विदेशी पर्यटकले भरिएको बस पुलबाट खस्यो, दुई बालबालिकासहित २१ जनाको मृत्यु
काठमाडौं । मंगलबार इटालीको भेनिस सहर नजिकैको पुलबाट एउटा बस खसेर आगलागी भएको छ । दुर्घटनामा दुई बालबालिकासहित २१ विदेशी पर्यटकको ज्यान गएको छ ।
करिब १८ जना गम्भीर घाइते भएका र उपचारका लागि अस्पतालमा भर्ना भएका छन् । बसले पर्यटकलाई क्याम्पिङ ग्राउन्डमा लैजाँदै गरेको बताइएको छ । पुल पार गर्ने क्रममा बस नियन्त्रण गुमाएर तल खसेको थियो ।
बसमा सवार यात्रुले केही बुझ्नुअघि नै बसमा आगलागी भएको थियो, जसका कारण कम्तीमा २१ जनाको जलेर मृत्यु भएको थियो । खबर पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेर घाइतेको उद्धार गरेको थियो ।
बसमा लागेको आगो निभाएर शव निकाल्ने काम भइरहेको छ । शवहरु नराम्ररी जलेका छन् । भेनिसका मेयर लुइगी ब्रुगनारोले स्थानीय मिडियालाई भनेअनुसार बस भेनिसबाट नजिकैको मार्गेरा जाँदै थियो। उनले यो घटना दुःखद भएको बताए ।
स्थानीय सञ्चारमाध्यमका अनुसार ४० वर्षीय बस चालक अल्बर्टो रिजोटोको रूपमा पहिचान भएका छन्। ट्राफिक सल्लाहकार रेनाटो बोरासोले रिजोटो ड्राइभिङमा विज्ञ र बस चालकको रूपमा ७ वर्षको अनुभव रहेको बताए ।
रिपोर्टका अनुसार एक अधिकारीले मृतकमा युक्रेनी पर्यटक पनि रहेको बताएका छन् । स्थानीय समाचार एजेन्सी एएनएसएले मृतकमा जर्मन र फ्रान्सेली नागरिक पनि रहेको जनाएको छ । सहरका एक अधिकारीले एएफपीलाई भनेअनुसार घाइते हुनेमा तीन युक्रेनी, एक क्रोएसियाली, एक जर्मन र एक फ्रान्सेली नागरिक छन्।
दुर्घटनापछि देशकी प्रधानमन्त्रीले पनि शोक व्यक्त गरेकी छिन् । प्रधानमन्त्री जर्जिया मेलोनीले ट्वीटरमा लेखेकी छन्, ‘मेस्त्रीमा भएको गम्भीर घटनाप्रति म व्यक्तिगत र सरकारको गहिरो समवेदना व्यक्त गर्दछु। हाम्रो समवेदना पीडित र तिनीहरूका परिवार र साथीहरूसँग छन्।’
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले ट्वीटरमा लेखेका छन्, “आज साँझ भेनिसमा भएको भयानक त्रासदीमा मारिएका इटालियन जनता, परिवार र प्रियजनहरूप्रति मेरो समवेदना छ।”
Facebook Comment