गाजा अस्पतालमा भएको आक्रमण प्यालेस्टिनी इस्लामिक जिहादले गरेको इजरायली सेनाको आरोप
काठमाडौं । इजरायल डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता ड्यानियल हगारीले इजरायली सेनाले अल अहली अस्पतालमा भएको आक्रमणको लागि प्यालेस्टिनी इस्लामिक जिहाद समूह जिम्मेवार रहेको पत्ता लगाएको दाबी गरेका छन् ।
“हामीले तुरुन्तै आइडिएफको सबै सान्दर्भिक शाखाहरूबाट जानकारी सङ्कलन गर्यौं,” उनले पत्रकारहरूलाई भने।
हगारीले अस्पतालमा हमला गर्नुअघि मङ्गलबार साँझ स्थानीय समयअनुसार ६ः१५ बजे हमासले इजरायलमा धेरै रकेट प्रहार गरेको बताए ।
उनले भने, “त्यसपछि साँझ ७:५९ मा प्यालेस्टिनी इस्लामिक जिहादले एउटा चिहानबाट करिब १० रकेट प्रहार गरेको थियो। त्यही समयमा गाजाको एउटा अस्पतालमा विस्फोट भएको खबर आएको थियो।”
हागारीको दाबीअनुसार हमासलाई विस्फोट इस्लामिक जिहादको रकेटको परिणाम हो भन्ने थाहा थियो । तर यसले इजरायललाई दोष दिन ‘ग्लोबल मिडिया अभियान’ सुरु गर्यो।
उनले भने, “उनीहरूले मृतकको संख्यालाई पनि बढाइचढाइ गरे। उनीहरूलाई थाहा छ कि यो इस्लामिक जिहादको रकेट आक्रमणका कारण भएको हो र अस्पतालमा क्षति पुगेको थियो। हवाई फुटेजले पुष्टि गरेको छ कि रकेट आक्रमण सीधा अस्पतालमा खसेको थिएन । नजिकैको भवनमा पनि क्षति पुगेको छैन । अस्पताल बाहिरको पार्किङ क्षेत्र मात्रै क्षतिग्रस्त भएको छ ।”
Facebook Comment