चिरख्वा हाइड्रोपावरको आइपीओमा आजबाट आवेदन दिन सकिने
काठमाडौं। चिरख्वा हाइड्रोपावर लिमिटेडको आज मंगलबार असोज २३ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला भएको छ।
यसअघि यस कम्पनीले १०% अर्थात् ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ। २% अर्थात् १६ हजार कित्ता सामूहिक लगानी कोष र ५% अर्थात् ४० हजार कित्ता कर्मचारीचारीलाई बाँडफाँट गरिसकेको छ।
साथै, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ४ लाख कित्ता सेयर निष्कासन गरेको थियो। स्थानीयले २ लाख ४ हजार ७ सय कित्ता सेयरको लागि मात्रै आवेदन दिएकाले बाँकी रहेको १ लाख ९५ हजार ३ सय कित्ता पनि थप गरेर कम्पनीले ८ लाख ५९ हजार ३ सय कित्ता सेयर सर्वसाधारणका लागि सेयर निष्कासनमा ल्याएको हो। यसमा असोज २६ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा कात्तिक ३ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन्। सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ।
रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई ‘इक्रा एनपी डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत स्तरको जोखिम रहेको संकेत गर्छ। इक्रा नेपालले २०७९ साल फागुन १ गते उक्त रेटिङ दिएको थियो। यो रेटिङ २०८० साल फागुन १ गतेसम्म बाहल रहनेछ।
यस जलविद्युत उत्पादन केन्द्र भोजपुर जिल्लाको षडानन्द नगरपालिका वडा नं १,२ र ३ मा रहेको छ। कम्पनीले भोजपुर जिल्लास्थित चिरख्वा खेलाको पानी प्रयोग गरी ४.७ मेगावाट जडित क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ।
चिरख्वा हाइड्रोपावरको अधिकृत पुँजी ४० करोड रुपैयाँ रहेको छ । यस्तै, जारी पुँजी पनि ४० करोड रुपैयाँ नै रहेको छ । आइपीओ निष्कासनपछि चुक्ता पुँजी जारी पुँजी बराबर नै अर्थात ४० करोड रुपैयाँ पुग्नेछ।
यसमध्ये संस्थापक सेयरधनीको हिस्सा ७०%, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको हिस्सा १०% र सर्वसाधारण सेयरधनी, आयोजनामा कार्यरत कर्मचारी तथा सामूहिक लगानी कोषको हिस्सा गरेर २०% रहनेछ । कम्पनीले आर्थिक वर्ष २०८१-८२ सम्म पुँजी बढाउने कुनै योजना बनाएको छैन।
यता, चालु आर्थिक वर्षको अन्त्यसम्म प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४२ पैसा र प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ८० पैसा कायम हुने प्रक्षेपण गरेको छ। आर्थिक वर्ष २०८१–८२ सम्ममा प्रतिसेयर आम्दानी १३ रुपैयाँ ११ पैसा हुने प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ११ पैसा हुने प्रक्षेपण छ।
Facebook Comment