सिंगापुरमा निजी कार किन्न प्रमाणपत्र लिनुपर्ने, प्रमाणपत्रको मात्रै मूल्य १ करोड ४० लाख रुपैयाँ

डिसी नेपाल
२० असोज २०८० १०:०२

काठमाडौं । सिङ्गापुरमा ठूलो पारिवारिक कार किन्नका लागि अब १०६,६१९ डलर अर्थात १ करोड ४० लाख रुपैयाँको प्रमाणपत्र लिनुपर्नेछ ।

सडकमा सवारीको चाप कम गर्ने उद्देश्यले सन् १९९० मा सिङ्गापुर सरकारले १० वर्षको अवधिका लागि सर्टिफिकेट अफ एन्टाइटलमेन्ट (सीओई) खरिद गर्ने व्यवस्था गरेको थियो ।

यस प्रावधानका कारण, सिंगापुरमा निजी कारको स्वामित्व लिन यो प्रमाणपत्र खरिद गर्न आवश्यक छ। यो प्रमाणपत्र प्रत्येक दुई हप्तामा लिलामी हुन्छ र यसको बिक्री र नम्बर सरकारको नियन्त्रणमा हुन्छ।

कर र आयात शुल्कसहितको यो प्रावधानसँगै सिंगापुर कारको स्वामित्वमा विश्वकै सबैभन्दा महँगो देश बनेको छ । उदाहरणका लागि, सिंगापुरमा टोयोटा क्यामरी हाइब्रिडको मूल्य सीओइ र करहरू सहित २ लाख ५० हजार डलर (३ करोड ३० लाख रूपैयाँ) छ।

अमेरिकामा सोही कारको मूल्य योभन्दा ६ गुणा कम छ । तर विभिन्न सवारीसाधन अनुसार यो प्रमाणपत्रको मूल्य फरक–फरक हुन्छ । उदाहरणका लागि, मोटरसाइकल र साना सवारीका लागि प्रमाणपत्रको मूल्य ठूला सवारी र व्यावसायिक सवारी साधनहरूको तुलनामा कम छ।

सिंगापुर विश्वका थोरै देशहरू मध्ये एक हो जहाँ सार्वजनिक यातायात राम्रो अवस्थामा छ। सिंगापुर सरकारले आफ्ना नागरिकहरूलाई सार्वजनिक यातायात प्रणाली प्रयोग गर्न प्रोत्साहित गर्दछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *