गाजामा हालसम्म ९,७७० जनाको मृत्यु, युद्धविराममा भएको प्रगतिबारे अमेरिकाले के भन्यो ?

डिसी नेपाल
२० कार्तिक २०८० १५:०४

काठमाडौं । गाजामा हमास शासित स्वास्थ्य मन्त्रालयले नयाँ मृत्युको तथ्याङ्क जारी गरेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा अक्टोबर ७ यता मृत्यु हुनेको संख्या ९ हजार ७७० पुगेको छ । जसमा चार हजारभन्दा बढी बालबालिका रहेका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले मानवीय आधारमा अस्थायी युद्धविरामका लागि वार्तामा प्रगति भएको संकेत गरेका छन् ।

अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा १४०० जनाको मृत्यु भएको थियो भने हमासले २४० जनालाई बन्धक बनाएको थियो ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन मध्यपूर्वको दोस्रो कूटनीतिक भ्रमणमा छन् । आज प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बाससँग भेटवार्ता भएको छ ।

महमूद अब्बासले एन्टोनी ब्लिन्केनलाई गाजामा युद्धविराममा जोड दिन आग्रह गरे, तर ब्लिन्केनले अमेरिकाको अडान दोहोर्याए र भने कि यसले हमासलाई मात्र फाइदा पुर्‍याउँछ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले प्यालेस्टाइनी अथोरिटीका अध्यक्ष महमुद अब्बाससँग रामल्लाहमा भेट गरेका छन् ।

हमास शासित स्वास्थ्य मन्त्रालयले शनिबार राति मध्य गाजा पट्टीमा रहेको अल-मगाजी शरणार्थी शिविरलाई इजरायलले निशाना बनाएको जनाएको छ। इजरायली बमबारीमा हालसम्म ३० जनाभन्दा बढीले ज्यान गुमाएका छन् ।

संयुक्त राष्ट्र संघले गाजामा करिब १५ लाख मानिस विस्थापित भएको र ७ लाखभन्दा बढी शिविरमा आश्रय लिएको बताएको छ ।

इजरायली सेनाले भूमिगत सैन्य कारबाहीका क्रममा हमासका २५ सय अड्डा ध्वस्त पारेको दाबी गरेको छ । इजरायली सेनाले उत्तरी गाजादेखि दक्षिणतर्फ जाने सुरक्षित मार्ग चार घण्टासम्म खुला राख्ने बताएको छ ।

इजरायलले हमासले सैन्य अपरेशनका लागि अस्पतालहरू प्रयोग गरेको आरोप लगाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *