राष्ट्रिय ध्वजावाहकको उद्धार

कपिल लोहनी
११ कार्तिक २०८० ७:२८

दशैं तिहारको चाड र लामो बिदाको बेला विश्वका विभिन्न ठाउँमा बसोबास गर्ने नेपालीहरू आफ्ना परिवारलाई भेट्न नेपाल आउने गर्दछन्। उराठ लाग्दो मनसुन सकिएर घमाइलो र निलो आकाशसहितको रमाइलो मौसममा नेपाल भ्रमण गर्न आउने पर्यटकहरूको सङ्ख्या यही समयदेखि बढ्दै जान्छ।

हिजोआज लामो बिदाको फाइदा उठाएर विदेशतिर घुम्न जाने नेपालीहरूको सङ्ख्या पनि बढ्दै गएको छ। भारतबाहेक अन्य देशबाट नेपाल आउने र नेपालबाट विदेश जाने यात्रुहरूको निम्ति सबैभन्दा सुगम यातायातको साधन हवाइजहाज हो।

हवाइमार्गबाट नै नेपालमा अधिकतम पर्यटकहरू आउने गर्दछन्। तर आफ्नै देशमा आउन र यहाँबाट बाहिर जानको लागि हाम्रो आफ्नो राष्ट्रिय ध्वजावाहकभन्दा पनि विदेशी वायुसेवाहरूले निकै बढी उडान भर्ने गर्दछन्।

आज नेपालमा सिधा हवाई उडान गरिरहेका विदेशी हवाई कम्पनीहरूले निकै राम्रो व्यापार गरिरहेका छन्। भारत, चीन, भुटान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड, मलेशिया, सिंगापुर, कोरिया, कतार, ओमान, कुवेत, साउदी अरेबिया, युएई, टर्की आदि मुलुकका करिव अढाई दर्जन हवाई कम्पनीहरूले नेपालमा नियमित उडान गर्नुका साथै चाडवाडको समयमा विशेष उडान पनि गर्ने गरेका छन्।

नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र निजी विमानसेवाको हिमालयन एयरलाइन्सले पनि आफ्नो अन्तर्राष्ट्रिय सेवा प्रदान गरिरहेकै छन् तर यिनको सेवा एकातर्फ भरपर्दो छैन भने यी विमानसेवाहरू आफ्नो उडान समय र सुरक्षाको पनि खासै पर्वाह गर्दैनन्। अर्को अर्थमा यी दुवै विमानसेवा त्यति भरपर्दा छैनन्। बरु बुद्ध एयरले गर्ने गरेको बनारसको उडान निकै लोकप्रिय भएको छ।

अन्तर्राष्ट्रिय उडानलाई आरामदायी, नियमित, प्रतिष्पर्धी र व्यवस्थित बनाउन सकिएन भने यसको विश्वसनीयता ह्वात्तै घट्नुका साथै पार्किङदेखि जहाज मर्मत र अन्य धेरै प्रकारका शुल्कहरू तिर्दा तिर्दा वायुसेवाले ठूलो नोक्सानी व्यहोनु पर्ने हुन्छ। त्यसैले वायुसेवाले आफ्नो मानव संसाधन, व्यवस्थापन र जहाजहरूलाई चुस्तस्फूर्त राखेर नियमित, सुरक्षित र सेवामुखी उडान भर्नु अति आवश्यक हुन्छ।

व्यवस्थापकीय हिसाबले हिमालय एयरलाइन्सको सेवा नेपाल एयरलाइन्सको भन्दा राम्रो देखिए पनि यसमा तिब्बत एयरको साझेदारी भएकोले भारतले यसलाई आफ्ना शहरहरूमा आउन दिएको छैन। कोभिडभन्दा अघि करिब ३ अर्बको नोक्सानी सहन बााध्य भएको यो विमानसेवाको स्वास्थ्यमा सुधार आएकोे देखिन्छ।

अल्पविकसित र विकासोन्मुख राष्ट्रहरू उँभो लाग्न नसकेकै चरम भ्रष्टाचार, नातावाद, कृपावाद र व्यवस्थापकीय अनियमितताले गर्दा हो। तर पनि राष्ट्रिय ध्वजावाहक विमानसेवाले मुलुकको पहिचान र प्रतिष्ठा बोकेर हिँडेको हुन्छ।

