कुनै बेला पाकिस्तानी सेनाका कट्टर प्रतिद्वन्द्वी नवाज शरिफ स्वदेश फर्किए

डिसी नेपाल
५ कार्तिक २०८० ६:२८

बीबीसी। पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफ आम निर्वाचन आउन लागेका बेला निर्वासनबाट स्वदेश फर्किएका छन्। लामो राजनीतिक यात्रामा उनी पाकिस्तानको शक्तिशाली सेनाका लागि काँडा बनेका थिए।

अन्तिम पटक उनी पाकिस्तानमा हुँदा शरिफ भ्रष्टाचारको मुद्दामा जेलमा थिए। तर सन् २०१९ नोभेम्बरमा उनलाई अदालतले स्वास्थ्य उपचारका लागि जेल बाहिर र विदेश जान पनि अनुमति दियो।

अहिले के देखिन्छ भने अब सेना कुनै बेला आफैँले कू गरेर हटाएका व्यक्तिलाई पुनः स्वागत गर्न तयार छ र उनी फेरि प्रधानमन्त्री बन्न पनि सक्छन्। त्यति मात्र होइन उनका प्रतिद्वन्द्वी र सन् २०१८ मा उनलाई प्रधानमन्त्रीबाट प्रतिस्थापित गर्ने इमरान खान आफैँ अहिले सेनाले साथ नदिएपछि जेलमा पुगेका छन्।

यद्यपि पहिले नै हामीलाई थाहा भइसकेका कुरा बाहेक अबका गतिविधि कसरी अघि बढ्छन् भन्ने निश्चित छैन।

तीन पटक प्रधानमन्त्री भइसकेका शरिफले विगत चार वर्ष लन्डनमा बिताएका छन्। उनलाई स्पष्ट रूपमा उपचारका लागि एयर एम्बुलेन्समा जेल छाड्न अनुमति दिएपछि लन्डन पुगेका थिए तर उपस्थित हुनुपर्ने समयमा उनी पाकिस्तान आएनन् र उतै बसे।

सन् २०२२ मा इमरान खान अविश्वासको मतमा प्रधानमन्त्रीबाट हटेपछि उनले आफ्नो राजनीतिक सक्रियता बढाइरहेका छन्। इमरान खानलाई हटाइएपछि शरिफको पीएमएल-एन पार्टीले उनका कान्छा भाइ शाहबाजको नेतृत्वमा पाकिस्तानको सत्ता सम्हालेको थियो।

अब ठूल्दाई घर फर्कँदैछन्। शनिवार दुबईबाट इस्लामाबाद ओर्लिएका उनी गृहनगर लाहोर पुगेर एउटा सभालाई सम्बोधन गर्नेछन्। उनीमाथि लागेका मुद्दाहरू अदालतमा बाँकी छन् तर अर्को साता सुनुवाइ नभएसम्मका लागि उनले जमानत पाएकाले तत्काल पक्राउ पर्ने सम्भावना छैन। शरिफ निर्वासनबाट फर्केको यो पहिलो पटक भने होइन।

सन् २००७ मा उनी र विपक्षी नेता बेनजिर भुट्टोले सन् १९९९ को सैन्य कूपछि पहिलो पटक चुनावमा भाग लिन सेनासँग ऐतिहासिक सम्झौता गरेका थिए। सन् १९९९ मा उनलाई सेनाले कूमार्फत हटाएको थियो।

त्यस बेला उनी स्वदेश फर्कँदा अहिलेको भन्दा अवस्था भिन्न थियो र सबै प्रमुख दलहरू एकै ठाउँमा थिए। त्यस बेला चुनावी र्‍यालीमा भुट्टोको हत्या भएको एक सातापछिको चुनावमा उनको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) विजयी भएको थियो।

उनको पार्टीले आगामी चुनावमा उनी प्रधानमन्त्रीको उम्मेदवार बन्ने स्पष्ट पारेको छ र त्यहाँ सन् २०२४ मा चुनाव हुँदैछ। तर ७३ वर्षे उनले धेरै खाले चुनौतीहरूको सामना गर्नुपर्ने देखिन्छ।

