अमेरिकाको लेविस्टनमा गोलीबारीमा कम्तीमा २२ जनाको मृत्यु, आक्रमणकारी खुलेआम घुम्दै
काठमाडौं । अमेरिकी राज्य माइनको लेविस्टन शहरमा एक बन्दुकधारीले कम्तीमा २२ जनाको हत्या गरेका छन् । बन्दुकधारी अहिले पनि खुलेआम घुमफिर गरिरहेको प्रहरीले जनाएको छ ।
लेविस्टन माइन राज्यको दोस्रो ठूलो शहर हो। पोर्टल्याण्डबाट ३५ किलोमिटरको दुरीमा रहेको यस सहरको जनसंख्या करिब ३८ हजार छ।
प्रहरीले “धेरै स्थानमा” आक्रमणको अनुसन्धान गरिरहेको बताएको छ। प्रहरीले संदिग्धको तस्बिर पनि जारी गरेको छ र सहरका मानिसहरूलाई अहिले जहाँ छन् त्यहीँ बस्न आग्रह गरेको छ।
ह्वाइट हाउसका अनुसार राष्ट्रपति जो बाइडेनलाई सम्पूर्ण मामिलाबारे जानकारी दिइएको छ र उनलाई घटनाको बारेमा निरन्तर अपडेट दिइँदैछ। अपुष्ट रिपोर्टका अनुसार यस आक्रमणमा कम्तीमा ५० जना घाइते भएका छन् ।
“एक बन्दुकधारी हाल लेविस्टनमा सक्रिय छ। हामी मानिसहरूलाई घरमा बस्न र ढोका बन्द गर्न आग्रह गर्दछौं,” माइन राज्य प्रहरीले ट्विटरमा भन्यो।
माइन राज्यको केन्द्रीय मेडिकल सेन्टरले यो “सामुहिक गोलीबारीको घटना भएको जसले धेरै हताहत भएको” बताएको छ। घाइतेको उपचारका लागि सहरका अन्य अस्पतालसँग समन्वय भइरहेको चिकित्सा केन्द्रले जनाएको छ ।
लेविस्टन प्रहरीले उनीहरूलाई सहरका दुई फरक ठाउँबाट रिपोर्ट प्राप्त भएको बताएको छ। यी मध्ये एउटा शेमेन्गीज नामको रेस्टुरेन्ट हो भने अर्को स्पेयरटाइम रिक्रिएसन नामको बलिङ गल्ली हो।
यी दुई ठाउँहरू एकअर्काबाट करिब चार माइल वा ६.५४ किलोमिटर टाढा छन्। एक ठाउँबाट अर्को ठाउँमा पुग्न १० मिनेट पनि लाग्दैन ।
एन्ड्रोशोगिन काउन्टी शेरिफको कार्यालयले बन्दुकधारीका दुई तस्बिरहरू जारी गरेको छ र उसलाई पहिचान गर्न जनताको सहयोगको लागि अनुरोध गरेको छ।
यी तस्विरहरूमा संदिग्धको दाह्री छ र उसले खैरो स्वेटर लगाएको छ। व्यक्तिको हातमा बन्दुक छ र भवन भित्र पसेको छ।
प्रहरीले सेतो कारको तस्विर पनि शेयर गरेको छ । यो गाडीको अगाडिको बम्पर कालो रंगको हुनसक्ने प्रहरीको भनाइ छ । प्रहरीले यो गाडी कसैले चिनेमा तुरुन्तै प्रहरीलाई सम्पर्क गर्न भनेको छ ।
होमल्यान्ड सेक्युरिटीले एक विज्ञप्ति जारी गर्दै सचिव अलेक्जान्ड्रो मार्कोसलाई घटनाको बारेमा जानकारी गराएको र सम्पूर्ण मामिलामाथि नजर राखिरहेको जनाएको छ।
“होमल्याण्ड सेक्युरिटी विभाग लेविस्टनका जनतालाई सहयोग गर्न संघीय सरकार, राज्य र स्थानीय प्रहरीसँग मिलेर काम गरिरहेको छ,” विज्ञप्तिमा भनिएको छ।
अमेरिकी न्याय विभागले पनि यस विषयमा केन्द्र सरकारले राज्य र स्थानीय प्रहरीसँग मिलेर काम गरिरहेको बताएको छ।
ह्वाइट हाउसले भनेअनुसार राष्ट्रपति बाइडेनले माइनका गभर्नर जेनेट मिल्स, सिनेटर एङ्गस किंग र सुसान कोलिन्स, र लेविस्टन कांग्रेसका जारेड गोल्डेनसँग फोनमा कुरा गरेका छन्।
जारेड गोल्डेनले सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै स्थितिलाई नियन्त्रणमा लिन स्थानीय निकायको सहयोग लिई घटनाका बारेमा थप जानकारी लिइरहेको बताएका छन् ।
Facebook Comment