लेबननमा प्रभावशाली हिज्बुल्लाह के हो?

डिसी नेपाल
३ कार्तिक २०८० ८:४२

बीबीसी। हिज्बुल्लाह इरानबाट समर्थन पाएको लेबननस्थित शिया इस्लामिस्ट राजनीतिक पार्टी तथा अर्धसैनिक समूह हो जसलाई सन् १९९२ यता हसन नस्रल्लाहले नेतृत्व गर्दै आएका छन्। हिज्बुल्लाहको शाब्दिक अर्थ ‘ईश्वरको पार्टी’ हो।

सन् १९८० को दशकमा इजरेलले गर्न थालेको कब्जाका बेला इरानको आर्थिक र सैन्य सहायताबाट हिज्बुल्लाहको उदय भएको हो।

परम्परागत रूपमा दक्षिणी लेबननका अधिकारविहीनहरूको रक्षकको रूपमा अघि सरे पनि हिज्बुल्लाहको वैचारिक जरा लेबननमा सन् १९६० र ७० को दशकमा भएको शिया इस्लामको पुनरुत्थानसँग गाँसिएको छ।

सन् २००० मा इजरेल फिर्ता भएपछि हिज्बुल्लाहले निरस्त्र हुनुपर्ने दबावको प्रतिरोध गर्‍यो र आफ्नो सैनिक सङ्गठन ‘इस्लामिक रेसिस्टन्स’लाई सुदृढ पार्ने काम जारी राख्यो।

रेसिस्टन्स ब्लक नामक पार्टीप्रतिको बफादारीको प्रयोग गर्दै हिज्बुल्लाह बिस्तारै लेबननको राजनीतिक प्रणालीभित्र एउटा महत्त्वपूर्ण शक्ति बन्न पुग्यो र मन्त्रिपरिषद्‌भित्र विशेषाधिकार प्रयोग गर्न सक्ने भयो।

हिज्बुल्लाहमाथि खासगरी इजरेली र अमेरिकी निसानाविरुद्ध बम पड्काउने र षड्यन्त्र गर्ने काम गरेको आरोप वर्षौँदेखि लाग्दै आएको छ। पश्चिमा देशहरूका साथै इजरेल, खाडी अरब देशहरू र अरब लीगले हिज्बुल्लाहलाई “आतङ्कवादी” सङ्गठन घोषित गरेका छन्।

सिरियाका राष्ट्रपति बशर अल-असादको कटिबद्ध साझेदारको रूपमा रहेको हिज्बुल्लाहले त्यहाँको गृहयुद्धका क्रममा हजारौँ लडाकु पठायो। खासगरी लेबननसँग सीमा जोडिएको पहाडी क्षेत्रमा सरकार समर्थक फौजलाई सघाउने काममा सङ्गठनको ठूलो भूमिका रह्यो।

इजरेलले इरान र हिज्बुल्लाहसँग सम्बन्ध रहेको ठानिएका सिरियास्थित अखडाहरूलाई नियमितजसो निसाना बनाउँदै आएको छ। तर आफूले आक्रमण गरेको कुरा उसले विरलै स्वीकार गर्छ।

सिरियामा हिज्बुल्लाहको संलग्नताले लेबननमा साम्प्रदायिक तनाव बढाइदिएको छ। उसले सिरियाका शिया अलाविट राष्ट्रपतिलाई समर्थन गर्छ र इरानसँग उसको बलियो सम्बन्ध छ। अर्को खाडी अरब देशहरूसँग इरानको तिक्तता रहेको छ जसको प्रमुख प्रतिद्वन्द्वीको रूपमा साउदी अरब छ।