नेपाल एयरलाइन्सले सन् २०१५ तिर चार वटा जेट (दुई न्यारोवडी र दुई वाइडवडी) विमान खरिद गरेको भएता पनि यसले यी विमानहरूको पूरापुर उपयोग गर्न सकेको छैन। त्यस माथि उसका नयाँ विमानसमेत महिनौंसम्म बिग्रिएर ह्याङ्गरमा बसिरहेका हुन्छन्। फलस्वरुप उसले नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषलाई तिर्नु पर्ने ऋणको किस्तामा पनि ढिलाई भइरहेको हुन्छ।

त्यति मात्र नभई सरकारी कर्मचारी, नेता, कार्यकर्ता तथा विमानसेवा कै कर्मचारीहरूले अक्सर निशुल्क यात्रा गर्ने भएकाले विमान भरिएको जस्तो देखिए तापनि त्यसमा एक चौथाईसम्म यात्रु यसरी नै मुफतको यात्रा गरिरहेका हुन्छन्। विजनेस क्लासमा विशेष शुल्क तिरेर यात्रा गरिरहेका विशिष्ट यात्रुहरूसँग पनि यस्ता हल्लाखोर, असभ्य र अनुशासनहिन मुफतका यात्रुहरू देखिन्छन्।

खासगरी नेपालमा बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको शुरुवातपछि बनेको गिरिजाप्रसाद कोइरालाको सरकारको शासनकालदेखि नेपाल वायुसेवा निगमको हालत खराब हुँदै गएको हो। त्यतिबेला निगमसँग दुई वटा वोइङ ७५७ र दुई वटा वोइङ ७२७ जेट विमानका साथै करिव दुई थान एभ्रो र छ थान ट्वीनओटर अनि दुई थान पिलाटस पोर्टर र केही हेलिकप्टर पनि थिए।

जापानको ओसाकादेखि युरोपको फ्रेन्कफर्ट र लण्डनसम्म सेवा प्रदान गरिरहेको निगमको सेवा बिस्तारै संकुचित हुँदै गयो। त्यतिबेलादेखि नै निगममा कर्मचारी युनियन खुलेर बहुदलीय राजनीतिको अड्डा बन्न थालेपछि निगमका नीति निर्माता नै युनियनका पदाधिकारी बन्न थाले।

दलहरूले कर्मचारी भर्ती केन्द्र बनाएर आफ्ना तथाकथित विद्वान भनाउदा बेकम्माहरूलाई निगमका हर्ताकर्ता बनाएर आफ्नो स्वार्थ सिद्ध गर्न थालेपछि नेपाल वायुसेवा निगमको स्तर गिर्दै जान थाल्यो।

नयाँ आन्तरिक विमानसेवाहरू खुल्न थालेपछि यसमा भएका चालक तथा कुशल प्राविधिक कर्मचारी पनि राम्रो तलबमान र सुविधाको लोभमा उतै लाग्न थाले। त्यसमाथि गिरिजाप्रसादकै पालामा चलिरहेका दुई वोइङ ७२७ जहाज सुटुक्क गायव नै भए भने लाउडा र धमिजा जस्ता घीन लाग्दा काण्ड एक पछि अर्को हुँदै रचिन थाले।

विमानको अभाव भोगिरहेको निगमलाई जानी जानी विमान नकिनिदिएर विदेशी वायुसेवाहरूलाई ट्रान्जिटसहितको एकलौटी उडान अधिकार दिएर मोटो कमिशनको खेल शुरु भयो। हेर्दा हेर्दै निगम नराम्ररी बदनाम र धराशायी हुँदै गयो।

नेपालमा धेरै वर्ष अघिदेखि आफ्नो सेवा पुर्‍याइरहेको थाइल्याण्डको सरकारको स्वामित्वको राष्ट्रिय ध्वजावाहक थाइ एयरवेज इन्टरनेशनलले विगत एक दशकदेखि विभिन्न प्रकारका समस्याहरूबाट गुज्रिनु परेको छ।

कहिले कर्मचारी युनियन त कहिले अनुभवहिन सेनाका अधिकृतहरूलाई वोर्डमा राखेर त कहिले धेरै प्रकारका विमानहरू खरिद गरेकोले सोको व्यवस्थापन गर्न मानव संसाधनको कमी भएर त कहिले कोभिड, इन्धनको मूल्य वृद्धि र राजनीतिक अस्थिरताले गर्दा। तर पनि यस्ता परिस्थितिको समाधान गर्दै आज पनि थाइ एयरवेज इन्टरनेशनल एक सफल वायुसेवाको रूपमा नै अघि बढिरहेको छ।