देशको अर्थतन्त्र सङ्कटमा रहेको त छ नै मुख्य प्रतिपक्षी नेता नै जेलमा रहेकाले निर्वाचन निष्पक्ष हुन्छ भन्नेमा पनि धेरैको विश्वास छैन। आर्थिक सङ्कटका लागि पनि उनको पार्टीलाई व्यापक रूपमा दोष दिइन्छ।

त्यसका साथै त्यहाँ शक्तिशाली सेना छ र त्यसले पाकिस्तानलाई कसरी चलाउने भन्नेमा व्यापक भूमिका खेल्छ। विदेशमा रहँदा पनि पूर्व प्रधानमन्त्री शरिफले बेलाबेलामा सेनाविरुद्ध निकै आवाज उठाएका छन्।

विशेषगरी उनले गुप्तचर निकाय आईएसआईका पूर्व प्रमुख र पूर्व सेना प्रमुखलाई राजनीतिक अस्थिरताका लागि दोषी रहेको बताएका थिए। ती आरोपहरूलाई दुवैले अस्वीकार गरेका छन्।

शरिफले उनी “बनावटी मुद्दाहरू”को सिकार भएको र देशका न्यायाधीशले पनि मिलेर आफूलाई पीडित बनाएको आरोप लगाएका छन्। उनले त्यसले गर्दा कुनै पनि प्रधानमन्त्रीलाई आफ्नो संवैधानिक कार्यकाल पूरा गर्न नदिने खालको लोकतन्त्रमा पाकिस्तान परिणत भएको बताएका थिए।

उनका राजनीतिक प्रतिस्पर्धीहरूले उनलाई फर्कन अनुमति दिन सेनासँग एउटा सम्झौता भएको हुनसक्ने आशङ्का व्यक्त गरेका छन्। तर उनीहरू नवाज शरिफले चुनाव जित्ने निश्चित नभएको बताउँछन्।

इमरान खानको पार्टी पाकिस्तान तहरिक-ए इन्साफ (पीटीआई) पार्टीका जुल्फी बुखारीले बीबीसीसँग भने, “म उनी फेरि प्रधानमन्त्री बन्ने देख्दिन किनभने उहाँविरुद्ध मुद्दाहरू छन् र अदालतको आदेशले उनलाई राजनीतिबाट आजीवन अयोग्य ठहर्‍याएको छ।”

तर धेरै विश्लेषकहरू शरिफको पक्षमा फरक तरिकाले घटनाहरू बाहिर आउनसक्ने ठान्छन्। राजनीतिक विश्लेषक वजाहत मसुदले बीबीसीसँग भने, “हाम्रो राजनीतिको परिदृश्य परिवर्तन भएको छैन। राजनीतिक पात्रहरू मात्र परिवर्तन भएका छन्।”

“सन् २०१८ को चुनावमा इमरान खानलाई चुनावको समयमा संस्थापनले सहयोग गरेको थियो। यसपालि सेना नवाज शरीफको लागि चुनाव गर्न व्यस्त छ।” सेनाले शरिफलाई प्राथमिकता दिन्छ वा दिँदैन भन्नेबारे केही थाहा छैन र इमरान खानले पनि सत्ताबाट बाहिरिनुअघि पनि सेनाको बलमा आफू प्रधानमन्त्री बनेको दाबीलाई अस्वीकार गर्दै आएका थिए।

इमरान खान जेलमा छन् ।गत मेमा खानको गिरफ्तारीविरुद्ध भएको हिंसात्मक प्रदर्शनपछि गरिएको दमनमा उनको पार्टीे कमजोर भएका कारण आगामी चुनावमा मतदान निष्पक्ष नहुने कतिपयले ठानेका छन्।