अक्टोबर ७ तारिखमा प्यालेस्टिनी लडाकु समूह हमासले इजरेलमाथि अचानक गरेको हमलापछि हिज्बुल्लाह र इजरेलबीच सीमा वारि र पारिबाट गोली हानाहान भएको छ।
इजरेलले हजारौँ मानिस हताहत हुने गरी गाजामा आक्रमण गर्न थालेपछि हिज्बुल्लाहले इजरेलविरुद्धको लडाइँमा सघाउन “पूर्ण रूपमा तयार” रहेको जनायो।

हिज्बुल्लाहको सैनिक, सुरक्षा र राजनीतिक प्रभावका तथा उसले उपलब्ध गराउने सेवाले उसलाई ‘राज्यभित्र राज्य’को प्रतिष्ठा दिलाएको छ। त्यसका कारण हिज्बुल्लाहको सरकारी संस्थाहरूसँग प्रतिद्वन्द्विता देखिन्छ र उसले तिनबाट आलोचना पनि खेप्नुपरेको छ। लेबननका कतिपय नेताले हिज्बुल्लाहलाई देशको स्थिरताका लागि ठूलो खतरा ठान्छन्। तर शिया समुदायबीच उक्त समूह सधैँ लोकप्रिय रहँदै आएको छ।

हिज्बुल्लाहको ठ्याक्कै कहाँ उत्पत्ति भयो भन्ने ठम्याउन गाह्रो छ। तर सन् १९८२ मा प्यालेस्टिनी लडाकुहरूले आक्रमण गरेपछि त्यसको प्रतिकारमा इजरेलले दक्षिणी लेबननमा अतिक्रमण गर्न थाल्यो। लडाइँको समर्थन गर्ने शिया नेताहरू ‘अमाल’ आन्दोलनबाट अलग्गिएपछि हिज्बुल्लाहका पूर्ववर्तीहरू उदाए।

नयाँ सङ्गठन ‘इस्लामिक अमाल’ले बेका उपत्यकामा अवस्थित इरानको रिभलूशनरी गार्ड्सको तर्फबाट उल्लेख्य सैनिक तथा साङ्गठनिक सहयोग पायो। उक्त सङ्गठन सबैभन्दा प्रभावकारी शिया लडाकु समूह बन्यो। त्यसैबाट पछि हिज्बुल्लाह गठन भयो।

उक्त समूहले इजरेल तथा उसका साझेदारहरूमाथि, साउथ लेबनन आर्मी (एसएलए) र लेबननस्थित विदेशी शक्तिहरूमाथि आक्रमण थाल्यो।

सन् १९८३ मा अमेरिकी दूतावास र अमेरिकी मरीन ब्यारेकहरूमा भएका हमलामा तिनै लडाकुको हात रहेको बताइन्छ। ती हमलामा २५८ जना अमेरिकी र ५८ जना फ्रान्सेली मारिए। त्यसपछि पश्चिमा शान्ति सैनिकहरू फिर्ता भए।

एउटा “खुलापत्र” प्रकाशित गर्दै हिज्बुल्लाहले आफ्नो स्थापनाको घोषणा गर्‍यो। सो क्रममा उसले अमेरिका र सोभियत सङ्घलाई इस्लामको प्रधानशत्रु घोषणा गर्‍यो र मुस्लिमहरूको भूभाग कब्जा गरेको भन्दै इजरेललाई निमिट्यान्न पार्न आह्वान गर्‍यो। सन् १९८९ को ताइफ सम्झौतासँगै लेबननको गृहयुद्ध सकियो। सम्झौताले लडाकुहरूलाई निरस्त्र हुन आह्वान गरेपछि हिज्बुल्लाहले आफ्नो सैन्य एकाइलाई “इस्लामिक रेसिस्टन्ट” नामकरण गर्‍यो।

त्यसलाई उसले इजरेली कब्जा अन्त्य गर्नमा समर्पित गर्‍यो र अस्त्र राख्न पाउने अनुमति दियो।

