गाजाको अस्पतालमा ५०० जनाको हत्या भएकै बेला अमेरिकी राष्ट्रपति इजरायल प्रस्थान
काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेन बुधबार इजरायल प्रस्थान गरेका छन् । गाजाको एक अस्पतालमा भएको आक्रमणमा करिब ५०० जनाको ज्यान गएको दाबी भइरहेका बेला उनको भ्रमण भएको हो।
इजरायलले यस हमलामा आफ्नो कुनै पनि भूमिका अस्वीकार गर्दै यो हमला ‘प्यालेस्टिनी इस्लामिक जिहाद’को रकेटको परिणाम भएको बताएको छ। यस चरमपन्थी संगठनले पनि आफ्नो जिम्मेवारी अस्वीकार गरेको छ।
गाजाको स्वास्थ्य विभागले अल अहली अस्पतालमा इजरायलले गरेको हवाई आक्रमणमा करिब ५०० जनाको मृत्यु भएको दाबी गरेको छ।
यसैबीच जोर्डनले अमेरिकी राष्ट्रपति जो बाइडेन, प्यालेस्टाइनी राष्ट्रपति महमूद अब्बास र इजिप्टका राष्ट्रपति अब्दुल फताह अल सिसीसँगको शिखर वार्ता रद्द गरेको छ।
अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन किर्बीले बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई पहिलो भेट गर्ने बताएका छन्।
चरमपन्थी संगठन हमास र हिजबुल्लाहले अस्पतालमा भएको आक्रमणमा इजरायलसँगै अमेरिका पनि जिम्मेवार रहेको बताएका छन्।
लेबनानको राजधानी बेरुतमा रहेको अमेरिकी दूतावास बाहिर मंगलबार राति प्रदर्शनकारीहरूले विरोध प्रदर्शन गरेका छन्।
यसैबीच अमेरिकाले लेबनान यात्रा गर्ने मानिसहरूका लागि एडभाइजरी जारी गरेको छ। सुरक्षाको कारणले उनीहरूलाई यात्रा नगर्न भनिएको छ।
Facebook Comment