वास्तवमा भन्ने नै हो भने अल्प विकसित र विकासोन्मुख मुलुकहरूमा सरकारी लगानी भएका वायुसेवाहरू अन्य सार्वजनिक संस्थानहरू जस्तै नै अव्यवस्था, अनियमितता, भ्रष्टाचार, नातावाद र कृपावादका सिकार हुने गर्दछन्।

भारतको इन्डियन एयरलाइन्स चरम भ्रष्टाचार र अव्यवस्थाको कारण धरासायी नै भएर एयर इन्डियामा गाभ्नु पर्‍यो भने एयर इन्डियालाई पनि बचाएर राख्न भारत सरकारले निकै ठूलो धनराशी खर्चँदा पनि त्यो सम्भव भएन र सो वायुसेवा पुनः टाटा समूहलाई बिक्री गर्नु पर्‍यो।

त्यस्तै बंगलादेश विमान र श्रीलंकन एयर पनि कहिले निकै नाफामा जाने त कहिले धरासायी नै हुने अवस्थाबाट गुज्रने गरेको र हाल त्यहाँका सरकारहरूले सुक्ष्म निगरानी र अनुगमन गरेर लगानी बढाए पछि भने सुध्रने बाटोमा हिँड्न थालेका छन्।

पाकिस्तान एयरलाइन्सको कथाव्यथा पनि त्यस्तै छ। तर सानो भए पनि भूटानले आफ्नो चौतर्फी विकासमा निकै सजगताका साथ काम गर्ने गरेकोले उसले अन्य क्षेत्रमा जस्तै नागरिक उड्डयन निकायलाई पनि एक प्रतिष्ठित संस्थाको रूपमा हुर्काएर राख्न सफल भएको छ, भलै त्यहाँ पनि भ्रष्टाचार मौलाएकै होला।

विकासोन्मुख मुलुकहरूमा अफ्रिकाली मुलुक इथियोपियाको राष्ट्रिय ध्वजावाहक विमानसेवा इथियोपियन एयरले भने सरकारी स्वामित्वको संस्था पनि यति चुस्त र स्फुर्त तवरले चल्न सक्छ भन्ने उदाहरण पुरै विश्वलाई दिन सफल भएको छ भने यो विमानसेवा अफ्रिकाकै सबैभन्दा ठूलो विमानसेवा हुनुका साथै कैयन् कुरामा विश्वकै ठूला वायुसेवा सरहको छ।

अल्पविकसित र विकासोन्मुख राष्ट्रहरू उँभो लाग्न नसकेकै चरम भ्रष्टाचार, नातावाद, कृपावाद र व्यवस्थापकीय अनियमितताले गर्दा हो। तर पनि राष्ट्रिय ध्वजावाहक विमानसेवाले मुलुकको पहिचान र प्रतिष्ठा बोकेर हिँडेको हुन्छ।

नेपालमा बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको शुरुवातपछि बनेको गिरिजाप्रसाद कोइरालाको सरकारको शासनकालदेखि नेपाल वायुसेवा निगमको हालत खराब हुँदै गएको हो। त्यतिबेला निगमसँग दुई वटा वोइङ ७५७ र दुई वटा वोइङ ७२७ जेट विमानका साथै करिव दुई थान एभ्रो र छ थान ट्वीनओटर अनि दुई थान पिलाटस पोर्टर र केही हेलिकप्टर पनि थिए। जापानको ओसाकादेखि युरोपको फ्रेन्कफर्ट र लण्डनसम्म सेवा प्रदान गरिरहेको निगमको सेवा बिस्तारै संकुचित हुँदै गयो। त्यतिबेलादेखि नै निगममा कर्मचारी युनियन खुलेर बहुदलीय राजनीतिको अड्डा बन्न थालेपछि निगमका नीति निर्माता नै युनियनका पदाधिकारी बन्न थाले।

त्यसैले पनि यसलाई बचाएर चलायमान स्थितिमा राख्न सबै मुलुकहरूले सक्दो प्रयास गरेका हुन्छन्। भ्रष्टाचार र भाँडभैलोले गर्दा धरासायी हुँदै गएका राष्ट्रिय ध्वजावाहक विमानसेवालाई पनि सबै राष्ट्रले जोगाएर राखेका हुन्छन्।