सिरियाली सेनाले सन् १९९० मा लेबननमा शान्ति कायम गरेपछि हिज्बुल्लाहले दक्षिणी लेबननमा गुरिल्ला युद्ध जारी राख्यो। तर त्यसले लेबननको राजनीतिमा पनि सक्रिय भूमिका खेल्न थाल्यो।

सन् १९९२ को राष्ट्रिय चुनावमा ऊ पहिलो पटक सहभागी भयो र सफल पनि भयो। अन्ततः सन् २००० मा इजरेली फौज फिर्ता हुनुमा हिज्बुल्लाहको भूमिका रहेको बताइयो।

शेबा फार्म्स र अरू विवादित क्षेत्रमा इजरेली उपस्थितिलाई देखाउँदै उक्त समूहले निरस्त्र हुनुपर्ने दबावको प्रतिकार गरिरह्यो र दक्षिणमा सैन्य उपस्थिति कायम राख्यो।

सन् २००६ मा हिज्बुल्लाहले सीमापार हमला गर्‍यो जसमा आठ इजरेली सैनिक मारिए अनि दुई जनालाई बन्धक बनाइयो। त्यसपछि इजरेलले व्यापक हमला गर्‍यो।

त्यस क्रममा इजरेली लडाकु विमानहरूले हिज्बुल्लाहको बलियो पकड रहेको दक्षिणमा र बेरुतको दक्षिणी बाह्य भेगमा बमबारी गरे भने हिज्बुल्लाहले झन्डै ४,००० वटा रकेट प्रहार गर्‍यो।

त्यो बेला ३४ दिनसम्म चलेको लडाइँका क्रममा लेबननका १,१२५ जनाभन्दा बढी व्यक्ति मारिए। तीमध्ये अधिकांश सर्वसाधारण थिए।

इजरेलतर्फ ११९ जना सैनिक र ४५ जना सर्वसाधारण मारिएका थिए।

पश्चिमा समर्थित लेबनन सरकारले सन् २००८ मा हिज्बुल्लाहको निजी दूरसञ्चार सञ्जाल बन्द गर्ने कदम चालेपछि र हिज्बुल्लाहसँग सम्बन्ध रहेको आरोपमा बेरुत विमानस्थल सुरक्षा प्रमुखलाई हटाएपछि उक्त समूहले राजधानीको ठूलो भूभागमा कब्जा गर्‍यो र प्रतिद्वन्द्वी सुन्नी समूहसँग लडाइँ गर्‍यो।

लेबननलाई नयाँ गृहयुद्धको सँघारमा पुर्‍याएको र ८१ जनाको ज्यान जाने गरी भएको साम्प्रदायिक दङ्गा रोक्न सरकार पछि हट्यो अनि सत्ता साझेदारी गर्ने सहमति भयो।

उक्त सम्झौताले हिज्बुल्लाह र उसका साझेदारहरूलाई मन्त्रिपरिषद्‌को निर्णय विशेषाधिकार दिलायो।

सन् २००९ को चुनावमा उसले १० वटा सीटमा जित हासिल गर्‍यो र एकताको सरकारमा सहभागी बन्यो।

सन् २०११ मा हिज्बुल्लाह र उसका साझेदारहरूले साउदी अरब समर्थित साद हरिरीको एकताको सरकार ढाले।

सन् २००५ मा साद हरिरीका बुवा रफिक हरिरीको हत्यामा संलग्न रहेका हिज्बुल्लाहका चार सदस्यमाथि आरोप लगाइएपछि उसले उक्त कदम चालेको थियो।

संयुक्त राष्ट्रसङ्घ समर्थित लेबननका लागि विशेष न्यायाधिकरणले सन् २०२० को डिसेम्बरमा हिज्बुल्लाहका सदस्य सलिम अय्यासलाई जन्मकैदको फैसला सुनायो।

हिज्बुल्लाह र उसका साझेदारहरू सरकारमा सहभागिता जनाउँदै आएका छन् जसमा उनीहरूको बलियै प्रभाव देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *