लघुकथा: मन सञ्चार
दूरसञ्चारको राम्रो विकास भैसकेको थिएन। दु:ख र गरिवीको भने चरम युग थियो। दुई पैसा कमाउन दिलशोभाको श्रीमान पनि सात समुद्र पारिको विदेश गएको थियो। आफ्नो प्राण भन्दा प्यारो श्रीमानको यादमा दिलशोभाले रोएर कति सिरानीहरु भिजाई गनिसाध्य छैन।
चौध महिनापछि विदेशबाट श्रीमानको चिठी आयो। दिलशोभा टुकीमा मट्टीतेल थपी राखेर चिठी पढ्न बसी। सावाँ अक्षर छिचोलेकी दिलशोभाले जसोतसो पढेर सिध्याई।
चिठीमा विदेशी ठाउँको र आफूले गर्नु पर्ने कामको छोटो व्याख्या थियो। दिलशोभाको बेस्सरी याद आउँछ भनिएको थियो। अन्त्यमा भनिएको थियो “दिलशोभा हरेक पूर्णिमामा म जूनलाई हेर्छु। त्यो हाम्रै आँगन माथिको जून हो जस्तो लाग्छ। त्यो जूनको तल तँ छेस जस्तो लाग्छ। तँ पनि हरेक पूर्णिमामा जूनलाई हेर्नू है! म हाम्रो भेट भयो भनी ठान्नेछु।”
दिलशोभा त्यो रातभर रूँदारुँदा निदाउन सकिन। छातिमा चिठी च्यापेर हुँक्कहुँक्क गरिरही।
त्यस दिनदेखि हरेक पूर्णिमाको रात अबेलासम्म कौसिमा जूनलाई हेरेर बस्नथाली दिलशोभा। कस्तो आश्चर्य! दिलशोभाले आफ्नो श्रीमानलाई जूनमा छर्लङ्गै र प्रष्टै देख्न थाली। एक दिन अचानक आएर भनी कि
” सासूआमा, तपाईंको छोराले जुँगा पो पाल्न थाल्नु भएछ। कस्तो सुहाएको! अनि अलिअली मोटाउनु पनि भएछ। ” सासूआमा बुहारीको कुरा सुनेर ट्वाँ परिन्।
दिलशोभा भने हर्दम पूर्णेको रातको पर्खाईमा बस्न थाली। बल्ल दिलशोभालाई जिन्दगी हलुका लाग्न थालेको थियो।
२०४२ सालको बडा दशैं भर्खरै सकिएको थियो। पूर्णेको रात थियो। मध्यरातितिर दिलशोभा अचानक ह्वाँ ह्वाँ रोएको आवाज आयो। सासू अत्तालिँदै कौसीमा निस्किन्। दिलशोभा बर्बराउँदै थिई ” सासू आमा! सासू आमा ! आज उहाँ मिलिक्कै आएर हराईजानु भो। अनुहार पनि मलिन देखेँ। पक्कै पनि उहाँलाई ठिक छैन। पक्कै पनि केही बिपद आइलाग्यो ”
सासूले बुहारीलाई केही हुन्न भनेर ढाडस दिइरही। सम्झाई बुझाई गरिरही। रातभर सासू बुहारी निदाउन सकेनन्।
भोलिपल्ट दु:खद खबर बोकेर एक थान चिठी ती अभागी सासूबुहारीको घरमा आइपुग्यो। लेखिएको थियो कि उनीहरुको घरको मूल खाँबो उतै परदेशमै ढल्यो। एउटा दुर्घटनामा परेर उनीहरुको साझा साहाराको बीभत्स मृत्यु भयो।
Facebook Comment