नेपालले पनि विगतका गल्ती र अव्यवस्था तथा अनियमिततालाई न्युन गर्ने प्रयास गर्दै नेपाल वायुसेवा निगमको सेवाको दायरा बढाउनको निम्ति यसलाई आवश्यक विमानहरू उपलब्ध गराएर हाललाई कम्तिमा पनि एक दर्जन न्यारो र वाइड बडी जेट विमान र एकाध कार्गो विमानसमेत भएको संस्थामा परिणत गर्नु उचित हुन्छ।

निकट भविश्यमा सिड्नी, सियोल र चीनका विभिन्न शहरमा उडान भर्न थालेपछि हाल भएका विमान निकै कम हुन जाने छन्। केही हप्ता पछि बेल्जियमको राजधानी ब्रसेल्समा हुने नेपालको नागरिक उड्डयनको सुरक्षाको हालको स्थितिबारेको लेखाजोखा गर्दा सुधार देखियो र केही कैफियतसहित युरोपमा उडान भर्न पाइने भयो भने युरोपका केही शहरमा उडान सञ्चालन गर्न पनि केही थान वाइड बडी जेटहरूको आवश्यकता पर्नेछ।

जहाँसम्म नेपाल वायुसेवाको व्यवस्थापनको कुरा छ, यसलाई सुदृढ गर्न या त हाल नागरिक उड्डयन क्षेत्रमा लगानी गरिरहेका आन्तरिक वायुसेवाहरूलाई निगमको ४९ प्रतिशत शेयर बिक्री गरेर उनिहरूलाई पनि सहभागी बनाउनु पर्‍यो वा कुनै अति अनुभवी तथा नेपालको परिवेश सुहाउँदो विदेशी वायुसेवालाई रणनीतिक साझेदार बनाएर निगमको व्यवस्थापनमा सरकारले कुनै हस्तक्षेप नगर्ने गरी उसैलाई सञ्चालन गर्न दिनु पर्‍यो।

विगतमा भर्ती गरिएका असक्षम प्रशासनिक कर्मचारीहरूलाई अवकास दिने बन्दोवस्त मिलाउनु पनि अति आवश्यक देखिएको छ।

केही समयअघि निगमको सुधारको निम्ति अध्ययन गर्न बनाइएको आयोगमा समेत नागरिक उड्डयनको कुनै अनुभव नभएका तथा अरू नै क्षेत्रका विज्ञ प्रशासकलाई अध्यक्ष र अन्य कतै नाम नसुनिएका बकम्फुसे कार्यकर्ताहरूलाई निगमको स्थितिको अध्ययन गर्ने निहुमा विदेश घुम्ने र भत्ता खाने सुविधाका साथ सदस्य बनाइएकोमा सोल्टी होटेलको शेयर बेचेर जहाज खरिद गर्ने जस्ता हाँस्यास्पद सुझाव सो आगोगले सार्वजनिक गर्नाले सरकारले गठन गर्ने विशेष आयोगहरूको वजन समेत घट्न गएको छ।

रकेट उडाएर अन्तरिक्षमा पटक पटक मानवजातीलाई पठाउन सफल चीनमा निर्मित हवाइजहाजहरू काम नलाग्ने भनेर पश्चिमा षड्यन्त्रलाई साथ दिएर कवाडीमा बेच्न लागिइका ५ जहाजहरू शुरुमा के का आधारमा अर्बौँ रुपैयाँ खर्चेर किनेको र हाल किन काम लागेन? यसमा को को जिम्मेवार छन् र तिनले सजाय भोग्नु पर्ने वा नपर्ने?

