इरानले हमासको आक्रमणमा आफ्नो ‘प्रत्यक्ष संलग्नता’ अस्वीकार
काठमाडौं । संयुक्त राष्ट्रसंघका लागि इरानको मिसनले दक्षिणी इजरायलमा हमास लडाकुहरूले गरेको आक्रमणमा आफू संलग्न नभएको बताएको छ।
समाचार एजेन्सी रोयर्सका अनुसार मिसनले आइतवार एक विज्ञप्ति जारी गरी भन्यो- “हामी प्यालेस्टाइनको समर्थनमा दृढताका साथ खडा छौं । तर, प्यालेस्टाइनको यो प्रतिक्रियामा हामी संलग्न छैनौं, यो कारबाही प्यालेस्टाइनको तर्फबाट मात्रै गरिएको हो ।”
यसअघि हमासले शनिबार भएको आक्रमणमा इरानले सहयोग गरेको बताएको थियो ।
इरानले वर्षौंदेखि हमासलाई समर्थन गर्दै आएको छ र उसका लडाकुहरूलाई हतियार र तालिम प्रदान गर्दै आएको छ। चरमपन्थी समूहले इरानको सहयोगले नियोजित आक्रमण गर्न मद्दत गरेको बताएको थियो।
तर, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आइतबार सीएनएनलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘हामीले यस्तो कुनै प्रमाण फेला पारेका छैनौं जसको आधारमा यो आक्रमणको निर्देशन इरानले दिएको हो वा यसको पछाडि इरानको हात रहेको हो भनेर भन्न सकिन्छ ।’
Facebook Comment