गाजामा बढ्दो बमबारीका बीच अमेरिकी राष्ट्रपति बाइडेन इजरायल जाने
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार इजरायलको भ्रमण गर्दैछन् । विदेशमन्त्री एन्टोनी ब्लिन्केनले राष्ट्रपतिको भ्रमणको घोषणा गरेका छन्।
अमेरिकी कूटनीतिज्ञ एन्टोनी ब्लिन्केन र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच सोमबार सात घण्टा लामो भेटवार्तापछि जेरुसेलमस्थित अमेरिकी दूतावासले भ्रमणको घोषणा गरेको हो ।
ब्लिन्केनले पत्रकारहरूलाई भने कि राष्ट्रपति बाइडेनलाई “इजरायलको युद्ध र यसको युद्ध रणनीतिको विस्तृत विवरण” बारे जानकारी दिइनेछ।
विदेश मन्त्रीका अनुसार बाइडेनले “इजरायलबाट कसरी नागरिकको हताहतलाई कम गर्ने तरिकामा आफ्नो कार्य सञ्चालन गर्ने” र गाजामा प्यालेस्टिनी नागरिकहरूलाई सहायता पुग्न अनुमति दिने बारेमा जानकारी लिनेछन्।
नेतान्याहुको निमन्त्रणामा बाइडेनले इजरायलको भ्रमण गर्नेछन् ।
नेशनल सेक्युरिटी काउन्सिलका प्रवक्ता जोन किर्बीले केही समय अघि पत्रकार सम्मेलनमा भनेका थिए कि बाइडेनको भ्रमणको मुख्य लक्ष्य इजरायलसँग “हाम्रो ऐक्यबद्धता व्यक्त गर्नु” र गाजाका नागरिकहरूलाई सहयोग प्रदान गर्नु हो।
किर्बीले भने, “उनले मानवीय सहायताको मुद्दामा छलफल गर्नेछन् ताकि यो सहायता हमासलाई फाइदा नहुने तरिकाबाट जान्छ।”
यस बाहेक गाजा छोड्न चाहने आम जनताले त्यसो गर्न सकून् भनेर बाइडेनले सुरक्षित मार्ग तयार गर्ने काम पनि गर्नेछन्।
जो बाइडेन इजरायल भ्रमणपछि जोर्डन जानेछन् । त्यहाँ उनले जोर्डनका राजा अब्दुल्लाह, इजिप्टका राष्ट्रपति अल–सिसी र प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमूद अब्बाससँग भेट गर्नेछन् ।
Facebook Comment