के ती जहाजको हालको निर्धारित कौडीको मूल्य सरकारले निगमलाई तिरेर ती विमान सेना वा अन्य निकायलाई चार्टर सेवा, उद्धार र दुर्गम क्षेत्रमा आवश्यक वस्तु पुर्‍याउने कामको लागि दिन मिल्दैन? कि त्यहाँ पनि पश्चिमा दवाव पर्छ वा त्यस्ता निकायले पनि विमान खरिद गर्दा आउने कमिशनको लोभमा सो विमान लिन मान्दैनन्? गजब छ भ्रष्टाचारको माकुरे सञ्जाल।

आजको दिनमा जब निजी क्षेत्रले आन्तरिक सेवालाई निकै दक्षताका साथ सञ्चालन गरिरहेको छ भने नयाँ जहाज खरिद गरेर परल मूल्य भन्दा कममा टिकट बिक्री गरेर नोक्सानी ब्यहोरी ब्यहोरी नेपाल वायुुसेवा निगमले आन्तरिक विमान सेवा किन सञ्चालन गर्नु पर्‍यो।

बरु दुर्गम क्षेत्रका उडानमा सरकारले कुनै उचित व्यवस्थाका साथ सुपथ मूल्यमा उडान गर्न सक्ने वातावरणको निर्माण गरेर निजी विमान कम्पनीहरूलाई नै यो सेवाको साँचो सुम्पनु राम्रो हुन्छ भने नेपाल वायुसेवा निगमले आफ्नो अनुभव मुताविक अन्तर्राष्ट्रिय उडान र ग्राउण्ड ह्याण्डलिङ तथा कार्गोको काम मात्र गर्दा उचित हुन जान्छ।

भूपरिवेष्ठित मुलुक भएको कारणले गर्दा हाम्रा कृषि र औद्योगिक उत्पादनको बजारको पहिचान गरेर आर्थिक रूपले व्यवहारिक भएसम्म त्यस्ता उत्पादनहरू हवाई कार्गोमार्फत समेत निर्यात गर्न तथा कैयन् आवश्यक वस्तु आयात गर्न पनि निगमलाई सक्षम बनाउन सकिन्छ।

भारतीय नाकाबन्दीको समयमा विमानमार्फत इन्धन र अति आवश्यकीय सामान आयात भएको कुरा अझै सम्झनामा नै छ भने केही समयअघि अफगानिस्तानबाट र हालै इजरायलबाट नेपालीहरूलाई उद्धार गर्दा पनि नेपाल वायुसेवा निगमकै सक्रिय सहभागिता रहेको कुरा स्मरण गर्दा यसको सवलीकरण गरेर एक सक्षम निकायको रूपमा विकास गर्नु पर्ने देखिन्छ।

दक्षिण एसियाका राष्ट्रिय ध्वजावाहक वायुसेवाहरू, भारतका टाटा र इन्डिगो जस्ता कुशल व्यवस्थापन भएका वायुसेवा कम्पनीहरू, छिमेकी राष्ट्र थाइल्याण्डको प्रतिष्ठित थाइ एयरवेज, सिंगापुर एयरलाइन्स, इथियोपियन एयरलाइन्स आदिबाट व्यवस्थापन, प्रविधि, रणनीति, तालीम तथा वायुसेवा सम्बन्धी अन्य महत्वपूर्ण दृष्टिकोण तथा ज्ञानहरू प्राप्त गर्न सके नेपाल वायुसेवा निगमले निकै धेरै प्रगति गर्न सक्ने थियो।

मुलुकको पर्यटन क्षेत्रको विकासमा सहभागी हुनुका साथै विश्वका विभिन्न भागसँग नेपाललाई सिधा जोड्ने तथा नेपालको पहिचान जोगाउने कुरामा महत्वपूर्ण भूमिका खेल्ने हुँदा नेपाल वायुसेवा निगमलाई एक प्रतिष्ठित संस्थाको रूपमा विकास गर्नु आजको आवश्यकता हो।

विश्वका विभिन्न कुनाबाट परेको बेला आफ्ना नागरिकको उद्धार गर्न तथा शान्ति स्थापना गर्न खटिने सुरक्षा निकायको शीघ्र यात्राका लागि पनि आफ्नो राष्ट्रिय ध्वजावाहकलाई तयारी अवस्थामा राख्नु जरुरी हुन्छ।

तर कमिशनकै निम्ति जहाज खरिद गर्ने र अन्य क्षेत्रमा जस्तै भाँडभैलोतन्त्रलाई नै मलजल गरिरहने हो भने नेपाल वायुसेवा निगमको मात्र होइन, नेपाल राष्ट्रकै भविश्य अन्धकारमय हुँदै जाने कुरामा दुइमतै छैन।

लेखक विकास अर्थशास्त्री र एकल व्यक्तित्व समाज, नेपालका अध्यक्ष हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *