६ महिनामा सवारी चालक अनुमतिपत्र वितरणको काम सहज हुन्छ : मन्त्री ज्वाला

डिसी नेपाल
२५ असोज २०८० १३:५४

काठमाडाैं। सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नवीकरण, वर्ग थप र राजस्व भुक्तानी अनलाइन प्रक्रियाबाटै गर्न सकिने भएको छ।

बिहीबार ललितपुरको एकान्तकुनामा सवारी चालक अनुमतिपत्रको अनलाइन राजश्व भुक्तानी सहितको विद्युतीय सेवा प्रवाह प्रणाली विस्तार सेवाको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले शुभारम्भ गरे।

विद्युतीय सेवा प्रवाह प्रणाली विस्तार सेवाको शुभारम्भ गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जनतालाई सहज रुपमा सेवा दिनका लागि सेवा शुभारम्भ सुरु गरिएको बताए।

उनले सहयोगका नाममा सेवाग्रहीहरुलाई दुख दिने काम गरेको भन्दै कर्मचारीहरुले नै यसलाई नियन्त्रण गर्नुपर्ने बताए। कर्मचारीहरुले सेवाग्राहीलाई सहज रुपमा सेवा दिन विचौलियाहरु कम हुँदै जाने उनको भनाइ छ।

त्यस्तै मन्त्री ज्वालाले आगामी ६ महिनामा सवारी चालक अनुमतिपत्र बितरणको काम सहज हुने बताए। छिटै १२ लाख स्मार्ट लाइसेन्स आउने र त्यसपछि स्मार्ट लाइसेन्सको अभाव हट्ने दावी गरे।

त्यस्तै बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री लम्सालले बर्षमा औसत ६ लाख यातायात कार्यालयमा आउने गरेको भन्दै उनीहरुलाई सहज रुपमा सेवा दिन कर्मचारीहरु तत्पर हुनुपर्ने बताए। यातायात कार्यालयप्रति जनमानसको सोचाईलाई परिवर्तन गर्न जरुरी रहेको उनको भनाइ छ।

उनले यातायात सम्बन्धी सम्पूर्ण सेवाहरुलाई सहज रुपमा बढाउनका लागि आवश्यक तयारी भइसकेको बताए। सरकारले उपत्यकापछि देशैरभर यातायात कार्यालयलाई अनलाइन मैत्री बनाउने तयारी गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *