युक्रेनको एउटा गाउँमा रुसी आक्रमणमा ५१ जनाको मृत्यु

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणमा पूर्वी युक्रेनमा कम्तीमा ५१ जनाको मृत्यु भएको बताएका छन् ।
गाउँको एउटा क्याफेमा रुसी इस्कन्डर मिसाइलले आक्रमण गरेको बताइएको छ । ह्रोजा गाउँबाट आएका तस्बिरहरू हृदयविदारक छन्।
खार्किभ क्षेत्रका प्रमुख ओलेह सिन्येहुबोभले मृतकहरू सबै ह्रोजा गाउँका रहेको बताए । २०२० को जनगणना अनुसार यहाँ ५०१ मानिसहरू बस्थे। यस हमलामा गाउँको १० प्रतिशत जनसंख्या मारिएको छ।
युक्रेनका आन्तरिक मन्त्री लिहोर क्लिमेन्कोले युक्रेनी टिभी च्यानललाई भनेअनुसार गाँउमा हमला हुँदा क्याफेमा ३०० जना मानिस अन्तिम संस्कारमा उपस्थित थिए।
संयुक्त राष्ट्र संघले ह्रोजामाथि भएको आक्रमणलाई भयानक भएको बताएको छ ।
युक्रेनका लागि संयुक्त राष्ट्रसङ्घका मानवीय संयोजक डेनिस ब्राउनले एक विज्ञप्तिमा नागरिक वा सर्वसाधारण लक्षित आक्रमणलाई युद्ध अपराध मान्ने बताए।
युक्रेनी सरकारले यो गाउँमा कुनै सैन्य लक्ष्य नभएको बताएको छ । जेलेन्स्की युरोपेली नेताहरुको सम्मेलनमा भाग लिन आएका बेला यो हमला भएको हो ।
यस सम्मेलनमा ईयूका विदेश मामिला प्रमुख जोसेप बोरेलले राजनीतिक उथलपुथलका कारण अमेरिकाले युक्रेनी सेनालाई सहयोग गर्न नसक्ने बताए ।
युक्रेनका लागि सहायता कोष अमेरिकी कांग्रेसमा हालै भएको बजेट सम्झौतामा समावेश गरिएको थिएन। बोरेलले भने ‘युरोपेली देशहरूले अमेरिकी सहयोगको अभावले सिर्जना गरेको शून्यता भर्न सक्दैनन्।’
आक्रमण हुनुअघि थिंक ट्याङ्क भल्दाई डिस्कसन क्लबमा बोल्दै रुसी राष्ट्रपति पुटिनले ‘यो युद्ध युक्रेनले पश्चिमा देशको सहयोगमा सुरु गरेको र यसलाई रोक्न विशेष सैन्य कारबाही चलिरहेको छ’ भनेका थिए।
Facebook Comment