पीटीआईका नेता गिरफ्तार हुनु अघि चुनावी सर्वेक्षणहरूमा यो दल अगाडि देखिएको थियो तर अब उसको मत खस्कने अन्य दलहरूको दाबी छ। देशको सबैभन्दा लोकप्रिय नेतालाई चुनावअघि जेल हालेर स्वतन्त्र र निष्पक्ष चुनाव नहुने बुखारीको भनाइ छ।

उनले निष्पक्ष चुनाव भए इमरान खानको भोट धेरै आउने बताए। नवाज शरिफको पार्टीले पनि सन् २०१८ को मतदानअघि उनी जेलमा रहेका बेला यस्तै कुरा गर्ने गर्थ्यो।

त्यसैले राजनीतिक विश्लेषक इतिहास दोहोरिएको ठान्छन् र यस पटक पीटीआईभन्दा पीएमएल-एनलाई फाइदा पुग्ने दाबी गर्छन्। यस पटकको मुख्य चुनावी मुद्दा भनेको अर्थतन्त्र हो। दुवै पार्टीहरूले अहिलेको गडबडीका लागि एक अर्कालाई दोष लगाउँछन्। उच्च मुद्रास्फीति र जीवनयापन लागत मतदाताहरूको मुख्य चासोको विषय हुनेछ।

पाकिस्तानको राजनीतिमा प्रमुख भूमिका खेल्ने र कैयौँ कूमार्फत सत्ता कब्जा गर्ने सेनाको नवाज शरिफसँगको मतभेदको पनि लामो इतिहास छ। तर पनि अन्य स्पष्ट विकल्पको अभावमा सेना उनीसँग अर्को एउटा प्रयास गर्न इच्छुक देखिएको वजाहत मसूद जस्ता विश्लेषकहरू बताउँछन्।

“पहिले सेनाले इमरान खानलाई यो राम्रो विकल्प हो र उनी सहज हुन् भन्ने सोचेर अगाडि बढायो तर उनीहरूले आफ्नो अख्तियारीलाई खानले चुनौती दिइरहेको महसुस गरेपछि उनलाई हटाउने निर्णय गरे,” मसूद भन्छन्। “अब नवाज शरिफको पालो आएको जस्तो देखिन्छ।”

उनी र अन्य विश्लेषकहरू पनि पूर्व प्रधानमन्त्रीले लन्डनबाट सेनाको आलोचना गरे पनि शरिफ र संस्थापन पक्षबीच सम्झौताको सङ्केत पाइने बताउँछन्। उनीहरू आफ्नो राजनीतिक यात्राको सुरुमा शरिफलाई पनि सेनाले अघि बढाएको रूपमा हेरिएको र इमरान खानले जस्तै उनले आफूलाई आलोचनाहरूबाट बचाउन थालेको स्मरण गर्छन्।

शरिफ आफ्नो राजनीतिक यात्राको अधिकांश समय सेनासँग विवादमा रहँदै आएकाले अब उनले आफ्नो राजनीतिक गोटी कसरी चाल्छन् भन्ने कुरा चाखलाग्दो हुनसक्छ।

पूर्व सांसद नदीम अफजल चान भन्छन्, “उनी ‘हस् हजुर’ भन्ने खालका मान्छे होइनन् र त्यस्तो बन्दैनन्। उनी शरिफको सैन्य संस्थापनसँग लडाइँ भएको इतिहासलाई स्वीकार गरे।

“तर उनीहरूलाई पनि सीमाहरू थाहा छ र कहिले ती सीमाहरू पार गर्ने र कहिले छोड्ने भन्ने पनि थाहा छ” चान भन्छन्। उनले इमरान खान प्रधानमन्त्री हुँदा प्रवक्ताको रूपमा पनि काम गरेका थिए।

यद्यपि चान र अन्य विज्ञहरू कुनै बिन्दुमा टकराव हुनसक्ने ठान्छन् र त्यो केवल समयको कुरा मात्र भएको बताउँछन्। यद्यपि सबैभन्दा पहिले चुनावको मिति तोकिनु पर्नेछ र अर्थतन्त्रलाई पतनबाट जोगाउने विषय त्यसको मुख्य विषय बन्नुपर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *