स्थानीय गुण्डासँग अनुहार मिल्दो देखिएपछि डाक्टरको समूहमाथि गोली हानियो, ३ डाक्टर मारिए
काठमाडौं । प्रहरीले ब्राजिलको एक लोकप्रिय समुद्र तटमा तीन डाक्टरको हत्यालाई गिरोह युद्धसँग जोडेको छ। यस आक्रमणमा एक चिकित्सक घाइते पनि भएका छन् ।
मारिएका डाक्टर अर्थोपेडिक चिकित्सकहरुको सम्मेलनमा सहभागी हुन साओ पाउलोबाट रियो दि जेनेरियो आएका थिए । बिहीबार बिहान रियो दि जेनेरियोको बिच फ्रन्टमा बारमा बसेका डाक्टरमाथि अचानक गोली चलेको थियो ।
मिनिभ्यानमा आएका आक्रमणकारीले ३० भन्दा बढी गोली हानेर भागेका थिए । यस आक्रमणमा तीन चिकित्सकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मारिएका डाक्टरमध्ये एक वामपन्थी नेताका भाइ हुन् । यस आक्रमणको ब्राजिलको राजनीतिको हरेक विचारधाराका मानिसहरूले निन्दा गरेका छन्। राष्ट्रपति लुला डा सिल्भाले पनि दुःख व्यक्त गरेका छन् ।
ब्राजिलका प्रहरीले बिच बारमा बसेका यी डाक्टरको हत्याको कारण गलत पहिचान पनि हुनसक्ने बताएको छ ।
मारिएका डाक्टरमध्ये एकजनाको अनुहार स्थानीय गुण्डाको जस्तै भएकाले यी हत्या भएको प्रहरीको अनुमान छ ।
यो हमला रियो दि जेनेरियोको सबैभन्दा विलासी क्षेत्रमा भएको थियो।
आक्रमणपछि ब्राजिलमा संगठित अपराधीहरुको बढ्दो प्रभावको बारेमा पनि चिन्ता व्यक्त गरिएको छ ।
मारिएका डाक्टरहरू एक सम्मेलनमा भाग लिन आएका थिए र बुधबार राति समुद्र किनारको बारमा रक्सी खान आएका थिए।
प्रहरीका अनुसार यहाँबाट केही पर चारजना संदिग्ध आक्रमणकारीको शव फेला परेको र उनीहरुको आफ्नै समूहले हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ ।
Facebook Comment