कात्तिक १४ देखि १८ गतेसम्म जावलाखेल मैदानमा पुष्पमेला हुने
काठमाडाैं। फ्लोरिकल्चर एसोसिएसन नेपालले रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि भन्ने नाराका साथ गोदावरी फूलको १६ औं प्रतियोगितात्मक प्रदर्शनी आयोजना गर्ने भएको छ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एसोसिएसनले कार्तिक १४ देखि १८ गतेसम्म जावलाखेल मैदानमा पुष्प प्रदर्शनीको आयोजना गर्ने जनाएको हो।
५ दिनसम्म चल्ने मेलामा व्यवसायिक स्टल ५५, प्रतियोगितात्मक स्टल दुई र सूचनामूलक पाँच गरी ६२ स्टल रहने मेला संयोजक सिताराम पन्तले जानकारी दिए। प्रदर्शनीमा गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने अयोजकले जनाएको छ।
प्रदर्शनीमा सहभागी नर्सरी र फर्मले उत्पादित गोदावरी फूलको पाँच प्रजातिमा प्रतिस्पर्धा गर्नेछन्। प्रतिस्पर्धा हुने गोदावरीको प्रजातिमा मिनियचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र गोदावरीको कट फ्लावर प्रजाति रहेको पन्तले बताए।
बिगतमा एसोसिएसनले मात्र आयोजना गर्दै आएको पुष्प मेला यस बर्ष नर्सरी व्यबसायी संघले समेत सोही मिति र समयमा नै भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ।
एशोसियसनका अध्यक्ष मिनबहादुर तामाङले केही नर्सरी व्यवसायीहरु एसोसिएसनभित्रै रहेको दावी गरे। नर्सरी व्यबसायी संघका अहिलेका अध्यक्षलाई पद चाहिएकाले छुट्टै मेला आयोजना गरेको उनले आरोप लगाए।
नेपालमा गत अर्थिक बर्षमा पुष्प र पुष्पजन्य बस्तुको निर्यात करिव ६८ लाख र आयात करिव ३३ करोड बराबरको भएको भन्सार बिभागको तथ्यांक रहेको छ।
Facebook Comment