरै भएको आत्मघाती विस्फोटपछि आएको हो। पाकिस्तानमा करिब ४४ लाख अफगान शरणार्थी रहेको गृहमन्त्रीले बताए, जसमध्ये १७ लाख अफगान नागरिक अवैध रूपमा बसिरहेका छन् ।
अफगानिस्तानलाई निशाना बनाउँदै सरफराज बुग्तीले थप भने ‘आक्रमणमा अफगान नागरिकहरू संलग्न छन् भन्ने कुरामा कुनै शंका छैन।’ गृहमन्त्रीले अहिले उनीसँग यसको प्रमाण पनि रहेको बताए ।
पछिल्लो समय पाकिस्तानमा धेरै आत्मघाती हमला भएका छन् । गत शुक्रबार पनि बलुचिस्तानको मस्तुङ सहरको एउटा मस्जिद नजिक दुईवटा आत्मघाती हमला भएका थिए जसमा ५० भन्दा बढीको मृत्यु भएको थियो भने ७० भन्दा बढी घाइते भएका थिए । अफगानिस्तानको तालिबानसँग सम्बद्ध आतंकवादी समूह तेहरिक-ए-तालिबान पाकिस्तान (टीटीपी) ले आक्रमण गरेको आशंका गरिएको छ।
गत वर्ष नै टीटीपी समूह र पाकिस्तान सरकार बीचको युद्धविराम सम्झौता तोडिएको थियो । त्यसपछि देशमा आत्मघाती हमलाले गति लिएको छ। तर, टीटीपीले सधैं आक्रमणमा संलग्नता अस्वीकार गर्दै आएको छ। टीटीपीले मस्जिद र भीडभाड हुने ठाउँलाई लक्षित नगरेको भन्दै शुक्रबारको आत्मघाती हमलाबाट आफूलाई टाढा राखेको छ।
पाकिस्तान इन्स्टिच्युट फर कन्फ्लिक्ट एन्ड सेक्युरिटी स्टडीज (पिक्स) द्वारा जारी पछिल्लो तथ्याङ्क अनुसार गत ७ महिनामा पाकिस्तानका विभिन्न भागमा १८ वटा आत्मघाती हमला भएका छन् । यी आत्मघाती हमलाहरूमा मात्रै पाकिस्तानमा २०० भन्दा बढीले ज्यान गुमाएका छन् भने ५०० भन्दा बढी घाइते भएका छन् ।
पाकिस्तानमा ९० को दशकदेखि आत्मघाती हमला भइरहेका छन् । सन् १९९५ मा इस्लामावादस्थित इजिप्टको दूतावासमा आतंकवादी समूहले आक्रमण गरेपछि पाकिस्तानमा आत्मघाती हमलाका घटना बढ्दै गएका थिए । तर विशेष गरी सन् २००७ पछि पाकिस्तानमा आत्मघाती आतंकवादका घटनामा उल्लेख्य वृद्धि भएको थियो।
Facebook Comment